Logo

शुक्रवार, आश्विन २ गते २०७७

धरापमा परेका व्यवसायलाई बैँकको सहुलियतले मात्र पुग्दैनः सिइओ शाह

धरापमा परेका व्यवसायलाई बैँकको सहुलियतले मात्र पुग्दैनः सिइओ शाह


धरापमा परेका व्यवसायलाई बैँकको सहुलियतले मात्र पुग्दैनः सिइओ शाह

काठमाडौँ । बैँकिङ क्षेत्रमा गर्वीलो छाप छाड्न सफल अनिल केशरी शाह हाल नबिल बैँकको सिइओमा कार्यरत छन्। उनलाई बैँकिङ क्षेत्रका मानिसहरूले सफल सिइओका रूपमा चिन्छन्। उनको व्यक्तित्व जति आकर्षक देखिन्छ– उनको नेतृत्वदायी भूमिका उत्तिकै खुलेको देखिन्छ । उनले भारतको दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर गरे छन्। अमेरिकाको हार्वड विश्वविद्यालयबाट ‘२१ औँ शताब्दीका लागि नेतृत्व’ विषयमा विशेष अध्ययनसमेत गरेका छन्।

शाहले जे अध्ययन गरे, त्यो कुरा व्यवहारमा उतारे। उनले स्टान्डर्ड चार्टड बैँक नेपालबाट आफ्नो करियर सुरु गरेका थिए। उनले स्टान्डर्ड चार्टडमा १३ वर्ष काम गरे। मेगा बैँकको स्थापना कालदेखि सिइओ बनेका उनले दुई कार्यकाल काम गरे, अर्थात २ वर्ष।

अहिले देशभर कोरोनाभाइरसका कारण जनजीवन प्रभावित भएको छ। यस्तो अवस्थामा समेत बैँकिङ क्षेत्रलाई आधारभूत सेवाका रूपमा लिने शाहले काम गर्दै आइरहेका छन् । यसै सन्दर्भमा अनिल केशरी शाहसँग कामना न्यूजका संवाददाता भीमा पन्थीले गरेको कुराकानीः

कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै धराप बनाएको अवस्थामा नबिल बैँकमा कस्तो प्रभाव परेको छ ? यसपाली पनि गतवर्ष जस्तै प्रगति होला ?

अवश्य पनि, कोरोना भाइरसको प्रभाव समाज, अर्थतन्त्र र राष्ट्रमा परेको छ । कोरोनाका कारण चौतर्फी प्रभाव हुँदा हाम्रो संस्थालाई नछुने कुरै हुँदैन । तर, निराशजनक स्थिति र्सिजना भएको छैन ।
कोरोनाको प्रभाव बढ्दै गर्दा नबिल बैँकले चालू आर्थिक वर्षमा राम्रो प्रगति गर्छ भन्ने हुँदैन । अहिलेको अवस्था ‘सिक्ने र सिकाउने’ हो । त्यसैले राष्ट्र, कम्पनी वा पारिवारिक रुपमा आगामी वर्ष दिनमा के हुन्छ, भन्न सकिदैन । परिस्थितिलाई नियाल्दै अगाडि बढेको दैनिकीमा मासिक वा वार्षिक स्थिति यकिन गर्न सकिदैन । यदि, कसैले भन्छ भने त्यसमा सत्यता हुँदैन ।

पहिलो कुरा, बैँकले आफू बाँच्नका लागि ग्राहक बचाउनु पर्छ । ग्राहक नभए बैँक बाच्न सक्दैन । त्यसैले हामीले हाम्रो संस्थाको व्यवस्थापन हेरेर मात्र हुँदैन । ग्राहकलाई पनि व्यवस्थापन गर्न सक्नु पर्छ । अहिले हाम्रो लागि एकदम जटिल छ । पहिलो त्रैमासिकमा कोरोनाको प्रभाव अझै यथावत् रहला । पछि कोरोनाको भ्याक्सिन आयो भने केही सहज होला ।

बैँक तथा वित्तिय क्षेत्रमा छोटो समयमा सर्भाइवल, मध्ये चरणमा रिभाइवल र अत्यमा ग्रोथ हुने हो । अहिले हामी सर्भाइवलको चरणमा छौँ । आगामी वर्षको प्रगति विवरण अझै यकिन गर्न सकिन्न ।

कोरोनाले धरासायी बनेका आफ्ना ग्राहकका लागि नबिल बैँकले कस्ता कार्यक्रम ल्याएको छ ?

हामीले ‘लकडाउन’को पहिलो महिनादेखि नै ऋणको पोर्टफोलियोलाई रातो, पहेलो र हरियोमा विभाजन गरेका छौँ । रातो भनेको धेरै प्रभावित क्षेत्र, पहेलो भनेको मध्यम र हरियो भनेको हल्का प्रभाव क्षेत्रहरु हुन् । यही, वर्गीकृत प्रभावित क्षेत्रका आधारमा हामी ग्राहकसँग छलफल गरिरहेका छौँ ।

प्रभावित क्षेत्र वर्गीकरण गर्दा हामीले ग्राहक विशेषमा आधारित बनाएका छौँ । जस्तो टुरिजमको व्यावसाय बढी प्रभावित भएको छ, भनिरहँदा आन्तरिक टुरिजममा आश्रित भएका क्षेत्रमा केही कम असर पर्छ । उनीहरुलाई रेड जोनमा राख्न सकिदैन, तर टुरिजममा जो व्यावसायी बाह्य पर्यटनमा आश्रित रहेका छन्, उनीहरुलाई रेड जोनमा राख्नुपर्ने हुन्छ । सबै रेड जोनका व्यावसायी एकै किसिमको राहतले हुँदैन । त्यसैले हामी यो विषयमा गम्भीर भएर लागेका छौँ ।

घर भाडा तिर्न नसकेर धरासायी भएका व्यावसायीलाई बैँकले सबै ऋण छाडे पनि यसको अर्थ हुँदैन । किस्ता र ब्याजमा सहुलियत दिएर हुँदैन । तसर्थ, देशको अर्थतन्त्र बचाउन सरकार तथा संस्थाले आवश्यकता अनुसार आ—आफ्नो स्थानबाट व्यवसायीलाई सहुलियत दिन सक्नु पर्छ ।

नबिल बैँक ३६ औँ वर्षमा लाग्दै गर्दा ‘स्क्यान एन्ड विथ ड्र’ नामक डिजिटल सेवा सुरु गर्यो, जुन नेपालमा नयाँ हो, यो सेवाबाट कति ग्राहक लाभान्वित होलान् ? यसलाई प्रवद्र्घन गर्न कत्ति चुनौती होला ?

डिजिटल प्रविधिलाई प्रोत्साहन गर्न नयाँ सेवा प्रवद्र्धन गर्नु भनेको समयसापेक्ष चल्नु हो । यो सुरुवात मात्र हो, त्यही पनि ग्राहक वर्गबाट सकरात्मक विचार पाएका छौँ । जसले गर्दा हामी प्रोत्साहित भएका छौँ ।

आगामी दिनमा अझै यस्ता कार्यलाई निरन्तरता दिने छौँ । नयाँ चिजलाई सबैले प्रयोगमा ल्याउन समय लाग्छ । तर, समय लाग्छ भन्दैमा नल्याउने भन्ने हुँदैन । नयाँ प्रविधिमा पहिला अपडेट हुने भनेको युवा पुस्ता नै हो । ग्राहकहरु यसप्रति लाभान्वित हुनुहुन्छ भन्नेमा म ढुक्क छु । र, अहिले अरु वित्तिय संस्थाले पनि सेवा ल्याउनु भएको छ । यो राम्रो पक्ष हो ।

राष्ट्र बैँकले नयाँ वर्षको मौन्द्रिक नीति सार्वजनिक गरिसेको छ । जसका लागि तपाईहरुले स्प्रेड दर घटाउने तथा सिसिडी रेसियो बढाउनु पर्ने जस्ता सुझाव पनि दिनु भएका थियो । त्यसमध्ये तपाईका सुझाव कति समेटिए, कति माग पूरा भए ? सरकारले कमर्सियल बैँकलाई कत्तिको प्राथमिकतामा राखेर मौन्द्रिक नीति लियो ? के छ यसमा तपाईको धारणा ?

जुन मौन्द्रिक नीति आएको छ, त्यो सकरात्मक छ । हामीले सुझाएको सबै कुरा आएको छैन, तर धेरै कुरा आएको छ । यसलाई हामीले भनेको सबै कुरा भयो भन्न सकिदैन । हाम्रा कुराहरु सुनुवाई नै भएन भन्ने होइन । म नबिल बैँकमा भएकाले मैले हेर्ने यही नै हो भने सरकार तथा गर्भनरले पूरै वित्तिय क्षेत्र हेर्नु पर्ने हुन्छ । त्यसकारण हामीले भनेका सबै कुरा हुनुपर्छ भन्ने हुँदैन ।

यो अवस्थामा बैँक तथा वित्तिय क्षेत्रले रिकभरीको धेरै अभिभार बोक्नुपर्ने हुन्छ । अहिलेको परिस्थितिले प्रफिट एन्ड लसलाई नकारात्मक प्रभाव पर्छ, तर ब्यालेन्ससिटलाई कसरी व्यवस्थापन गर्ने भनेर फोकस गर्नुपर्छ । छोटो समयका लागि ठीकै हो, तर लामो समयका लागि अप्ठारो हुन्छ कि भन्ने छ । अर्थतन्त्र बाँचे हामी बाच्ने हो । तसर्थ हामी सकरात्मक छौँ, तर पूर्ण छैनौँ ।

राष्ट्र बैँकले विगतदेखि नै मर्जरका लागि बैँक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्दै आएको छ, अहिले पनि विभिन्न शीर्षकमा सहुलियत दिएको छ । तर, नबिल बैँकले त्यत्ति चाँसो देखाएको छैन, आगामी दिनमा नबिलले मर्जरको बाटो खुल्ला गर्ला त ? यससम्बन्धमा कस्तो नीति लिएको छ ?

मर्जर आफ्नो संस्थाको आवश्यकताअनुसार गर्ने कुरो हो । सरकारले जसरी मर्जरलाई प्राथमिकता दिएको छ, त्यो सरकारको रणनीतिमा सही हो । तर, यसो भन्दैमा सबै मर्जमा जानुपर्छ भन्ने हुँदैन । र कहिल्यै मर्जमा जान हुँदैन भन्ने पनि होइन ।

नबिल बैँक पनि राम्रो पाटनर पायो, भने मर्जमा जान्छ । मर्जका लागि ढोका खुल्ला छ । हामी राम्रो पार्टनरको खोजीमा छौँ ।

नबिल बैँकको कम्पनी नेप्सेमा सूचीकृत भएर कारोबार भइरहेको छ, गत वर्ष तपाईंहरुले ३५ प्रतिशत को हाराहारीमा क्यास डिभिडेन्ट र स्टक डिभिडेन्ट दिनु भएको थियो, तर अहिले शेयर बजारमा पनि कोरोनाको प्रभाव परेको अवस्था छ, कोरोना प्रभावले आगामि वर्षमा नबिलको शेयर बजारमा कस्तो प्रभाव पर्ला ? सेयर होल्डरलाई नबिलले कस्तो प्रतिफल देला ?

राष्ट्र बैँककले मौन्द्रिक नीति सार्वजनिक गर्दा कोरोनाको प्रभावलाई प्राथमिकतामा राखेर ल्याएको छ । क्यास डिभिडेन्टलाई एकदम लिमिट बनाइएको छ । क्यास डिभिडेन्ट त पक्कै पनि कम नै आउँला, ३ महिना पूरै कारोबार भएको छैन । जसले गर्दा छोटो अवधिका लागि त केही प्रभाव पर्ला तर, नबिल जस्तो बलियो कम्पनी लामो समयसम्म पक्कै रिकभर हुन्छ ।

आर्थिक तरलता बढिरहेको अवस्थामा यसको व्यवस्थापन तथा कर्जा प्रवाहमा नबिलको नीति के हुँदै छ ?

अहिले लोनको अपडेट नै नभएको अवस्था छ । कारोबार शुन्य भएको छैन । आउने दिनमा के हुन्छ हामीले हेर्नुपर्ने हुन्छ । आउने दिनमा लोन कसरी बढ्दै जान्छ, लोन बढेपछि हाम्रो अहिलेको बढिरहेको तरलता कसरी व्यावस्थापन हुन्छ, त्यो सबै हेर्नु पर्ने हुन्छ । अबको ३ महिना थप कठिन रहन सक्छ त्यसपछि भने सम्भावना राम्रो हुन्छ ।

आगामी दिनमा नबिल बैँकको कार्ययोजनाहरु केके छन् ?

हामीले डिजिटल बैँकिङलाई एकदम प्रोत्साहन गरेर अगाडि बढ्ने हाम्रो मुख्य उद्देश्य हो । यो सँगसँगै सरकारले साना तथा मध्यम इन्टरप्राजजहरुलाई प्रोत्साहन गर्ने भनेको छ । यसमा पनि हामी सकरात्मक नै रहेका छौँ । यतातर्फ हामीले के कस्ता योगदान दिन सक्छौँ, भनेर लागेका छौँ ।

हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा २६/२७ वटा कमर्सियल बैँकहरु छन्, जबकी इन्टरनेशनल मोनोटरी फन्डलगायत अर्थविद्ले नेपालमा १५/२० कमर्सियल बैँक भए पुग्छ, के नेपालको सन्दर्भमा यी बैँक आवश्यक छन् त ? कतै भविष्यमा नराम्रो प्रभाव त पर्दैन ?

बैँकहरु नेपाल राष्ट्र बैँकबाटै लाइसेन्स लिएर सञ्चालित छन् । यो कुरा राष्ट्र बैँकले मूल्याङकन गर्ने हो । देशको अर्थतन्त्रले त्यत्ति ठूला फड्को मारेको छैन । जबकी पहिले चाहिने र अहिले नचाहिने भन्नलाई । परिस्थिति र नीति तथा कार्यक्रमहरु त्यस्तै आउँछन्, भने हामी सरकारका नीतिअनुसार संख्या कम गर्न सक्छौँ । तर १०/१२ वर्ष पहिला म स्वयम राष्ट्र बैँक लाइसेन्स लिन जाँदा प्रतिस्पर्धामा किन नडराउनुस् भन्ने प्रतिकृया आएका हुन् । यो नियमक निकायले ध्यान दिने कुरा हो ।

कामना न्यूज

  • बिहिवार, श्रावण २२ २०७७०५:२१:३०
सम्बन्धित समाचार
विशेष सबै
  • कोरोना विजेताहरूभन्छन्, ‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

    काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा