Logo

बिहिवार, आश्विन १ गते २०८३

‘जनतामा निराशा छायो भने देश र जनताले दुःखको सामना गर्नुपर्छ’

‘जनतामा निराशा छायो भने देश र जनताले दुःखको सामना गर्नुपर्छ’

  • 2.8K
    SHARES

  • काभ्रे जिल्लामा जनताका के के समस्याहरू रहेछन् र तपाईं निर्वाचित भएपश्चात के–के समस्याहरूको समाधान गर्नुभयो ? म निर्वाचित भएको दुई वर्ष पूरा भयो । मेरो क्षेत्रमा धुलिखेल, पाँचखाल, मण्डनदेउपुर, भुम्लु गाउँपालिका पर्छ । प्रदेश सभा सदस्य रहेका कारण प्रदेशभित्र रहेका ऐन, कानुन र नियम बनाउने जिम्मेवारी म लगायतका निर्वाचित साथीहरूको काँधमा रहेको छ । यसै सन्दर्भमा म पार्टीको तर्फबाट निर्वाचित भएँ र घोषणापत्र सबैसँग उपलब्ध छ । दिर्घकालीन र अल्पकालीन कार्ययोजनाहरू घोषणा पत्रमा उल्लेखित नै छ । घोषणा पत्रमा उल्लेखित कामहरू र निर्वाचनमा गरेका प्रतिबद्धताहरूको शुभारम्भ मैले गरिसकेको छु । कतिपय कामको सुरुआत भइसकेको छ भने कतिपय कामहरू अगाडि बढ्ने चरणमा छन् । आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू जनता र सरकारको बीच पुल भएर जोड्ने जिम्मेवारी मेरो हो । कानुन निर्माण कार्यमा संसदमा मैले खेल्नपर्ने भूमिका अब्बलताका साथ निभाएको छु । मैले संसदमा निभाएको भूमिका र चलाएको अभियानबाट यी कुरा प्रष्ट हुन्छन् । विकास निर्माणका कार्यहरूमा मेरो निर्वाचन क्षेत्रलाई मैले धेरै फोकस गर्नुपर्ने हुन्छ । पार्टीको घोषणा पत्रमा उल्लेखित काम म एक्लैले गर्ने कुरा रहँदैन । यसमा सिंगो पार्टी र सरकार जोडिन्छ । तीनवटै तहका सरकारबाट आ–आफ्नो तरिकाले काम हुँदै छन् । धुलिखेल, पाँचखाल जस्ता ठाउँमा सडक, खानेपानी, पयर्टन विकासका लागि पूर्वाधारहरू, कृषि उत्पादन बढाउने र रोजगारीको सृजना गर्ने जस्ता एजेण्डा हामीले जनतासामु सारेका थियौँ; यी एजेण्डाहरू गतिका साथ अगाडि बढाउन सक्यौँ भने जनतामा आशाको सञ्चार गर्न सक्छौँ । यो विश्वास हिजो पनि व्यक्त गरेका थियौँ आज पनि व्यक्त गर्दछु । यसै वर्ष दोलालघाटलाई आन्तरिक पयर्टनको गन्तव्य बनाउनका लागि ४ करोड लगानी गरेर व्यवस्थित पार्क निर्माणको शिलान्यास भइसकेको छ । मण्डन देउपुरको थामीडाँडास्थित सुलिकोटमा यसै वर्ष ४० लाख छुट्याएर पयर्टकीय गन्तव्य बनाउने काम सुरु भइसकेको छ । पाँचखालको अनैकोटस्थित मानेगाउँमा त्यहाँका जनताको जीवनस्तर उकास्न पयर्टकीय स्थल बनाउने काम सुरु भइसकेको छ । धुलिखेल आफैँमा पयर्टकीय स्थल हो । धुलिखेलको विकास संबद्र्धन र संरक्षण गर्नुपर्ने आवश्यकता छ । यसका लागि तीनवटै तहका सरकारले बजेट छुट्याएर काम सुरु गरिसकेको छ । यी चारवटै ठाउँमा हामीले पयर्टन क्षेत्रको विकासको लागि काम सुरु गरिसकेका छौँ । यस क्षेत्रका जनतालाई पयर्टन उद्योगसँग जोड्ने कार्यले रोजगारीको सृजना हुन्छ । जनताको जीवनस्तर उस्कन्छ । अनैकोट र खावामा होमस्टेको अवधारणा अगाडि बढाएका छौँ । तारा गाउँविकास समितिसँग मिलेर ट्रेनिङको काम सम्पन्न भइसकेको छ । भुम्लु गाउँपालिका मण्डन देउपुर, पाँचखाल र धुलिखेलमा सिँचाइका काम अगाडि बढिसकेका छन् । उत्पादन वृद्धिका लागि कुलो मर्मत नयाँ कुलाहरू निर्माण र पानी संकलन गर्ने उपायहरू सिँचाइका कारण हुनसक्ने भू–क्षय रोक्ने उपायहरूका काम अगाडि बढिसकेका छन् । पाँचखाल १३ को कोशी रेखामा विदेशबाट फर्किएका युवाहरूले उत्पादकत्व बढाउनका लागि सामूहिक एकीकृत खेती प्रणाली सुरु गर्नुभएको छ । यस सामूहिक खेतीमा भौतिक पूर्वाधार अनुदान बिजुली, सिँचाइ र बाटो पुर्याउने काममा मैले सहयोग पुर्याएको छु । यो नमुना खेतीले जिल्ला र देशभर नै सकारात्मक सन्देश दिन सकिन्छ भन्ने हाम्रो विश्वास छ । युवाहरूलाई प्रमोट गर्ने कामको अगुवाई मैले गरेको छु । बृहत पाँचखाल खानेपानी आयोजना २ अर्ब २१ करोडको लगानीमा सुरु हुँदैछ । मण्डन देउपुरमा १.५ अर्ब बराबरको बृहत खानेपानी आयोजना अगाडि बढिसकेको छ । अन्य खानेपानी अभाव भएका ठाउँमा आवश्यक रकम छुट्याएर खानेपानीको काम सुरु गरिसकेका छौँ । पयर्टक, खानेपानी र सिँचाइको विकास पश्चात त्यहाँ उत्पादकत्व बढ्छ र जीवनस्तर माथि उठ्छ; त्यसकारण यी कार्य पहिले सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो । आवश्यकता अनुसार पर्याप्त बजेट हामीले छुट्याउन सकेको छैनौँ । सातै प्रदेशका निर्वाचित संघीय र प्रदेश सांसदहरूले आ–आफ्ना क्षेत्रमा बजेट लैजान खोज्नुहुन्छ । त्यसैले हामीले पर्याप्त बजेट उपलब्ध गराउन सकेका छैनौँ । प्रदेश सरकारबाट कृषि, जलस्रोत, पयर्टन, स्वास्थ्य, शिक्षा लगायतका ठाउँमा आउने रकम मेरो क्षेत्रमा ल्याउने पहलकदमी गर्ने जस्ता कार्य मैले गरेको छु । मेरो क्षेत्रमा पाँचवटा क्याम्पस छन् । गतवर्ष सबै क्याम्पसलाई बजेट छुट्याएका थियौँ । बजेट छुट्याएर मात्र क्याम्पसलाई सुधार गर्न नसकिने रहेछ । पाँचखालको क्याम्पसलाई सेन्टर प्वाइन्ट बनाएर त्यस क्याम्पसको समृद्धितर्फ हामी लागेका छौँ । सम्बन्धित नगर र गाउँपालिकाको सहकार्यमा शिक्षा क्षेत्रलाई सुधार गर्न लागेका छौँ । मण्डन देउपुरलाई केन्द्रबिन्दु बनाएर १५ करोडको लगानीमा अस्पतालको शिलान्यास भइसकेको छ । स्वास्थ्य चौकी निर्माण भइसकेका र भइरहेका छन् । युवालाई खेलकुदसँग जोड्न पाँचखालमा स्टेडियमको अवधारणा अघि सारेका छौँ । निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गदैछौँ र हुने क्रममा छन् । विकास निर्माणसँग जनतालाई जोड्ने र ऐन, कानुन र नियम बनाउने दुबै कार्य सँगसँगै लगेका छौँ । नेकपाका नेताहरूले विकास निर्माणका काम गरे तर जनजीविकासँग जोडिएका काम गरेनन् भन्ने आरोप छ त ? जनतालाई ‘डेलिभरी’ दिने कुरामा हाम्रो अपेक्षाकृत सुधारको आवश्यकता छ । जनतालाई अनुभूति नहुने गरी गरिएका कामको अर्थ रहँदैन । मेरो निर्वाचन क्षेत्रमा जनतालाई ‘डेलिभरी’ दिने कुरामा मैले कमजोरी गरेको छैन । विकास निर्माण र कानुन निर्माणको सबालमा जनतासँग म प्रत्यक्ष जोडिएको दाबीका साथ भन्न सक्छु । आमजनतालाई सुविधा दिने कुरामा कमजोरी भएको छ । यसमा विमति जनाइराख्नु पर्दैन । केही पनि भएको छैन, केही गर्न खोजिएको छैन भन्ने ‘गोयबल्स’ शैलीको प्रचार गर्न खोजिएको छ । यो खतरनाक नेगेटिभ आँखाले हेर्दा केही नभएको देख्न सकिन्छ । नभएका कामको चाँडै प्रचार गर्ने र हुँदै गरेका, भइसकेका कामको प्रचार नगर्नुले यस्तो समस्या आएको हुन सक्छ । राज्य संरचना २ वर्ष पहिलेको जस्तो छैन । ३ तहका सरकारको अभ्यासका क्रममा हामी छौँ । अभ्यास गर्दा कमिकमजोरी र गल्ती हुन्छन्, तिनलाई सच्याएर बहस, छलफलमा लैजानुपर्ने राज्यको अभिभारा छ । सरकार वा संसदमा जो भएपनि सिस्टम बसाल्न लाग्नुपर्ने र समय लागेको मलाई लाग्दछ । हामीले सबै राम्रो गरेको निष्कर्ष निकाल्यौँ भने सही बाटोमा पुग्दैनौँ । विकसित देशमा पनि यस्ता समस्या छन् । मेरो निर्वाचन क्षेत्रमा जनताले अनुभूति हुने गरी सही दिशामा विकास निर्माणका कार्यहरू अगाडि बढेका छन् । हेटौँडा राजधानी उपयुक्त हुँदैन भनेर तपाईंले आवाज उठाउनु भयो । पार्टीको बहुमत हुँदाहुँदै के कारण आइलाग्यो हेटाँैडालाई राजधानी तोक्नुपर्ने कारण ? वाग्मती प्रदेशको राजधानी काभ्रे हुनुपर्छ भनेर २ वर्ष अघिदेखि हामीले लविङ सुरु गर्यौं । लविङका बाबजुत पनि हाम्रो पार्टी नेकपाको केन्द्रीय सचिवालयले हेटौँडा राजधानी राख्ने निष्कर्ष निकाल्यो । हामीले काभ्रेको विरुद्धमा भोट हालेका छैनौँ । काभ्रेका ४ जना सांसदले मात्र निर्णय गरेर हुने विषय थिएन । ११० जना सांसदमध्ये ७३ भोट नजुट्ने अवस्था थियो । नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताको कारण हेटौँडा राजधानी तोकियो । मैले पार्टीको ‘ह्विप’ स्वीकार्नुपर्याे । हामी ३६ जना सांसदले नोट अफ डिसेन्ट लेखेका छौँ । मन परेर चित्त बुझेर र न्यायिक निर्णय भयो भनेर होइन, निर्णय न्यायिक समानतामा आधारित र चित्तबुझ्दो छैन भनेर नोट अफ डिसेन्ट लेखेका हौँ । जुनसुकै बेला ‘नोट अफ डिसेन्ट’ बहसमा आउँछ । यो मुद्दामा हामी सफल नभएको मेरो क्षेत्रका जनतालाई भन्नै पर्छ । जनतासँग राजधानी काभ्रे बनाउने प्रतिबद्धता कार्यान्वयनमा ल्याउन नसक्दा मैले माफी माग्छु । मैले कोसिस गरेको, पहल गरेको र लडाई लडेको मेरो क्षेत्रको मलाई भोट दिने जनताले बुझ्नुभएको छ । भौगोलिक आवश्यकता र औचित्यलाई हेर्दा हेटौँडा राजधानी अनुपयुक्त छ भनेर दावाका साथ भन्छु । सांसदको इच्छा विपरित काम गरेका कारण मुख्यमन्त्रीको राजीनामा माग गर्नुभएको हो ? वाग्मती प्रदेश राजधानी प्रदेश हो । यो प्रदेशले सबै प्रदेशलाई लिड गर्नुपर्ने थियो । जनताको अपेक्षा, आकांक्षा र समस्यालाई वाग्मती प्रदेशले सरकारले लिड गर्न सकेन । यो स्वीकार गर्नुपर्छ । समानतामा आधारित, समानुपातिकमा आधारित आवश्यकताको सिद्धान्तका आधारमा विकास निर्माणका कार्य अगाडि बढाउनुपर्छ । उत्कृष्ट नयाँ फरक सकारात्मक आवाजका साथ वाग्मती प्रदेशको सरकार अगाडि बढ्नुपर्ने थियो । यी कार्य गर्न नसकेको स्वीकार्नुपर्छ । अहिलेको तरिकाले सरकार अगाडि बढ्यो भने हामी सही ठाउँमा पुग्न सक्दैनौँ । घोषणापत्रमा गरेका प्रतिबद्धता पुरा गर्न सक्दैनौँ । यस अर्थमा वाग्मती प्रदेश सरकारले अपेक्षाकृत ढंगले काम गर्न सकेको छैन । सरकार बदल्नेभन्दा पनि हाम्रा काम सही ढंगले गर्नुपर्छ । ‘जनतामा निराशा छायो भने भोलि देश र जनताले दुःखको सामना गर्नुपर्छ’ । तपाईंले मुख्यमन्त्रीको विकल्प खोज्न सकिन्छ भन्नुभएको हो ? मुख्यमन्त्रीको विकल्पको बहस प्रमुख विषय होइन । हामीले गरेका प्रतिबद्धताहरू पुरा गर्नुपर्छ । नयाँ व्यवस्थामा जनतालाई नयाँ चीज दिन सक्नुपर्छ । यदि दिन सकेनौँ भने आन्दोलन र हामी पछि पर्छौं, नेकपा पछि पर्छ । यो काम गर्नुहुँदैन । सरकारको काम कारबाहीको समीक्षा गर्नुपर्छ । समीक्षा गर्दै गर्दा कसैलाई हटाउने र राख्ने प्रश्न रहँदैन । मुख्यमन्त्री, मन्त्री र पावरफुल व्यक्तिले आफ्नै क्षेत्रमा मात्र बजेट हाल्ने पुरानै प्रवृत्ति दोहोरियो भने सिंहदरबार गाउँगाउमा पुर्याउने भनेर गरेको बाचा पुरा हुँदैन । तपाईंकै जिल्लाका संचारमन्त्रीको टेप रकर्ड काण्डले जिल्लामा कस्तो प्रभाव पारेको छ ? जे घटना घट्यो यसले सिंगो पार्टी र देशलाई नै लज्जित बनाएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई उम्किन दिनुहुँदैन । टाउकोमा जुम्रा, लिखा, चायाँ पर्याे भने पखाल्नुपर्छ, गएन भने कपाल खौरिनुपर्छ । टाउकै काटेर फाल्ने काम गर्नुहुँदैन । कम्युनिष्ट आन्दोलन र अभियानमा सरकार सञ्चालनका क्रममा केही मान्छेले कमिकमजोरी गर्याे भने पन्छाउन सक्नुपर्छ । कमिकमजोरी गरे नगरेको छुट्याउने निकायमा म छैन । जसप्रति प्रश्न उठेका छन् तिनैले उत्तर दिन सक्नुपर्छ । सत्यतथ्य बाहिर आउनुपर्छ । यो घटनाले समग्र काभ्रेली जनतालाई चोट पुर्याएको छ । अब पार्टीले गम्भीरताका साथ छानबिन गर्नुपर्छ । सिंगो पार्टी एउटा घटनाले विचलित हुँदैन । यस्ता घटना व्यक्तिगत, पार्टीगत र मुलुकको जीवनमा आउँछन् । इतिहासको विभिन्न कालखण्डमा हुने गरेका यस्ता घटना हुन्छन् । यस्ता व्यक्ति र पात्र पहिचान गर्न सकियो भने मुलुक र जनताको पक्षमा हामी निर्भिग्न भएर काम गर्न सक्छौँ । जे कुरा बाहिर आएको छ, त्यसमा मेरो सहमत, असहमत छैन । गलत पात्र घटना र व्यक्तिको पक्षमा नलागी सत्यको पक्षमा लाग्न काभ्रेका जनतालाई आह्वान गर्दछु । (कामना न्यूजका सिनियर रिपोर्टर उज्ज्वल कडरियासँगको कुराकानीको सम्पादित अंश)

    • आइतवार, फाल्गुन १८ २०७६०७:३७:०९
    सम्बन्धित समाचार
    विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३