फूलमान वल नेपाली साहित्य र पत्रकारितामा नौलो नाम होइन । लामो समयदेखि मूलधारका सञ्चारमाध्यममा पत्रकारिता गरिरहेका वलकाे नाम नेपाली सिनेमाका क्षेत्रमा समेत उल्लेख्य देखिन्छ । सन् २०१२ मा ‘सेल फोन’ नामक सर्ट फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका वलले प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको २०७४ सालको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । उनको ‘कजोल खातुन’ नामक कथा संग्रह र ‘महाभारतकी मैच्याङ’ नामक कविता संग्रह, ‘मेन्दोमाया’ तथा ‘सोनाम ग्याल्मो’ जस्ता नाटकहरू प्रकाशित छन् । त्यस्तै उनले भर्खरै चलचित्र निर्देशनमा पनि ‘डेब्यू’ गरेका छन् । उनले निर्देशन गरेर प्रदर्शनकाे तयारीमा रहेकाे चलचित्र नीरफूल उनैद्वारा लिखित कथामा आधारित छ । वि.सं. २०७२ पछिको भुइँचालो र त्यसले सिर्जित परिस्थितिलाई चलचित्रको रचना गर्भ मान्छन् उनी ।
प्रस्तुत छ, फूलमान वलसँग उनको सिनेमा यात्राका विषयमा कामना न्यूजका लागि अन्शु खनालले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंलाई नीरफूलको लागि बधाई । नीरफूलकै सुटिङतिर जाऊँ । सुटिङको क्रममा रुवि भ्यालीमा भएको केही विशेष कुरा ?
पहिलोपटक हामी सुटिङ गर्न जाँदा एघार दिनजति बसियो । त्यसबेला हामीलाई मौसमले साथ दिएन । त्यसपछि हामी फर्किएर काठमाडौँ आयौँ र यताको सुटिङ सकायौँ । दोस्रोपटकको सुटिङको लागि जाँदा हामी पन्ध्र दिनजति बस्यौँ ।
हामीले जहाँ सुटिङ गरेको हो, त्यहाँ बस्ती थिएन । जम्मा तीनवटा घर थिए । हामीले काठमाडौँबाट नर्स देखि किचनसम्म सबै आफैँ लगेका थियौँ । नजिकै बस्ती हुँदो त हामीलाई साथ सहयोग पक्कै हुन्थ्यो होला । तर, भेडी गोठ सञ्चालन गर्ने व्यक्तिहरूबाट हामीलाई धेरै सहयोग भयो । अनि नीरफूलकै सहायक निर्देशक रोशन फ्युवाको घर पनि त्यतै भएकोले हामीलाई उहाँबाट पनि धेरै सहयोग भयो ।
सुटिङ चाहिँ रमाइलो भयो । प्राकृतिक हिसाबले विकट भए पनि सुटिङ चाहिँ ‘इन्जोय’ गर्यौ हामीले ।
नीरफूल किन लेख्नुभयो ?
कथा मैले लेखे । पटकथा सचिन घिमिरेले गर्नु भयो । सन् २०१२ मा मैले ‘सेल फोन’ नामक सर्ट फिल्म गरे, त्यसपछि मैले फिल्मचाहिँ यस्तो प्लेटफर्म हो जहाँबाट धेरै कुराहरू भन्न सकिन्छ भन्ने मैले बुझेँ । एउटा फिचर फिल्म गर्छु भन्ने मैले त्यो समयदेखि सोच्न थालिसकेको थिएँ । मलाई नीरफूल लेख्न दुईवटा घटनाले प्रभावित गर्यो । जुन घटना फिल्ममा नै खुल्छ । भुइँचालोपछि त्यसले पारेको सांस्कृतिक, मनोवैज्ञानिक, सामाजिक तथा पराकम्पनहरू हामीले खोजी गरेनौँ । दुईवटा वास्तविक घटनामा म टेकिसकेपछि मलाई यो त साहित्य मात्रै होइन, यसलाई चाहिँ भिजुअलबाट पनि लैजानुपर्छ भन्ने लाग्यो । अब यसलाई फिल्म मार्फत ल्याउने भन्ने भएपछि यसको पटकथा लेखन सुरू भयो ।
२०७२ सालको भुइँचालो नै यो फिल्मको रचनागर्भ हो । मैले अघि पनि भने हामीले भुकम्पले घर भत्केको मात्रै देख्यौँ । सम्बन्धहरू भत्किएको, मनहरू भत्किएको देखेनौँ । भौतिक क्षतिभित्र लुकेको मानवीय क्षतिको कथा हो नीरफूल । जुन कथा हाम्रो समाजसँग जोडिन्छ । हाम्रो राजनीतिसँग जोडिन्छ, सिस्टमसँग जोडिन्छ, सिस्टमको लाचारीसँग जोडिन्छ । तिनै कुराहरू भन्नको लागि यो फिल्म तयार भएको हो ।
डेब्यू निर्देशक फूलमान वलको चलचित्रबाट नयाँ के कुराको अपेक्षा गर्ने त ?
पछिल्लो दशकका फिल्महरू हेर्दा मेरो बुझाइ अनुसार पछिल्लो समय हाम्रा चलचित्रहरूमा हाम्रो समाज आउँदैन । हामी बाहिरी कुराहरू मात्रै भनिरहेका छौँ ।
चलचित्रलाई हामीले मनोरञ्जन मात्रै बुझिरहेको हुन्थ्यौँ । एकदमै सस्तो मनोरञ्जनको ‘प्रोडक्ट’को हिसाबले मात्रै बुझिरहेका हुन्छौँ । यो मनोरञ्जनको प्लेटफर्म त हो । तर पनि यसले हाम्रो समाजको कथा भन्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ । म डेब्यू निर्देशक फूलमान वलको हिसाबले पछिल्लो समय हाम्रो चलचित्रमा समाजको कथा आएन भन्ने जुन कुरा छ, त्यो कमी चाहिँ नीरफूलले पूरा गर्ने छ ।
नीरफूल हाम्रो समाजको कथा हो । तर, फेरि समाजको कथा हो भन्ने बितिक्कै कतिपय मान्छेले यो फिल्ममा तिमीले किन यसो गर्यौं भन्दा यो त समाजमा जे थियो मैले त्यही गरे; यो समाजको रिफ्लेक्सन हो भन्न पाइएन । समाजको रिफ्लेक्सन मात्रै पनि सिर्जना होइन, त्यसमा क्रियटिभिटी मिसाउनु पर्छ । त्यसमा हाम्रो सिर्जनशीलतालाई पनि घोल्नु पर्छ; अनि मात्रै त्यो कला बन्छ । त्यसकारण समाजको विषयवस्तु टिपेर त्यसबाट मैले कला मिसाएर सिर्जनशील ढंगले प्रस्तुत गर्ने कोसिस गरेको छु । त्यही नै नीरफूलबाट अपेक्षा गर्न सकिन्छ । र, चलचित्र यसरी पनि बन्छ भन्ने चेतना निर्माण गर्छ ।
मान्छेले नीरफूल हेरिसकेपछि यसरी पनि हाम्रो जिन्दगीलाई चलचित्रमार्फत देखाउन सकिने रहेछ भन्ने मानिसहरूले बुझ्छन् । मैले निर्देशकको पक्षबाट इमानदार र सिर्जनशील ढंगले आफ्नो कथा भन्ने कोसिस गरेको छु ।
उसो भए कथामा मौलिकतासँगै नयाँपन पनि छ ?
कथामा मौलिकता त हुनु जरुरी नै छ । फिल्ममा गम्भीर ढंगले काम नै नगर्नाले फिल्मलाई मान्छेले हल्काफुल्का ढंगले लिइरहेका छन् । कुन पक्षमा गम्भीर ढंगले काम गर्दा ठिक हुन्छ भनेर हामी सोच्दैनौँ । अहिले त झन् हाम्रा चलचित्रहरूमा विदेशी चलचित्रहरूको प्रभाव स्पष्टै देखिन्छ ।
हाम्रो इन्डष्ट्रिको मौलिक अनुहार हामी आफैँले निर्माण नगरेर कसले गर्दिन्छ ? हाम्रो मौलिक शैलीमा मैले नीरफूलमा काम गरेको छु । मैले कहीँकतैबाट प्रभावित नभई कथाको समाज के हो ? त्यो समाजमा कस्ता खालका वर्गहरू छन् ? त्यस वर्गभित्र कस्ता खालका चरित्रहरू छन् ? त्यो समाजको संस्कृतिअनुसार हामीले चरित्र र फ्लिम निर्माण गर्नुपर्ने हुन्छ । मैले कथा चाहिँ नेपाली समाजको ‘क्यारेक्टर’चाहिँ विदेशी समाजको जस्तो गरेको छैन । मैले हाम्रो समाजको कथा टिपेर त्यो समाजले कुन क्यारेक्टर माग गर्छ; त्यो क्यारेक्टरले कुन सामाजिक सांस्कृतिक मनोविज्ञान बोक्छ; त्यही मनोविज्ञानलाई त्यही क्यारेक्टरको माध्यमबाट भन्ने कोसिस गरेको छु ।
फिल्म भनेर मैले ओभर ड्रामा, धेरै फेन्टासी पनि प्रयोग गरेको छैन । वास्तविक धारबाट कथा भन्ने कोसिस गरेको छु । भिजुअल फर्ममा काम गर्दा यस्तो संरचनामा गर्न सकिन्छ । क्यारेक्टरहरू यसरी निर्माण गर्नुपर्छ भन्ने कुरामा चाहिँ आफूलाई एउटा नियमभित्र राखेर काम गर्ने प्रयास गरेको छु । एक हिसाबले भन्ने हो भने नीरफूल एउटा विशुद्ध नेपाली, मौलिक, सिर्जनशील फिल्मी प्रयोग हुनेछ भन्ने विश्वास राख्छु ।
पछिल्लो समय साहित्यकारहरू चलचित्रतिर लागिरहेका छन्; यसमा तपाईंको विचार ?
फिल्म भन्ने बितिक्कै हामीले क्यामेरा, हिरो, हिरोइन मात्रै बुझ्यौँ । फिल्म सबैभन्दा पहिले कागजमा बन्छ । त्यसपछि मात्रै क्यामेरामा जाने हो । फिल्म झट्ट हेर्दा टेक्निकल कुराहरू मात्रै याद आउँछ । प्रविधि मात्रै आफैँमा फिल्म होइन । फिल्मको लागि पहिला साहित्य चाहियो, कथा चाहियो, क्यारेक्टर चाहियो, प्लट चाहियो, त्यो पनि एउटा संरचनामा बुन्न सक्नुपर्यो । फिल्म खासमा दृश्य साहित्य हो । यो साहित्यबाट टाढाको विषय होइन । हाम्रा धेरै साहित्यिक कृतिहरू माथि फिल्म बनेको छ बन्दै पनि छन् । फिल्म बन्नु अघि जुन पटकथालाई मेरुदण्डको हिसाबले विश्लेषण गर्छौं ।
हो, त्यही नै साहित्य हो । साहित्यमाथि प्रविधिले काम गरेपछि फिल्म बन्ने हो । प्रविधिलाई सिर्जनशील ढंगले साहित्यमाथि काम गरेपछि मात्रै फिल्म बन्ने हो । त्यसकारण साहित्य र चलचित्र एकअर्काका परिपुरक हुन् । त्यसकारण साहित्यका व्यक्तिहरू फिल्ममा आउनु त झन् राम्रो कुरा हो ।
एउटा चरित्रको विकास देखि लिएर नयाँ प्रयोगसम्म साहित्यबाट आउनेले गर्न सक्छ । यसको फाइदा नेपाली इण्ड्रष्टिलाई राम्रो हुन्छ; सपोर्ट हुन्छ ।
नेपाली सिनेमाको बजार र नेपाली फिल्म नि के हेर्ने भन्ने युवा पुस्ता बारे तपाईंको विचार ?
नेपाली चलचित्र क्षेत्रको बारेमा मैले सही ‘जजमेन्ट’ दिन सक्छु भन्ने मलाई लाग्दैन । किनकि म पनि भर्खरै यही क्षेत्रमा आएको छु । तर पनि यो क्षेत्रमा खासै काम भइरहेको छ जस्तो लाग्दैन । किनकि हामीले हाम्रो विषयवस्तु, हाम्रो समाज, परिवेश हाम्रो आफ्नो छवि निर्माण गर्ने गरी यस क्षेत्रमा काम भएको छैन । अन्य देशका फिल्महरूको जुन क्रेज छ, जुन छवि छ, त्यस्तो हाम्रो छैन । यसपटक ओस्कार पाएको कोरियन चलचित्र ‘प्यारासाइट’कै कुरा गर्दा त्यसमा कोरियन समाजको प्रतिबिम्ब छ । कोरियन समाज बाहिरबाट हेर्दा कति झकिझकाउ र विकसित देखिन्छ तर त्यसभित्रको गरिबी, त्यो समाज भित्रको पीडा जुन सिर्जनात्मक तरिकाबाट त्यसमा देखायो, त्यसरी नै देखाउन हाम्रो समाजमा पनि धेरै कुराहरू छन् । तर, ती विषयहरूमा हामीले काम गरिरहेका छैनौँ । हामी चाहिँ अरूको ‘स्टोरी टेलिङ स्टाइल’, अरूको कथा चोरी गर्नतिर लागिरहेका छौँ । लभ स्टोरीमा समेत हामीले अरूको ‘कन्टेन्ट’ चोरी गरिराखेका छौँ । एउटा कोरियनले, एउटा चाइनिजले लभ गर्ने तरिका र एउटा नेपालीले लभ गर्ने तरिका एउटै हुन्छ र ?
हाम्रोमा राई, लिम्बू, गुरुङहरूले गर्ने लभको तरिका फरक हुन्छ भने बाहुन, क्षेत्रीको तरिका फरक हुन्छ । किनभने उनीहरूको संस्कृति फरक हुन्छ । चलन फरक हुन्छ । हामीले यस्ता कुराहरू भन्न पनि अरूको सिको गर्छौं । त्यही भएर मौलिक छवि निर्माण हुने गरी काम भइरहेको छ जस्तो मलाई लाग्दैन । युवा पुस्तालाई नेपाली फिल्म किन हेर्ने भन्ने वातावरण नेपाली फिल्म मेकरहरूले दिएका हुन् । पहिला लिमिटेसन थियो । फिल्म हेर्न हलमै जानुपथ्र्यो । यस्तो फिल्म रहेछ भन्ने हेरेपछि मात्रै थाहा हुन्थ्यो । अहिले सबैको हातहातमा स्मार्ट फोन छ । अहिले एउटा नर्मल फिल्म मेकरसँग भन्दा दर्शकसँग फिल्मको लिटरेसी बढी छ । किनकि, दर्शकहरू नेपाली फिल्म मात्रै नभई कोरियन देखि चाइनिजसम्मको फिल्मको ज्ञान राख्न रुचाउँछन् । तर, जो फिल्म मेकरहरू सनातनी तरिकाले फिल्म बनाउँछन् उनीहरू अध्ययन नै गर्दैनन् । कस्तो फिल्म बनिराछ, कस्तो दर्शकले चाहान्छन् समेत उनीहरूलाई मतलब नै हुँदैन । दर्शक सबैतिर अपडेट भइरहँदा हामीले चाहिँ सनातनी तरिकाबाट पाँच वटा गीत, पाँच वटा फाइट अनि हिरो र हिरोइन उभ्याएर मात्रै हुँदैन । त्यसकारण अहिले मैले बुझेअनुसार टेक्नोलोजीको कारणले अहिले नेपाली दर्शकको फिल्म लिटरेसी बढी छ । त्यसकारण हामीले फिल्म बनाउँदा दर्शकहरूको लिटरेसीलाई ख्याल पुर्याउनु पर्यो । उनीहरूको लेभललाई ख्याल पुर्याउनु पर्छ । दर्शकको मनोविज्ञान बुझ्न जरुरी छ ।
हाम्रा दर्शकचाहिँ एडभान्स्ड भइसके तर फिल्म मेकरहरू चाहिँ अझै एडभान्स्ड हुन सकेनन् । हामीले बनाउने फिल्म हाम्रो आफ्नै जस्तो हुनुपर्यो । अरुको जस्तो भएर हुँदैन । यो मामिलामा हाम्रो क्षेत्र चुकिरहेको छ ।
ल्याउनै पर्छ भन्ने लागेको वा तपाईंले ल्याउन चाहेको कुनै कथा छ ?
मैले अघि भनिसके नेपालमा गर्नुपर्ने धेरै कामहरू छ । हाम्रो सामाजिक, राजनीतिक विकास एकदमै छोटो समयमा भयो । हाम्रो समाजमा छोटो समयमा जीवन तरंगित पार्ने जन–आन्दोलन देखि नाकाबन्दी जस्ता अनेकौं घटनाहरू भएका छन् । यस्ता घटनाहरू फिल्ममार्फत ल्याउन मन छ मलाई । समाजको फरक–फरक पाटो उठाउन मन छ मलाई ।
‘फिल्म बनाउन चाउचाउ उमाल्न जति सजिलो छैन’ भन्नुहुन्छ वरिष्ठ फिल्मकर्मी नवीन सुब्बा । उहाँको कुरा जस्तै फिल्म यो बनाउँछु भनेर भनी त हाल्दिनँ तर पनि निरन्तरता चाहिँ दिन्छु ।
फिल्म निर्देशन गर्छु नै भन्नु पछाडिको केही विशेष कारण छ ?
फिल्म यस्तो भयकंर ‘मास मिडिया’को क्षेत्र रहेछ यसबाट धेरै कुराहरू भन्न सकिने रहेछ भन्ने हिसाबले म यो क्षेत्रमा तानिएँ । पत्रकारितामा आइसकेपछि मात्रै फिल्म बुझेँ मैले ।
सन् २०१२ मा सर्ट फिल्म ‘सेल फोन’ बनाउने क्रममा मैले तीन महिना क्लोज क्याम्पमा काम गरेँ । त्यहाँ फिल्म लेखनदेखि निर्देशनका कुरा तथा विधिहरू सिकेँ । त्यो सिकेपछि मलाई झनै उत्साह मिल्यो ।
डेब्यू निर्देशकको निर्देशन अनुभव के–कस्तो रह्यो ?
निर्देशक बन्नको लागि समाज बुझ्नु जरुरी छ । टेक्निकल कुरा मात्रै बुझेर हुँदैन । टेक्निकल कुरा मात्रै बुझेर टेक्निकल काम मात्रै गर्न सकिने रहेछ । समाजको साइकोलोजी, राजनीति जस्ता हरेक कुरा बुझ्नपर्ने रहेछ ।
त्यस हिसाबले लेखन र पत्रकारितामा लामो समय अनुभव भएकोले मलाई निर्देशकको हिसाबमा काम गर्न त्यति गाह्रो भने भएन् ।
एउटा पूरै स्क्रिप्ट चलचित्र बन्दाबन्दै २५ प्रतिशत मात्र लेखे जस्तो लाग्छ रे । स्किृप्ट राइटरसँगै निर्देशक पनि हुँदा तपाईंलाई के लाग्यो ?
लेख्दा स्किृप्ट राइटरले आफ्नो शतप्रतिशत नै दिन्छ । पछि त्यही स्टोरी निर्देशकको हिसाबमा आउँदा पच्चीस प्रतिशत र पचास प्रतिशतको हिसाबमा आउँछ । किनकि निर्देशकले चाहिँ चरित्रको नजरबाट, लाइटको नजरबाट, साउन्डको नजरबाट, गीतको नजरबाट र क्यामेराको नजरबाट हेर्नुपर्ने हुन्छ ।
लेखकले सधैं स्क्रिप्टको नजरबाट मात्रै हेरिने रहेछ । तर, निर्देशकले सबैतिर हेर्दा त्यस्तो हुने रहेछ । हरेक स्क्रिप्ट आफैँमा सय प्रतिशत हो । त्यसमा निर्देशकले काम गरेपछि चाहिँ पच्चीसमा आउने हो ।
क्रिटिक्सको भूमिका के–कस्तो रहन्छ चलचित्रमा ?
यसको उत्तर उदाहरणबाट दिन्छु, फिल्मले एउटा मान्छे बनाउँछ । त्यो मान्छेचाहिँ कस्तो बन्यो ? मान्छे जस्तो बन्यो कि बनेन ? कसरी बन्यो ? त्यसको शरीरिक बनावटदेखि सामाजिक कुराहरू समेत सुहाउँदो भयो कि भएन भनेर चिरफार गरेर हेर्ने काम क्रिटिक्सको हो ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३