अदालतका विचाराधीन मुद्दा सल्टाउनेदेखि राजनीतिक दलको आधिकारिकता विवादसम्ममा भारी आर्थिक चलखेल भएको दाबी गरिएको एक बयानको अडियो रेकर्ड सार्वजनिक भएको छ।
जनआस्था अनलाइनले सार्वजनिक गरेको उक्त अडियोमा बिचौलिया इनम सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेसका शीर्ष नेताहरू र अन्य प्रभावशाली व्यक्तिहरूबिचको लेनदेन तथा सेटिङबारे सनसनीपूर्ण खुलासा गरेका हुन्।
प्रहरीसमक्ष दिएको बयानका क्रममा सापकोटाले अदालत तथा राजनीतिक वृत्तमा हुने वित्तीय र कानुनी सेटिङको भित्री तानाबाना सार्वजनिक गरेका छन्।
सिंगापुरमा ३ करोडको डिल र ब्रोकरमार्फत कारोबार
सापकोटाको बयानको प्रमुख चासोको विषय सिंगापुरमा भएको भनिएको तीन करोड रुपैयाँको डिल हो। उनले नविन तुलाधर नामका व्यक्तिलाई उमेश श्रेष्ठमार्फत चिनेको र उक्त समूहले आरजु देउवा तथा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्धित ठूलो रकम व्यवस्थापन गर्दै आएको दाबी गरेका छन्।
काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतमा दर्ता ठगीसम्बन्धी मुद्दा सिंगापुरमै तीन करोड रुपैयाँमा मिलाउने सम्झौता भएको र सोही डिलअन्तर्गत २० लाख रुपैयाँ आफ्नो खातामा हालिदिएको उनले बताएका छन्।
आफ्नो एनएमबी बैंकको खातामा रहेको उक्त रकम पूर्वप्रधानन्यायाधीश जबराको रहेको र सो रकम चोलेन्द्रका भाइ प्रभुशमशेरले प्रयोग गरेको दाबी सापकोटाको छ। मुद्दा मिलाउन उमेश श्रेष्ठको नेतृत्वमा सेयर बजारका खेलाडीहरू तथा ब्रोकर नम्बर ६२ का अधिकलाल श्रेष्ठसमेत संलग्न समूह सक्रिय रहेको उनले उल्लेख गरेका छन्। यस्तै, आइप्लेक्स मलको विवाद सुल्झाउन उमेश श्रेष्ठको जग्गा आफ्नो नाममा ल्याइएको बयान उनले दिएका छन्।
चोलेन्द्रसँग दैनिक भेट र कांग्रेस नेतृत्वसँग पहुँच
सापकोटाले पूर्वप्रधानन्यायाधीश जबरासँग आफू नियमित सम्पर्कमा रहेको र दैनिकजसो भेटघाटका साथै पटक(पटक फोनवार्ता हुने गरेको खुलाएका छन्। पूर्वगृहबाहुली बालकृष्ण खाँणमार्फत आफूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चिनेको र दुई पटक भेटेकोसमेत उनले दाबी गरेका छन्। दीपक खड्कासँग पनि जबरामार्फत नै चिनजान भएको बयानमा उल्लेख छ।
गगन थापालाई आधिकारिकता दिलाउन १८ करोडको डिल भएको दाबी
अडियो बयानको सबैभन्दा विस्फोटक प्रसङ्ग नेपाली कांग्रेसका नेता गगन थापाको आधिकारिकता विवादसँग जोडिएको छ। सापकोटाका अनुसार विशेष महाधिवेशनका क्रममा गगनलाई आधिकारिकता दिने प्रक्रियामा चोलेन्द्रशमशेर जबराको मुख्य पहल थियो।
अदालतबाट आधिकारिकताको फैसला गराउन ‘सारङ्गा श्रीमान्’लाई ३ देखि ४ करोड रुपैयाँ बुझाइएको र कुल १८ करोड रुपैयाँमा कुरा छिनोफानो भएको दाबी उनले गरेका छन्। यद्यपि, गगनसँगको प्रत्यक्ष बैठकमा आफू सहभागी नभए पनि भोलिपल्ट चोलेन्द्र स्वयम्को मुखबाट “देशलाई अघि बढाउन र निर्वाचन गराउने वातावरण बनाउन १८ करोडमा डिल भएको” कुरा सापकोटाले बयानमा बताएका छन्। उच्च पदस्थ राजनीतिज्ञ, न्यायधीश र बिचौलियाबीचको यस्तो सञ्जाल उजागर गर्ने यो अडियो बाहिरिएसँगै न्यायिक तथा राजनीतिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ