Logo

मंगलवार, आश्विन ६ गते २०८३

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हटाउने बालेन शाहको  प्रस्ताव

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हटाउने बालेन शाहको  प्रस्ताव


अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हटाउने बालेन शाहको  प्रस्ताव


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारभित्र प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबिच मतभेद चुलिएको चर्चा भइरहेका बेला पार्टी सभापति रवि लामिछानेले दुवै पक्षबीच संवाद गराउने प्रयास थालेका छन्। आइतबार प्रधानमन्त्री शाह र लामिछानेबीच करिब चार घण्टा ‘वान टु वान’ छलफल भएको स्रोतले जनाएको छ। लामिछानेनिकट स्रोतका अनुसार भेटमा सरकार सञ्चालनको शैली, पार्टी–सरकार सम्बन्ध, जनस्तरमा बढ्दो असन्तुष्टि, आर्थिक नीति तथा अर्थमन्त्री वाग्लेको भूमिकासहित विभिन्न विषयमा विस्तृत छलफल भएको थियो।


स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बजेट निर्माण र करका दर हेरफेरका क्रममा पर्याप्त सावधानी नअपनाइएको तथा केही निर्णयबाट निश्चित स्वार्थ समूह लाभान्वित हुने अवस्था बनेको आशंका व्यक्त गरेका थिए। यद्यपि करका दर परिवर्तनमा स्वार्थ समूहको प्रभाव रहेको दाबीको स्वतन्त्र पुष्टि भएको छैन भने प्रधानमन्त्री कार्यालयले पनि यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।


छलफलका क्रममा प्रधानमन्त्री शाहले वाग्लेलाई अर्थमन्त्रीबाट हटाएर पार्टीको जिम्मेवारीमा केन्द्रित गराउने र अर्थ मन्त्रालयको नेतृत्व अर्का नेतालाई दिने प्रस्तावसमेत राखेको स्रोतको दाबी छ। लामिछानेले भने तत्काल अर्थमन्त्री परिवर्तन गर्दा सरकार र पार्टी दुवैमा नकारात्मक सन्देश जाने धारणा राखेका थिए। वाग्ले रास्वपाका प्रभावशाली नेतासमेत भएकाले यस्तो निर्णयले पार्टीभित्र शक्ति सन्तुलन बिग्रन सक्ने, बजेट कार्यान्वयन सुरु नहुँदै आर्थिक नेतृत्व फेरिँदा निजी क्षेत्र र विकास साझेदारमा अस्थिरताको सन्देश जान सक्ने तथा सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ रहेको स्रोतले जनाएको छ।

छलफलमा पछिल्लो समय सरकारमाथि बढेको जनआक्रोश, संवेदनशील घटनामा सरकारको प्रतिक्रिया, निर्णय प्रक्रियामा पर्याप्त राजनीतिक परामर्श नभएको विषय, दलाई लामाको जन्मदिनसँग सम्बन्धित कार्यक्रमपछि विकसित कूटनीतिक चासो, पार्टीभित्र जिम्मेवारी बाँडफाँटमा भएको ढिलाइ तथा सुकुम्बासी व्यवस्थापनका विषय पनि उठेका थिए।

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीसँग पर्याप्त छलफल नगरी निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष बैठक राखिएको, अर्थ मन्त्रालयको क्षेत्राधिकारमा प्रधानमन्त्री कार्यालयबाट हस्तक्षेप भएको तथा आर्थिक निर्णयमा आफूलाई विश्वासमा नलिइएको गुनासो लामिछानेसमक्ष राखेको स्रोतको दाबी छ। त्यसै विषय लामिछानेले प्रधानमन्त्रीसमक्ष उठाएको बताइएको छ।

पछिल्ला दिनमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका उद्योगी–व्यवसायी र निर्माण व्यवसायीसँग छुट्टाछुट्टै छलफल गरेका थिए। अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित यस्ता बैठकमा अर्थमन्त्रीको अनुपस्थिति पार्टीभित्र चासोका रूपमा हेरिएको स्रोतले जनाएको छ।

अर्थमन्त्रीनिकट पक्षले भने बजेट निर्माणका क्रममा देखिएका प्राविधिक विषयलाई राजनीतिक विवादका रूपमा प्रस्तुत गरिएको र प्रधानमन्त्रीनिकट केही व्यक्तिले योजनाबद्ध रूपमा अर्थमन्त्रीलाई कमजोर देखाउन खोजेको गुनासो गर्दै आएको स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालयनिकट पक्षले भने वाग्ले मन्त्रालयको मुख्य कामभन्दा बाहिरका कार्यक्रममा बढी केन्द्रित भएको र प्रधानमन्त्री कार्यालयसँग पर्याप्त समन्वय नगरेको बुझाइ राखेको बताइएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३