Logo

सोमवार, आश्विन ५ गते २०८३

८ असोजदेखि १२ गते सम्म भारी वर्षाको चेतावनी, मौसम विभाग यसो भन्यो !

८ असोजदेखि १२ गते सम्म भारी वर्षाको चेतावनी, मौसम विभाग यसो भन्यो !


८ असोजदेखि १२ गते सम्म भारी वर्षाको चेतावनी, मौसम विभाग यसो भन्यो !

४ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट ८-१२ असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन् ।
उनले केही मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ ।

‘धेरैवटा फोरकास्ट मोडेल हेरेर मात्र यो पूर्वानुमान सार्वजनिक गरेको हुँ,’ पोखरेलले लेखेका छन्, ‘डर देखाउन होइन, यो सबै तयारी चाँडो गर्न मद्दत होस् भनेर राखेको हो ।
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ । उनका अनुसार त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने जोखिम छ ।

८–१० असोजमा बढी प्रभाव पर्नसक्ने उपाध्यायको अनुमान

अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन् । उनका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन् ।

उपाध्यायका अनुसार असोज १० गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ  तर अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ ।

‘अझै आशावादी छु, असोज ८–११ को सम्भावित भीषण वर्षा केही मथ्थर होला कि भनेर,’ उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘‘हाल उपलब्ध प्रायस् सबै मोडेलबाट नाप्दा अवस्था भयावह देखिन्छ ।’

उनले गत वर्षको उदाहरण दिँदै पूर्वानुमान गरिएको जोखिम अन्तिम अवस्थामा घट्न सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण पनि गराएका छन् । उनका अनुसार २०८२ कात्तिकमा आएको ‘मोन्था’ चक्रवात भारतीय पूर्वी समुद्री तटमा शक्तिशाली रहे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको थियो । त्यसकारण नेपालमा अनुमान गरिएभन्दा क्षति निकै कम भएको उदाहरण रहेको उनले बताएका छन् । ‘यस्तै केही चमत्कारको आश छ,’ उपाध्यायले लेखेका छन् ।

उनले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘नडराऔँ, नआत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ,’ उनले भनेका छन् ।

उपाध्यायले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुन सक्ने सुझाव समेत दिएका छन् । तर वर्षाको वास्तविक तीव्रता र कुन क्षेत्रमा कति प्रभाव पर्छ भन्ने कुरा अहिले नै स्पष्ट भइनसकेको उनले बताएका छन् ।

मौसम विभाग भन्छ– नजिकबाट निगरानी गरिरहेका छौं

नेपालको जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

‘यस्ता प्रणाली कहिलेकाहीँ डिप्रेसनको अवस्थामै हराउने र यसको दिशा बदलिने हुन्छ,’ विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘तर हामी यसलाई निकै चासो दिएर नजिकबाट नियालीरहेका छौं ।’ उनले आगामी दिनमा यसको प्रभावबारे थप स्पष्ट हुने बताए ।

उनका अनुसार नेपालमा यसको प्रभावबारे थप स्पष्ट भएपछि विभागले आवश्यक जानकारी औपचारिक विज्ञप्तिमार्फत दिनेछ ।

त्यसैले सामाजिक सञ्जालमा ८-१२ असोजसम्म ठूलो वर्षा हुने भनेर चर्चा बढे पनि अहिले नै वर्षाको निश्चित मात्रा, भौगोलिक वितरण र जोखिमको स्तरबारे अन्तिम निष्कर्ष निकाल्न केही दिन कुर्नुपर्ने उनले बताए । आगामी दिनमा न्यूनचापीय प्रणालीको विकास, दिशा र शक्तिमा आउने परिवर्तनले नेपालमा यसको वास्तविक प्रभाव निर्धारण गर्ने उनको भनाइ छ ।

यदि पूर्वानुमान गरिएजस्तै वर्षा भएमा कृषि क्षेत्रमा समेत असर पार्न सक्ने मौसमविद्हरूले बताएका छन् । विशेषगरी पाकिसकेको धानबालीमा क्षति हुन सक्ने भन्दै किसानलाई सतर्क रहन उनीहरूले आग्रह गरेका छन् ।

चक्रवात बने नाम रहनेछ ‘अर्नब’

उत्तर थाइल्यान्ड र त्यससँग जोडिएको म्यानमारको क्षेत्रमा बनेको प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्ने सम्भावना देखिएको भारतीय मौसम विभागले जनाएको छ ।

त्यसपछि प्रणाली बंगालको खाडीको मध्य भागतर्फ अघि बढ्न सक्ने र २२ सेप्टेम्बरसम्म डिप्रेसन वा डिप डिप्रेसनमा विकसित हुन सक्ने अनुमान गरिएको छ ।

बंगालको खाडीमा बन्ने मौसमी प्रणालीले भारतको पूर्वी तटीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले आन्ध्र प्रदेश, ओडिसा र पश्चिम बंगालमा निगरानी बढाइएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको प्रणाली चक्रवातमा परिणत भएमा यो सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात हुनेछ ।

त्यस अवस्थामा विश्व मौसम संगठनको उत्तर हिन्द महासागरका चक्रवातको नाम सूचीअनुसार यसको नाम ‘अर्नब’ राखिनेछ । यो नाम बंगलादेशले जुराएको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३