Logo

बिहिवार, आश्विन १ गते २०८३

‘मेरा लागि निर्देशकको भूमिका खास नयाँ अनुभव हाेइन’

‘मेरा लागि निर्देशकको भूमिका खास नयाँ अनुभव हाेइन’

  • 3.6K
    SHARES

  • लाटो पहाडबाट पद्मश्री पुरस्कार पाएका कथाकार उपेन्द्र सुब्बा वि.सं. २०३० साल वैशाख २९ गते पहाडी जिल्ला पाँचथरको आङसाराङमा जन्मिएका हुन् । उनी नेपाली साहित्यको एउटा बलियो स्तम्भ हुन भन्ने कुरामा दुई मत नहोला । ‘खोलाको गीत’, ‘डाँडामाथिको घामजुन र गड्तिरका राँकेभूतहरू’, ‘हांग्रायोकोे भोग र पांग्रा’लगायत पुस्तक रचना गरेका उनी बहुआयमिक प्रतिभा हुन् । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा ‘मौलिक’ कथावस्तु ल्याउने राइटरका रूपमा चिनिन्छन्, उनी । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘त्यान्द्रो’, ‘पुरानो डुंगा’, ‘देश खोज्दै जाँदा’ जस्ता चलचित्रको कथावस्तु रचना गरेका उनको परिचय थप फराकिलो बन्न पुगेको छ । आगामी दिनमा सुब्बा नेपाली चलचित्र निर्देशकका रूपमा समेत देखिने भएका छन् । उनले निर्देशन गरेको चलचित्र ‘जारी’को सुटिङ सकिइसकेको छ । चलचित्र ०७७ जेठ २३ मा प्रदर्शनमा आउँदै छ । चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, प्रेम सुब्बा, कमलमणि नेपाललगायत कलाकारको अभिनय देख्न पाइने छ । फिल्म ‘जारी’, निर्देशन र चलचित्र जगतको वरिपरि रहेर उनीसँग कामना न्यूजका लागि रसिकले गरेको कुराकानी: आजभोलि के गर्दै हुनहुन्छ ? फिल्मकै काममा ब्यस्त छु । पोस्टको काम हुँदैछ । दौडधुप, भेटघाट यस्तै यस्तै.. निर्देशन किन ? जीवनमा केही नयाँ काम गरुँ, खास गरुँ भन्ने नै होला भन्छु । दुई चारवटा स्कृप्ट लेखियो । आठ दस वर्षदेखि यही क्षेत्रमा छु । यसका राम्रो पक्ष पनि थाहा छ, कमी कमजोरी पनि । यस अर्थमा यो क्षेत्रमा केही गर्न सक्छु भन्ने आँटले हो कि । होइन भने पनि मेरो कामले यो क्षेत्रमा केही हानी नोक्सानी गर्ने छैन भनेरै होला । निर्देशक उपेन्द्र सुब्बाबाट के अपेक्षा गर्ने ? अपेक्षासँग हो, मलाई सधैं डर । तर, लेखकको सानो परिचय भएको नाताले के भन्न सक्छु भने, एउटा फरक कथा बनाउन चाहिँ सक्छु । कवि भएको नाताले कथालाई सुन्दर तरिकाले भन्ने कोशिस गर्न सक्छु भन्ने लागेको हो । अरु त धेर आश नराख्नु । कथामा मौलिकता ? कि प्रयोग ? त्यति धेरै प्रयोग त सम्भव नहोला । म त्यो उमेरमा पनि छैन । पूर्ण रूपमा प्रयोग त एउटा नयाँ आँट, अध्ययन र सिद्धान्तबाट सम्भव होला । त्यत्रो धेरै प्रयोगको आशा नराख्नु । जसरी मैले कवितामा वा कथा आख्यानमा काम गरेँ, त्यसरी नै चलचित्रमा पनि मबाट नेपाली समाजको मौलिक कथाको अपेक्षा भने पक्कै राख्दा हुन्छ । र, म त्यसमा निराश पार्छु जस्तो लाग्दैन । ‘जारी’ किन ? जारी लिम्बू समुदायको एउटा कथा हो । म जन्मे हुर्केको गाउँ, समाज, परिवेश र चिनजानकै पात्रहरू काममा सहयोगी होलान् । काममा सहज होला । यस्तै भनेर यो कथा रोजेको हुँ । निर्देशनको अनुभव ? चलचित्र क्षेत्र काम गरिरहेकाले खास अनौठो लाग्ने कुरा भएन । जिम्मेवारी एउटा कुरा भयो । तर, आठ दस वर्षयता सानो सानो अनुभव बटुल्दै आएको छु । पृष्ठभूमिमा बसेर काम गरिराखेको हुँदा मेरा लागि निर्देशकको भूमिका खास नयाँ अनुभव भएन । साहित्यकारहरू धमाधम चलचित्रतिर लागेका छन्, के लाग्छ ? जहाँ गए पनि कलाकै काम हो । व्यक्ति र लोककै कथा भन्ने हो । त्यसैले एउटा लेखक चलचित्रमा आउनु राम्रो कुरा हो । अझ चलचित्र बुझेर आख्यानमा जानु पनि सुन्दर कला हो, कथा कसरी भन्ने भनेर चलचित्रले गजबसँग सिकाउँछ । केही घाटा छैन, साहित्यलाई । चलचित्रमा सबैभन्दा कमजोर पक्ष लेखन नै छ । तसर्थ, एउटा लेखक पाउँदा चलचित्रलाई फाइदै छ । लेखकहरू चलचित्रतिर आएको राम्रो । भनिन्छ– एउटा स्कृप्ट चलचित्र बन्दाबन्दै २५ प्रतिशत मात्र लेखे जस्तो लाग्छ रे ! म नजिकका साथीभाइहरूसँग मात्र काम गरेको हुँदा मसँग त्यस्तो अनुभव छैन । तर, के हुँदो रहेछ भने हामी जहाँ बसेर लेख्छौँ । जे सोचेर लेख्छौँ । लोकेसनमा पुग्दा समस्या आउने रहेछ । कहिले टेक्निकल समस्या त कहिले अनेक समस्याका कारण सिन रिप्लेस गर्ने गरिँदो रहेछ । लोकसनमा के गर्न सकिन्छ, सकिन्न भनेर सोच्नु पर्यो । टेक्निकल्ली के सम्भव हुन्छ, हुँदैन विचार पुर्याउनु राम्रो । भरसक सुनेको कथाभन्दा पनि आफूले राम्ररी बुझेको, देखेको भोगेको कथा लेख्दा न्याय पनि हुन्छ र, दुर्घटना पनि कम हुन्छ । झाँक्री चरित्र हाबी हुँदाको समस्या ? प्रभाव पार्छ नि । सामान्य जीवनलाई असर पुराउँदो रहेछ । मैले त्यही कबड्डीको झाँक्री पात्रबाट अनुभव गरेँ । कबड्डीमा त्यो रोल गर्न गएको भए, वा अभिनय मेरो सपना वा रहर भएको भए त्यति धेरै अफ्ट्यारो हुँदैन थियो, होला । तर, त्यसो नहुँदा मैले चाहिँ निकै सहेँ । किनकि मलाई नभेटको नदेखेको मान्छेमा पनि एक किसिमको धारणा बनाइदिँदो रहेछ । उपेन्द्र सुब्बालाई जितेर मस्तिष्कमा झाँक्री बस्दो रहेछ । निकै खराब बस्दो रहेछ । त्यो कला मात्र नभएर एउटा इमेज बनेर बसिदिँदा समस्या हुँदो रहेछ । वास्तवमा म कवि हुँ, लेखक हुँ । तर, चरित्र हाबी हुँदा सामाजिक जीवनमा निकै ठूलो असर पर्दो रहेछ । भेट्नेले मलाई झाँक्री सोचेर व्यवहार गर्दा कति पटक चोकमा असहज महसुस गरेको छु । कैयौँ पटक बाटोमा ‘ओइ झाँक्री’ भनेर बोलाउँदा अपमान जस्तो महसुस भयो । मेरो जीवनमा झाँक्री भएर भोगेको कथाहरू निकै धेर छन् । नेपाली सिनेमाको अवस्था ! हिजोभन्दा आज राम्रो भइरहेको भने हो । तर, नेपाली चलचित्रमा मेहनत कम छ । हामीसँग क्षमता नभएको हैन, बडा ज्ञान भएका फिल्ममेकर पनि छन् । ठिकको लगानी उठ्ने बजार पनि छ । २ करोड लगानी गरेर ४ करोड कमाउनु नराम्रो त होइन नि, हैन ? बाँच्न सकिने बजार छ । स्कृप्ट राइटर, निर्देशक, कलाकार, एडिटर, साउण्डदेखि लिएर सबैले मेहनत गर्दैनन् । चल्छ हौ ! भन्ने प्रवृत्ति छ । याद गर्नु नै भएको होला ! फिल्ममेकरले अन्तर्वार्ता वा सभा सम्मेलनमा फिल्मबारेमा कति सुन्दर बोल्छन् । कुरा गर्छन् । तर, उहाँहरूको सृजना बोलेको जति नबन्नु चाहिँ मेहनत नपुगेर नै हो ।

    • शुक्रवार, फाल्गुन १६ २०७६०४:३७:०५
    सम्बन्धित समाचार
    विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३