‘म मान्छे अलिकति लोभी छु, खासै लोभी पनि होइन । ल्याक्टो चकलेट किनेर पहिले खोल चुसेर बल्ल चकलेट खान्छु ।’
‘पहिला मेलो बाबा, तेलो बाबा ! छुट्टिएपछि मेरो बाउ, तेरा बाउ !’
‘एउटा भाइ त्यो नि त्यो, के नाम हो ? विष्णुप्रसाद गौडेल ? पाँच वर्षअगाडि विदेश गा’थ्यो है ? बट इट्स मेक्सम गौडेल ! यो..!’
तर उनी विदेश गएका थिएनन्, च्याम्पियनको घर छिरेका थिए । जब निस्किए– २५ लाखको गाडी र च्याम्पियन त गुमाए । तर, देशभरका दर्शकको माया, सम्मान, विश्वास र हौसलाको उचाल्नै नसक्ने भारी एक्लै कुम्लाए ।
आफ्नो स्ट्यान्ड अप कमेडी ‘हास्य र व्यंग्य’ दुवै पाटोमा शशक्त रहेका आँधी खोलको पानी पिएर हुर्किएका कमेडियन विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल सुरुवात गीत सुनाएर माहोल ठट्यौली बनाउँछन् ।
‘स्याङ्जालीलाई नभन जाली ।
तिम्रो पनि सिउँदो छ खाली,
लान्छु तिम्लाई सिन्दुरै हाली ।’
उसो त उनी गीत पनि गाउँछन् । तर, त्यसभन्दा बढी उनको तिख्खर हास्यचेतले नेपालभर प्रभावित बनाएका छन् । कमेडी च्याम्पियनको लामो यात्रा पार गरेका ‘टप फो फाइनलिस्ट’ ‘मेलो बाबा’ यतिखेर आफ्ना आगामी यात्राबारे सोच विचार र खोज खबर गर्नमा तल्लीन छन् ।
कमेडी च्याम्पियनतर्फ जाऊँ
प्रशस्त पञ्च लाइन, त्यसै अनुरूपका लवज, हाउभाउ, ड्रेसअप । उनले के मात्रै गर्न भ्याएनन् ? कहिले एनआरएन बने, कहिले सुगर ड्याडी बने । फेरि कहिले ‘स्यौजा’ बसपार्क झरेर काठमाडौँ आउन लाग्दा घिउको बट्टो सहितको झोलो हराएर उल्लिबिल्ली भएको यात्रु बने । कहिले पैसा जोगाउन भेजिटेरियन श्रीमती बिहे गरे त कहिले आफ्नै बाउलाई आफैँले भोट नहालेर हराइदिए ।
एक हप्ताभित्र एउटा सेट रेडी गर्नुपथ्र्यो । अघिल्लो हप्ता शनिबार सुट भए पश्चात आइतबार अर्को टपिक आउँथ्यो । फेरि शुक्रबारसम्म रिहर्सल गरिसक्नुपथ्र्यो । र, फेरि शनिबार सुट हुन्थ्यो ।
टपिक पाइसकेपछि प्रथमतः उनी टपिकसँग मिल्दोजुल्दो क्यारेक्टर ‘क्रिएट’ गर्थे । ‘क्यारेकटर क्रिएट’ गर्न लामो समय रहन्नथ्यो । एक दुई दिनभित्रै ‘क्यारेक्टर फाइनल’ गरेर त्यसमा हास्यरस घोल्नुपथ्र्यो । र, बल्ल ’रिहर्सल’ अनि त्यसपछि प्रस्तुति । एक हप्ताको समय मुस्किल रहन्थ्यो तर उनी त्यसमा रमाउँदै आए ।
उनी च्याम्पियनको ‘स्मृतिको सन्दुक’ खोलेर एकपछि अर्को ‘बट्टो’ उघार्न थाल्छन्,
‘पहिलो बट्टोः कमेडी च्याम्पियनमा ट्राइ गर्ने सोचें
कमेडी च्याम्पियन आउँदैछ, नेपालमा पहिलो कमेडी रियालिटी शो हुँदैछ । जसले पुरस्कार पनि घोषणा गरेको छ भन्ने सुनेर उनलाई निकै नौलो र अनौठो लागेछ । उनले ‘एकपटक ट्राइ गरूँ क्यारे’ सोचेछन् ।
सानो स्टेजमा आफ्नो प्रस्तुतिले आफूले चिनेकालाई मात्रै होइन नदेखेका र नजानेका व्यक्तिहरूलाई समेत हँसाउन सकेको थिए । घरपरिवार, साथीभाइ, आफ्नो छर–छिमेक, काका–मामा, आफूले पढ्ने स्कुल, कलेज र त्यसपछि वालिङ या वालिङ आसपासका क्षेत्रलाई आफूले हँसाउन सकेकोमा नै खुसी थिए उनी ।
आफ्नो त्यही खुसीले उनलाई कमेडी च्याम्पियनको दैलोसम्म पुग्न हौसला दिएको उनी स्वीकार्छन् । फेरि अर्को कुरा पनि थियो, उनले त्यसरी आफ्नो ठाउँमा हँसाइरहँदा उनलाई माथिसम्म पुर्याउनुपर्छ भनेर प्रोत्साहन दिने धेरै थिए ।
त्यो प्रोत्साहनले पनि आफूमा आत्मबल बढाएको बताउँछन् । ‘उहाँहरूको हौसला र प्रोत्साहनले आफूमा केही नयाँ चिज रहेको, केही नौलो गरिरहको मैले चाल पाएँ । त्यसपछि मलाई आँट पनि आयो । अनि कमेडी च्याम्पियनमा ट्राइ गर्ने सोचेँ ।’
दोस्रो बट्टो; स्टेजमा अभ्यास नगर्दासम्म डर लाग्थ्यो
आफूले विषयवस्तु पाइसकेपछि रिसर्च त गर्नैपर्यो । तर, उनी रिसर्चभन्दा आफ्नै अनुभव मिसाएर प्रस्तुति दिने गरेको बताउँछन् । ‘आफूले भोगेको विगत नै आफ्नो प्रस्तुतिको मुटु हो,’ उनले बताए ।
‘बसपार्कको विषय पाएको छु भने म बसपार्कमै गएर दुई घण्टा पनि बिताइरहेको हुन्छु, बुझिरहेको पनि हुन्छु, नभए आफ्नो विगत र भोगाइले निकै सजिलो पार्छ ।’ आफूले भोगेका कुरालाई प्रस्तुत गर्दा मजा हुने र ‘रिसर्च बेस्ड’ हुँदा चाहिँ बिर्सन सक्ने र भुल्न सक्ने सकस बारबार आइरहने रहेछ,’ उनले भने ।
फिल्म लेख्नुस्, चाहे कविता या ‘स्ट्यान्ड अप कमेडीको स्क्रिप्ट ।’ लेख्ने काम कहिल्यै सजिलो हुँदैन । यो त सर्वमान्य कुरा हो । फेरि लेखिसकिएको स्क्रिप्टलाई एउटा ‘टाइमफ्रेम’ भित्र अटाएर, ‘क्यारेक्टर’ निर्माण गरेर प्रस्तुति दिनु लरोतरो काम होइन । तर मेक्समले त्यो जोखिम निरन्तर मोल्दै आए ।
च्याम्पियनले दिएको विषयवस्तुदेखि बाहिर नगई प्रस्तुति दिइरहँदा एकातिर समय पाबन्दी (७/१२ मिनेटको टाइमफ्रेम), अर्कोतर्फ जज र दर्शकको अपेक्षा । यी तीन कुरामा ध्यान दिँदा क्यारेक्टर गुम्न सक्ने अर्को पनि समस्या हुन्थ्यो । फेरि पन्चलाइन, सन्देशपरक कुराहरू पनि अटाउनै पर्यो । उनलाई यो सम्पूर्ण प्रोसेस अत्यासलाग्दो लाग्थ्यो । तर यात्रा चुनौतीपूर्ण भए पो– साहसिक यात्रा !
‘जबसम्म म स्टेजमा अभ्यास गर्दिन थिएँ, त्यस बेलासम्म डर लाग्थ्यो, तर अभ्यास गरिरहँदा अन्य प्रतिस्पर्धीहरूको साथ र सहयोग सधै रहिरह्यो । यसले मलाई धेरै नै हौस्याउँथ्यो,’ उनी भन्छन् ।
तेस्रो बट्टो; सुरुमा प्राइजको लोभ थिएन (अरे !)
उनलाई सुरुमा प्राइजको लोभ थिएन ।
२५ लाख क्यास र एउटा गाडीको पुरस्कार उनको नजरमा परेको हो । तर जब उनले एकपछि अर्को खुड्किला पार गर्न थाले, पुरस्कार राशी उनको सम्झनामा आउनै छाड्यो ।
‘एक दुई हप्तामा नै मैले भुलिसकेको थिएँ ‘प्राइज’ पनि छ भनेर । म अभ्यासमा थिएँ । मलाई यति मज्जा लाइरा’को थियो कि नयाँ परिवेश, नयाँ साथीभाइ र घुलमिलले त्यो सब बिर्सिएँछु,’ उनले भने, ‘आफूले सम्मान गर्ने, टेलिभिजनमा देख्दै आएका अग्रज कलाकारसँग साक्षात्कार गर्ने मौका पाइरा’थेँ । उहाँहरूको अगाडि मैले प्रस्तुति दिँदै छु ।’
उनी थप्छन्, ‘यति धेरै मात्रामा यी सब कुराहरू पाउँदाखेरि यति मग्न भइएछ कि प्राइजको बारेमा, टाइटल (च्याम्पियन)को बारेमा सोचेकै थिइनँ मैले ।’
‘ए ! मैले के गुमाए भन्दा, टाइटल र २५ लाख पनि त छ नि त भन्ने भयो । (हाँसो)
चौथो बट्टो; च्याम्पियन हुन्छु कि क्या हो (?)
जसै–जसै अगाडि आइपुग्दै गए । प्राइजको सम्झना आउन थालेको स्वीकार्छन् । तल–तल झर्दै गर्दा आफूलाई पनि विजेता देख्न थालेका स्वीकारेर उनी आफ्नो कुरा आफैँ काट्छन्, ‘त्यो स्वाभविक कुरा थियो, देख्या थिएँ पनि । तीनमा पर्छु र सम्भवतः च्याम्पियन पनि हुन्छु भन्ने मलाई लाग्या’थ्यो ।’
पाँचौँ बट्टो; दाइले चिन्ता नगर भन्नुभयो !
आफूले टप ४ मा दिएको प्रस्तुतिले नै आफूलाई बाहिर निकाल्छ भन्ने उनले सोचेका थिएनन् । आखिर भइदियो त्यही ।
आउट भएको पत्तो पाउनासाथ उनले स्याङ्जामा रहेकी आमालाई फोन लगाए; सम्पर्क भएन । दाइलाई फोन गरेर आफू आउट भएको सुनाए । मेक्सम भन्छन्, ‘दाइले ठिकै छ, प्रतियोगिता हो यस्तो हुन्छ । चिन्ता नगर भन्नुभयो । धेरै लामो कुरा हुन पाएन ।’
छैटौं बट्टो; च्याम्पियनले के गुमायो ?
एक/दुई प्रस्तुति त उनले स्वभावतः गुमाए । टप ३ को लागि तयार भई बसेको ‘तयारी’ पनि उनले गुमाएकै हो ।
‘टप ३ को स्क्रिप्ट मसँग नै रह्यो । त्यसलाई प्रस्तुत गर्न पाइन । त्यो गुम्यो । सिरयस्ली त होइन तर अलिअलि आश त प्राइजको पनि लाग्दो रहेछ,..(हाँसो), त्यो पनि गुम्यो ।’
सातौँ बट्टो; च्याम्पियनबाट के पाउनुभयो ?
कमेडी च्याम्पियन अगाडि उनी थोरै समय मात्रै कमेडीलाई दिइरहेका थिए । एकातिर जागिर र अर्कोतिर पढाइ । स्कुल, कलेज या प्रोमोको कार्यक्रमहरूमा उनको सहभागिता रहन्थ्यो । कमेडी च्याम्पियन अगाडि आफू एक ठाउँमा मात्रै केन्द्रित रहेको बताउँछन्– मेक्सम ।
च्याम्पियनमा आउनुभन्दा पहिला पनि स्याङ्जाका स्थानीय टेलीसिरियल र कार्यक्रमहरूमा आफ्नो प्रस्तुतिले दर्शक–श्रोताहरूको मन जितिरहेका थिए । कमेडी च्याम्पियनले उनलाई स्याङ्जादेखि बाहिर ल्यायो, नेपाल र नेपाल बाहिर चिनायो ।
कमेडी च्याम्पियनले आफ्नो करिअरलाई नै ‘यु टर्न’ गरिदिएको बताउँछन्, ‘स्याङ्जामा विद्यार्थी भएर अध्ययन गरिरहेको, काम गरिरहेको ‘विष्णुप्रसाद गौडेलले मेक्सम गौडेल हुँदै मेलो बाबा’ सम्मको यात्रा गर्यो, यो नै कमेडी च्याम्पियनको देन हो ।’
कमेडी च्याम्पियनमा छिरिसकेपछि पनि उनलाई धरमर धरमर नै थियो । र, जब उनी सेलेक्ट भए । तब उनले स्क्रिप्ट लेखनदेखि कमेडीका विभिन्न जनराहरूको बारे बुझ्न पाएँ । आफँैले गरिआएको र गरिरहेको कमेडीको विधालाई अझ सशक्त र बलियो बनाउन सिकेका छन्, उनले ।
कमेडी च्याम्पियनमा अभ्यासरत रहँदा आफ्नो लागि र आफ्नो जीवनको लागि धेरै कुरा सिकेको बताइरहँदा उनी कमेडीको लागि भने आफूमा अझ सिक्ने चाह रहेको र सिकिरहेको भन्न छुटाउँदैनन् ।
आठौँ बट्टो; च्याम्पियनले चाहिँ के पायो ?
च्याम्पियनले आफूबाट यही पायो भनेर ठोकुवा गर्न सक्ने आफ्नो हैसियत नभएको घुमाउरो बाटो अपनाउँदै उनले च्याम्पियनले खोजेको कुरा र आफूले दिएको कुरा ‘मिट’ हुन सक्यो, सकेन विचार गर्नुपर्ने बताउँछन् ।
माहोल अलि पर तर पुगेको भेउ पाएछन् क्यारे, उनले गफगाफमा हास्यरस जोडे, ‘च्याम्पियनले एउटा नयाँ कन्टेसटेन्ट पाउनुभयो, त्यो स्याङ्जाबाट थियो ।’
नवौं बट्टो; च्याम्पियनले पाएको भन्दा पनि बनायो !
च्याम्पियनले पाएको भन्दा नि बनाएको भन्न मनपर्छ उनलाई । कमेडी च्याम्पियनमा भाग लिएपछि मात्र आफू तिखारिएको स्वीकार्छन् । उनको च्याम्पियनसँग सम्बन्ध हुँदैन थियो उनको लेखन शैली अहिलेको जस्तो नहुने उनी बताउँछन् ।
त्यस अलबा पनि च्याम्पियन उनलाई धेरै थोक दिएको छ । ‘लेख्न सिकाउनुभयो, कमेडी कसरी गर्न सकिन्छ सिकाउनुभयो, कसरी हँसाउने, कुन–कुन कुराहरू महत्वपूर्ण हुन्छ, समयमा कसरी रहने ? यस्ता कुराहरू सिकेँ ।’
‘रिसर्च त छँदै छ तर पढ्नुपर्ने विषय अर्को अडियन्स पनि हुन् । हरेक खालका अडियन्सलाई हरेक खालका कमेडी मन नपर्न सक्छ । यस कुरा पनि मलाई च्याम्पियनले नै सिकायो,’ उनी थप्छन् ।
घैँटो फुटाउने मेक्सम
उनी आफ्नो स्कुल लेभल सम्झन्छन् । उनले प्रतिस्पर्धा नगरेको र भाग नलिएको सायदै कार्यक्रम होलान् । गाउन होस् कि नाँच्न, उनी अगाडि सरिहाल्थे । चाहे वादविवाद होस्, चाहे वक्तृत्व कला या चाहे होस् हाजिरीजवाफ, उनले केही छोडेनन् ।
‘यतिसम्म कि मैले घैँटो फोड्ने कार्यक्रम पनि छोडिनँ । र मैले पोजिसन पनि पाएको छु,’ उनी भन्छन् ।
इच्छा भएर पनि नेपाल आइडल नगएका मेक्सम
च्याम्पियनमा पनि उनी गीत गाउँथे । उनी गीत संगीतको पारखी पनि रहेछन् । लोकगीत देखि लिएर र्याप गीतसम्म सुनिरहेका हुँदा रहेछन् । गुनगुनाइरहँदा पनि रहेछन् ।
नेपाल आइडल जाने आफ्नो इच्छा चाहिँ भएको तर क्षमता चाहिँ नभएको हो कि झैँ लाग्छ उनलाई । ‘नेपाल आइडलमा जो प्रतिस्पर्धामा भिडिरहेको छन्, त्यति लेभलको गाउन चाहिँ सक्दिनँ । बस् गुनगुनाइरहन मन पर्छ,’ उनी भन्छन् ।
आफूले कस्तो गाउँछु भनेर आफैँले भन्न सक्ने भएको खण्डमा उनी नेपाल आइडलमा पनि देखिन सक्छन् । ‘आफैँले मूल्यांकन गर्न सकिरहेकै छैन, यसकारण नेपाल आइडलमा अहिले नै गइहाल्ने योजना बनाइसकेको छैन ।’
स्ट्यान्ड अप कमेडी एउटा फिल्म जस्तो लाग्छ
मह जोडीबाट निकै प्रभावित रहेकाले आफू हास्यव्यंग्यतर्फ आकर्षित भएको बताउँछन् । आफ्नो हास्यव्यंग्य चेतको विजारोपण नै मह जोडीबाट भएको बताउँछन् ।
त्यसपछि नेपालका चल्तीका सिरियलका पात्रहरू धुर्मुस, माग्ने बूढा, जितु नेपाल दाइ, दिपक दाइ हुँदै बले, जिग्री दाइ, हुँदै मनोज गजुरेल दाइ, राजा राजेन्द्र दाइ, सन्दीप क्षेत्री दाइसम्मले उनमा प्रभाव छाडेका छन् । ‘उहाँहरूको व्यंग्य चेतले मलाई प्रभाव पारे तापनि लेख्ने र प्रस्तुत गर्ने शैली भने नितान्त मेरो हो,’ उनी बताउँछन् ।
स्ट्यान्ड अप कमेडी र चलनचल्तीका हास्यव्यंग्य टेलि सिरियलहरूमा अभिनय गर्नु दुवै नै गाह्रो लाग्छ उनलाई । दुवै विधामा प्रस्तुति दिनु र लेख्नु गाह्रो रहेको बताउँछन् । तर, उनको विशेष लगाव भने स्ट्यान्ड अप कमेडीमा नै छ ।
‘स्ट्यान्ड अप कमेडी गरिरहँदा मलाई निकै कम्फर्ट लाग्छ । ‘मलाई स्ट्यान्डअप कमेडी एउटा फिल्म जस्तो लाग्छ, तर यो हँसाउन सक्ने सानो फिल्म हो,’ उनी बताउँछन् ।
हामीबीच प्रतिस्पर्धा एक ठाउँमा छ, भाइचारा एक ठाउँमा छ
च्याम्पियनले लगाइदिएको आदत, बसालेको बानीलाई श्रेय दिँदै उनी लेखन कर्म सँगसँगै टाइम म्यानेजमेन्टमा निकै सतर्क हुन थालेको बाताउँछन् ।
च्याम्पियनको घर छाडिसकेपछि पनि त्यस घरमा अहिले रहिरहेका र त्यहाँदेखि उनीभन्दा अगाडि निस्किसकेका सबै साथीभाइ (प्रतिस्पर्धी) सँग उनको भेटघाट निरन्तर भइरहेकै छ । उनले भने, ‘हाम्रो भाइचारा यति राम्रो छ कि कुनै पनि कन्टेस्टेन्ट सेटबाट निस्किएपछि सम्पर्क टुटेको छैन । टप २४, टप १५ बाट निस्किएका साथीहरूसँग म निरन्तर सम्पर्कमा छु ।’
च्याम्पियन एउटा परिवार जस्तो भएको र कोही पनि त्यस घरबाट बाहिरी पनि निरन्तर सम्पर्कमा रहिरहेको उनी बताउँछन् । ‘हामीबीच प्रतिष्पर्धा एक ठाउँमा छ, दाजुभाइको सम्बन्ध एक ठाउँमा छ,’ उनी भन्छन् ।
‘कुनै पनि विषय देख्छु, भेट्छु बहने अहिले पनि लेखिरहेको छु । र, एउटा बानी जो छुटिरहेको छैन– त्यो हो लेख्ने काम । प्रतिस्पर्धामा छैन भन्ने मात्र फिल छ, हास्यव्यंग्यको क्षेत्रमा त्यतिबेला जसरी काम गरिराथेँ, अहिले पनि गरिराछु,’ उनी भन्छन् ।
हँसाउनको लागि दुईतिरै प्रेसर छ
च्याम्पियनको घरभित्र हुँदा एक हप्ताभित्र स्क्रिप्ट लेख्नुपर्ने छ; क्यारेक्टर खोज्नुपर्ने छ; प्राटिक्स गर्नुपर्ने छ; कण्ठ गर्नुपर्ने छ र प्रस्तुत गर्नुपर्ने छ भन्ने प्रेसर हुन्थ्यो उनलाई । अब बाहिर आए– झन् प्रेसर बढेको फिल गर्छन् ।
‘अब फेरि भोलि मैले स्टेजमा जानु छ, नयाँ कुरा सुनाउनु छ, नयाँ अडियन्सलाई भेट्नु छ, जज हुनुहुन्न । तर जजिङ भइराखेको हुने छ,..यो पनि प्रेसर नै छ,’ एक राउन्ड हाँसिभ्याएर मेक्सम भन्छन्, ‘हँसाउनको लागि जता पनि प्रेसर छ ।’
म प्रत्यक्षरूपमा अडियन्ससामु उपस्थित हुन्छु
केहीदिन मात्रै भएको छ, उनी च्याम्पियन देखि बाहिरिएका । ‘योजना बनाउन भ्याइनसकको अवस्था हो र फेरि बनि पनि रहेको छ, बन्दै नबनेको चाहि होइन,’ उनी भन्छन् ।
कमेडी च्याम्पियनको टप ४ फाइनलिस्ट भइसकेको कारण पनि उनलाई कमेडी आफ्नो र आफू कमेडीको लाग्नु स्वाभाविक हो । कमेडीलाई नै आफ्नो यात्रा बनाउनुपर्छ भन्ने कुरामा भने उनी निर्धक्क छन् । भोलिको दिनमा कुनै नयाँ प्रस्तुति लिएर नयाँ स्टेजमा, टेलिभिजनमा, रेडियोमा, युट्युबमा जता हुन्छ उनी देखिनेछन् । ‘म प्रत्यक्ष रूपमा अडियन्स सामू उपस्थित त हुन्छु नै,’ उनी भन्छन् ।
आफ्नो आगामी यात्राको बारे बोल्दै गर्दा एकछिन रोकिएका मेक्सम फेरि बोल्छन्, ‘कमेडी च्याम्पियनकै अर्को ‘चाम्पियनका चटके’ भन्ने नयाँ कार्यक्रम आइरहेको छ ।’ ‘चाम्पियनका चटके’मा कुन–कुन कलाकार र शो कस्तो रहनेछ भन्नेबारे आफूलाई सम्पूर्ण जानकारी नभएको बताए । ‘उक्त शो’मा च्याम्पिएनका केही कलाकारलाई मिसाउने कुरा छ । तर, म पर्छु, पर्दिन त्यो अहिले नै मैले भन्न सक्दिनँ ।’
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३