नेपाली र अंग्रेजी नाटकमा नौलो नाम होइन दिव्यदेव पन्त । नेपालमा ‘मेथड एक्टिङ’ गर्न खोजिरहेका उनी पछिल्लो समय नाटक र चलचित्र दुवैमा निकै व्यस्त छन् । उनले अभिनय गरेको चलचित्र ‘हिजो आजका’ कुरा वैशाखमा रिलिज हुँदैछ भने उनैले अभिनय गरेको अर्को चलचित्र ‘चिसो एस्ट्रे’ पनि जेठदेखि प्रदर्शन हुँदैछ ।
उनै दिव्यदेव पन्तसँग कामना न्यूजको लागि अन्शु खनालले गरेको कुराकानीः
चलचित्र ‘हिजो आजका कुरा’को लागि तपाईं र तपाईंको टिमलाई बधाई छ । यो चलचित्रसँग कसरी जोडिने मौका पाउनुभयो अलिकति बताइदिनुस् न ।
धन्यवाद,मलाई यो चलचित्रको लागि नायिका रिचा शर्माले सिफारिस गर्नुभएको रहेछ । उहाँले मेरो ‘सेम टाइम नेक्स्ट इयर’ भन्ने नाटक हेर्नुभएको थियो । त्यो नाटकमा मेरो काम देखेर उहाँले मेरो नाम लिनुभएछ । त्यसपछि म गएर अडिसन दिएँ अनि सेलेक्ट भएँ ।
अग्रज कलाकारसँग काम गर्दाको अनुभव सुनाइदिनुहोस् न ।
उहाँहरूसँग काम गर्दा धेरै कुरा सिक्ने मौका मिल्यो । काम गर्न पनि सजिलो भयो । सबैजनाले हामीलाई परिवारको रूपमा लिएर सहज बनाइदिनुभयो । सन्तोष पन्त सर चाहिँ आफ्नो काम सकिएपछि पनि हामीसँगै बसेर हाम्रो हिम्मत बनिदिनुहुन्थ्यो । रमा थपलिया दिज्यु पनि उस्तै सहयोग गर्नुहुन्थ्यो । उहाँहरूसँग काम गर्दा एकदमै रमाइलो भयो । काम पनि छिट्टै सकियो ।
तपाईं त थिएटरमा पनि उत्तिकै सक्रिय देखिनुहुन्छ । तपाईंलाई थिएटर सजिलो लाग्छ कि चलचित्र ?
पछिल्लो समय चलचित्रको काम भइरहेको हुनाले थिएटरमा काम गर्न पाइरहेको छैन । नत्र मलाई व्यक्तिगत रूपमा पनि थिएटर गर्न एकदमै मन पर्छ । सजिलोको हिसाबले मलाई थिएटर नै सजिलो लाग्छ ।
किनकि हामी एउटा नाटक दुई अढाई महिनामा तयार गर्छौं । त्यति बेलासम्म सबै कुरा सेट भइसकेको हुन्छ, त्यसपछि दर्शक सामु प्रत्यक्ष देखाउँछौँ । दर्शकको प्रतिक्रिया तत्कालै पाइहाल्छौँ र सजिलो लाग्छ । तर, फिल्ममा धेरै प्राविधिक कुराहरू हुन्छ । साना साना कुरामा काम गर्नुपर्ने हुन्छ । यस कारण चलचित्र अलिक गाह्रो हुन्छ, तर पनि रमाइलो चाहिँ दुवै लाग्छ ।
किताब कत्तिको पढ्नुहुन्छ ? मनपर्ने कुनै किताब ?
पछिल्लो समय अलिक कम पढे पनि म किताब चाहिँ पढ्छु । मलाई मनपर्ने किताब ‘वान हन्ड्रेड इयर अफ सोलिच्युड’ हो । अनि मलाई पारिजातका उपन्यास कविता पनि निकै मन पर्छ ।
तपाईंले काम गरेको चलचित्र रुदाने कहिले प्रदर्शनमा आउँछ ?
रुदानेको सुटिङ सुरु भएको चार वर्ष हुनै लाग्यो । सुटिङ चाहिँ अझै पूरा भएको छैन । चलचित्र कहिलदेखि आउँछ त्यो म अहिले भन्न त सक्दिनँ । तर, यति धेरै दर्शक हेर्न आतुर हुनुहुन्छ आशा गरौँ– चलचित्र छिट्टै आउँछ । हामीले त्यसमा धेरै मेहनत गरेका छौँ हामीलाई त्यो चलचित्र छिट्टै पुरा गर्न मन छ ।
तपाईंलाई के लाग्छ ? नेपाली सिनेमाले कस्तो विषयवस्तुहरू सिनेमा मार्फत ल्याउनुपर्छ ?
नेपालमा पछिल्लो समय दर्शकले मन पराउने मौलिक कथा, हाम्रो आफ्नो कथा नै हुन् जस्तो लाग्छ । नेपाली चलचित्रमा आउन पनि यस्तै कथा आउनुपर्छ । हामीले हलिउड बलिउडलाई कपी गर्नभन्दा पनि आफ्नै कथा ल्याउन जरुरी पनि छ ।
जस्तो कि पछिल्लो समय चलिरहेको चलचित्र ‘आमा’, केही वर्षअघि आएका चलचित्र ‘लुट’, ‘पशुपतिप्रसाद’हरूले पनि हाम्रै विषयवस्तु ल्याएका थिए । हाम्रो समाजमा देखाउनुपर्ने धेरै विषयवस्तु छन् । तिनीहरूलाई नै हाम्रै भाषामा ल्याउन जरुरी छ । सबै मानिसको सरोकार भएका विषयवस्तु ल्याउन जरुरी छ ।
तपाईं सिने जगतमा आउनुको विशेष कारण केही छ ? अथवा यस क्षेत्रमा काम गरिरहँदा सबैभन्दा धेरै प्रेरणा कसैबाट पाउनुभएको छ ?
सानैदेखि अभिनय मन पथ्र्यो त्यही कारणले नै यहाँसम्म आइपुगेको छु । मलाई फरक फरक समयमा फरक फरक व्यक्तिको अभिनयबाट मलाई प्रेरणा मिलिरहेको हुन्छ ।
नेपाली सिनेमाको बजार कस्तो लाग्छ ?
मैले देखे अनुसार नेपाली सिनेमाको बजार खासै व्यवस्थित छैन । बलिउड, हलिउडतिर ‘बक्स अफिस’ सिस्टम छ । कुन चलचित्रले कति व्यापार गर्योदेखि धेरै कुरा थाहा हुन्छ । जसले गर्दा नयाँ आउने निर्माताहरूलाई पनि सहयोग हुन्छ । हाम्रोमा चाहिँ पुरानै सिस्टममा छ । त्यसकारण पनि यसलाई व्यवस्थित बनाउन जरुरी छ । सिनेमाको बजार पनि अलिक खुम्चिएको छ । नेपाली सिनेमा नछुटाई हेर्नेको बजार पनि निकै कम छ । साथसाथै नेपाल सरकारले रचनात्मक क्षेत्रलाई पनि प्राथमिकता दिन जरुरी छ ।
अभिनय बाहेक अरू बिशेष सोख केही छ ?
म अभिनय बाहेक क्रिकेट खेल्न रुचाउँछु । काठमाडौँमा क्रिकेट खेल्ने राम्रो स्पेस नभए पनि मिलेसम्म क्रिकेट खेल्छु ।
अन्तिममा ‘हिजो आजका कुरा’को बारेमा केही भन्दिनुस् न । किन दर्शकले ‘हिजो आजका कुरा’ हेर्ने त ?
‘हिजो आजका कुरा’ टिभीमा आउँदादेखि नै धेरै नेपालीको मन मुटुमा बसेको टेलिसिरियल थियो । सामाजिक मुद्दाहरू कमेडी तरिकाले देखाउनु यसको विशेषता थियो । अहिले अलिकति ठूलो पर्दामा फरक संरचनामा आउँदैछ । तर पनि यसमा विषयवस्तु चाहिँ समाजका ‘हिजो आजका कुरा’ नै छन् । यसले हाम्रो घरपरिवारकै कुरा ल्याएको छ– सिनेमा मार्फत । ‘हिजो आजका कुरामा तीन पुस्ताको फरक फरक अभिनय छ’ । त्यसकारण पनि यो चलचित्र अलि फरक बनेको छ । हाम्रै घरघरको कथा भएकाले दर्शकले यो चलचित्र हेर्नैपर्छ भन्ने लाग्छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३