Logo

शुक्रवार, आश्विन २ गते २०७७

झोला‍‍‍...

झोला‍‍‍...


झोला‍‍‍...
  • भेषराज बुढाथोकी/कथा

कमेरो माटोले पोतिएको अँध्यारो कोठाको कथा हो यो । यो कोठा भान्छा कोठाको छिमेकी हो। यो कोठा भान्छा कोठासँग जोडिएको छ। भौतिक रूपले मात्रै नजिक छैन, आत्मीय रूपले झन् नजिक छ । लाग्छ, भान्छा कोठा रोईरहेछ, आँशु यो कोठाले बगाइरहेछ।

भान्छा कोठामा जे जे पाक्छ, यी सबै कुराको पूर्ति यस कोठाले गरिदिन्छ। भान्छा कोठाबाट निस्केको धुँवाको मुस्लोले यस कोठाका भित्ताहरू काला छन्। यस्तै कालो हुँदो हो, चुरोट पिउनेहरूको फोक्सोको भित्ता। टाढाबाट हेर्दा कालो रङग पोतिएको आभास हुन्छ। मैँले कान्छी बहिनीलाई रिसाउँदा उसको अनुहार पनि यो कोठा जस्तै कालो भइजान्छ। आखिर यो कोठाको र मेरो कान्छी बहिनीको राशी एउटै त रहेछ। दुवैको नाम ‘क’ बाट शुरू हुन्छ।

अँध्यारो कोठाको दायाँ तिरको कालो भित्तामा पुरानो काठको किलो ठोकिएको छ। यसलाई यहाँको स्थानीय भाषामा गाउँलेहरू ‘घोड्किलो’ भन्छन्। यसको न्वारन कसले गर्यो, कहिले गर्यो भन्ने कुरा तिर हामी नजाऔँ। यो घोड्किलो केही चिज झुन्ड्याउन प्रयोग गरिन्छ। डोरी, रसी, झोला, प्लास्टिक झोला, पोलिथिन, थैली आदी यसै घोड्किलोमा झुण्ड्याईएको देखिन्छ। गाउँका सनातन घरहरूमा यो सजिलै भेटिन्छ। सबैको घर घरमा यसको उपस्थिति छ। घरको भित्री कोठा देखि बाहिरी दलिन सम्म घोड्किलो कहीँ न कहीँ भइहाल्छ। नयाँ बनेका घरहरूमा चाहि यसको प्रयोग घट्दो छ। यो प्रायशः ‘चरा’ आकारको हुन्छ। कहीँ कतै मृग, कुकुर आकारको पनि भेटिन्छ।

हाम्रो घरको अँध्यारो कोठामा भएको घोड्किलोमा एउटा कालो झोला झुन्ड्याएको छ। कालो रङ्गको झोला, टन्न सामान भरिएको जस्तो देखिन्छ। खाना खाने बेला, पानी पिउने बेला, भान्छा कोठा भित्र पस्दा, निस्किदाँ मेरो नजर त्यहीँ झोलामा गएर ठोक्किन्छ। जहिल्यै मनमा एउटा प्रश्नले डेरा जमाएर बसेको छ, त्यो झोला भित्र के होला ? बारम्बार पिरोलीरहन्छ यो प्रश्नले। यो झोला बुवाको झोला हो भनेर आमैले अस्ति नै भनिसक्नु भएको छ। म झोला खोलेर हेरी हाल्थेँ नि तर डर लाग्छ। मेरा बालाई हामी केटाकेटीले सामान चलाएको कत्ति मन पर्दैन। केही गरि उहाँले उहाँको सामान चलाएको थाहा पाउनुभयो भने उहाँको अनुहार जंगलको भोको बाघको अनुहारसँग समान भइजान्छ। यसैले पनि झोला खोल्ने हिम्मत आएन, आएको साहस पनि धेरै टाढा गयो मेरो तनबाट। ूझोला भित्र के होला?’ यो प्रश्नको शल्यक्रिया यसपटक पनि भएन।

एक दिन साँझ पख दलिनमा बसी रहेको थिएँ। भख्खरै गुँड छोडेका कुखुराका बच्चाहरू आँगनमा खेलिरहेका थिए । यो दृश्यले मन लोभ्यायो। झन् गहिरिएर दृश्यावलोकन गर्न लागेँ। बच्चाहरूकी आमा कुखुरीले चारो टिप्न सिकाइरहेकी थिई। मैँले मलाई सम्झिएँ। मेरा आमा बाले पनि आजसम्म हामी छोराछोरीहरूलाई चारो टिप्न सिकाईरहेकै छन्। हामी ती कुखुराका बच्चाहरू जस्तै आफ्नो चारो आफैँ टिप्न सक्ने, खोज्न सक्ने स्थितिमा अझै पुगेका छैनौँ। हामी आफ्ना बा आमाकै चारोका भरमा बाँचीरहेका छौँ आजसम्म। बिहान उहाँकै चारो, साँझ उहाँकै चारो। यसर्थ म बा आमाकै होटेलभित्र छु– आजसम्म। पानी परेको बेला अनि अन्य जनावरहरू जस्तै कुकुर, बिरालो आदी नजिक आउँदा कुखुरी आफ्ना पखेटाहरूले सबै बच्चाहरूलाई छोप्छे। वाह! जनावरहरूमा पनि यो स्तरको माया, यो ढंगको प्रेम। आमाको माया सबैभन्दा गरुङ्गो हुँदो रहेछ। यो पटक मेरा आँखाहरू ओभाना रहेनन्!

दलिनमा गुन्द्री ओछ्याएर बसीरहेकै थिएँ। गाउँको एक जना भाई आयो। उसले भन्यो, ‘दाइ! आज ठूला बा, ठूल्यामा नआउने रे। आज दुवै जना मन्दिर जाने रे। मेरा बा आमा पनि उतै छन्। भाई बहिनीलाई राम्ररी खाना पकाएर खुवाउनु रे!’ मैले हस भनेर टाउको हल्लाएँ। भाई उसको घरतिर लाग्यो।

मेरो मन खुशी भयो। प्रफुल्लित मुद्रामा मैँले लामो श्वास फेरेँ। युद्ध जितेको सिपाही जस्तै आभास भयो। मयुर नाँचे जस्तै नाँचे, खुशीले। यो पटक खुशी मेरो बाटो हुँदै आयो, नत्र उधारो खाएको ग्राहक झैँ म बाट टाढै भाग्थ्यो, खुशी। आज मेरो मनमा डेरा जमाएर बसेको प्रश्नको अन्त्य हुने भयो। ‘झोला भित्र के होला?’ यो प्रश्नको आज शल्यक्रिया सफल हुने भयो भन्ने कुराले हृदयमा खुशीको आगो बल्यो दनदनी दनदनी। भख्खरै फक्रिएको गुलाबको फूल जस्तै फूल्यो, हृदय।

म घरभित्र पसेँ। सिधै पसेँ, झोला भएको कोठा भित्र। कोही नभएको मौका छोपी घोड्किलोमा झुन्ड्याएको झोला झिकेँ। दलिनको गुन्द्रीमा बसेँ। खोलेँ झोला। झोला भित्र आधा दर्जन बढी बा’का डायरीहरू भेटेँ। ‘शिक्षा नियमावली’ भन्ने किताब भेटेँ। दुई चार ओटा कलम, तीन ओटा जती मार्कर, एउटा डस्टर आदी देखेँ। यो झोला मास्टरकै हो भन्ने पुष्टि भयो। झोला हेर्दै जाँदा ‘प्रभात शैक्षिक मञ्च मासिक’ नाउँको एक सानो किताब भेटेँ। त्यो पल्टाउँदै जाँदा त्यो पत्रिका भएको थाहा पाएँ। उक्त पत्रिका सुदुरपश्चिम प्रदेशबाट हरेक महिना प्रकाशित हुने मासिक शैक्षिक पत्रिका रहेछ। त्यो पत्रिकाले सुदुरपश्चिम भित्र भई रहेका शैक्षिक गतिविधी, शैक्षिक सामाग्रीहरूका साथसाथै ‘रोचक विश्व’ ब्लगमा अचम्मका समाचार प्रकाशित गर्ने रहेछ।

पत्रिका पल्टाउँदै गएँ। भित्र लेखिएका कुराहरूले खासै छोएन। लगभग एक-तिहाई पृष्ठ मैँले पल्टाईसकेपछि एक पेजमा म टक्क रोकिएँ। मेरा औँलाहरू त्यो भन्दा अगाडी जान सकेनन्। आँखाहरूलाई अक्षरका माला शब्दहरू तिर दौडाएँ। एक अनौंठो समाचार भेटेँ। यो समाचार ‘रोचक विश्व’भित्रको हो ।

‘पत्नि पीडितहरूका लागि आश्रम निर्माण’ शीर्षकको समाचार थियो। पढ्दै गएँ। यो आश्रम भारतको महाराष्ट्रबाट बाह्र किलोमिटर टाढा मुम्बई हाईवेको छेऊ तिर रहेछ। त्यहाँ धेरै पत्नि पीडित बस्ने रहेछन्। यो आश्रमको सुरूवात भारत फुलारे नामक व्यक्तिबाट भएको रहे। उनि स्वयंम पत्नि पीडित रहेछन् । त्यसपछि उनि लगायत अरू चार जना पत्नि पीडितहरूको समूह बनेछ। यिनीहरूले यो आश्रम सन् २०१६ को पुरूष अधिकार दिवसको दिन उद्घाटन गरेछन्। त्यसको नाम दिएछन्, ‘पत्नि पीडितहरूको आश्रम।’ अहिले त्यो आश्रममा छत्तिसगढ, गुजरात, कर्नाटक, आन्द्रप्रदेश लगायतका राज्यका पत्नि पीडित बस्दै आएका रहेछन्।

आश्रममा आउने पत्नि पीडितहरूका लागि बस्नलाई निश्चित मापदण्ड तय गरेका रहेछन्। आश्रममा बस्ने आउनेहरू माथि पत्निले दर्जन बढी मुद्दामा दर्जन बढीपटक जेल पुर्याएको हुनुपर्ने, स्वास्नीकै कारण रोजगार गुमेको हुनु पर्ने, अर्को बिहे गर्न मन नभएको हुनुपर्ने, आफूले जानेको काम गर्न राजी हुनुपर्ने, पत्निले घरबाट एक्लो पारेको हुनु पर्ने आदी आदी मापदण्ड तयार गरेका रहेछन्। त्यो आश्रममा बस्ने पत्नि पीडितहरू बिहान र बेलुकी कागको मूर्तिलाई पुजा आजा गर्ने रहेछन्। आश्रममा बस्ने पत्नि पीडितको मान्यता अनुसार पोथी काग फुल पारेपछि उडेर जान्छ। तर भाले कागले अण्डा तथा बच्चाको पालन पोषण गर्दछ। यस्तै अवस्था पत्नि पीडितहरू को हुने भन्दै उनीहरूले कागको मुर्तीमा पुजाआजा गरेका रहेछन्। उक्त पत्नि पीडित आश्रममा पत्निबाट पीडित भएका, पत्निसँग घरव्यवहार राम्रो नभएकाहरू मनोपरामर्श लिन पनि आउने सक्ने रहेछन्। त्यहाँ आवश्यक सल्लाह र कानुनी लडाई लड्नका लागि सहयोग उपलब्ध गराइदो रहेछ।

पत्रिका पढिसकेपछि जस्तो अवस्थामा थियो त्यहीँ अवस्थामा राखेँ। झोला बन्द गरे। झोलालाई पुरानै ठाउँमा राखेँ। पत्रिका पढीसकेपछि सोचेँ, समाज विचित्र छ। यहाँ नारीहरू मात्रै कहाँ पीडित छन् र? पुरुषहरू पनि उत्तिकै शोषित, पीडित छन्। नारीहरूका कथा थुप्रैले लेख्छन्, नारीवादका कथा थुप्रैले लेख्छन् तर पुरूषहरूको बारेमा यहाँ कसले लेखिदिने? अब हामी पुरूषहरूले लालटिन बालेर दिउँसै पुरूषवाद खोज्न सडक धाउनु पर्ने दिन धेरै टाढा छैन। त्यसैले महिला मात्रै पीडित छन् भन्ने भ्रम त्यागौँ। अपराधीको कुनै जात, वर्ण, लिङ्ग हुँदैन। ती केवल अपराधी हुन् भन्ने मानसिकताको विकास गर्न जरूरी छ।

 

 

 

कामना न्यूज

  • शनिवार, श्रावण २४ २०७७११:५६:२७
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा