Logo

सोमवार, चैत्र ३० गते २०७७

images
images
images
images

मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 


मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट नेपाल दुईतर्फी मारमा परेको छ । नेपालबाट हुने नेपालीको बेचबिखन तथा तस्करी, यस क्षेत्रलाई ‘ट्रान्जिट’ बनाएर गरिने गतिविधि एवं अरू देशबाट तस्करी गरि ल्याएकाहरुको आश्रयस्थल नेपाललाई बनाइनुले यो समस्या निकै जटिल छ । यस गंभिर प्रकृतिको अपराधलाई निरूत्साहन गर्न र यस अपराधबाट पीडित हुन नदिन चारैतर्फबाट अग्रसरता देखिएको छ । 
  
मानव बेचबिखन तथा तस्करीसँग लागूऔषध र हतियारको व्यापार पनि जोडिएरै आएको देखिन्छ । यी अपराधबाट हुने आम्दानीको लगानी आतंकवादी गतिविधि तथा मानव अधिकारका बिरूद्धमा पनि लक्षित रहेका हुन्छन् । नेपाल प्रहरीले मुख्य कार्यालयमार्फत हेर्ने गरेको यस्ता अपराधहरुको अनुसन्धान र निरूत्साहनका लागि राजधानी (काठमाडौं) केन्द्रित छुट्टै ब्यूरोहरू मार्फत काम कारबाही हुनेगर्छ ।
नेपाल सरकार (मन्त्री परिषद) ले २०७५ साल जेष्ठ २७ गतेको निर्णयानुसार मानव वेचबिखन अनुसन्धान ब्यूरोको स्थापना गरिएको हो । ब्यरोले २०७६ साल बैशाख २९ गतेबाट कानुन किताब व्यवस्था समितिको भवनमा कार्यालय स्थापना गरि कार्यारम्भ गरेको छ । ब्यूरोको कामलाई विशिष्टिकृत गर्दै २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्री परिषद्) निर्णय भई प्रहरी नियमावली २०७१ मा सातौ संशोधन गरेर यस ब्योरोको लागि कार्यादेश प्राप्त भएको हो भने २०७६ असोज १३ गतेको प्रहरी नियमावली २०७१ मा सातौ संशोधन नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको छ ।

मानव अंग व्यापार, बिवाह, मनोरंजन, यौनजन्य क्रियाकलाप, निकृष्ट श्रम, रोजगार, बधुवा मजदूरी, गुलामी, बच्चाको जन्म, लालनपालन, लागूऔषध एवं हतियार ओसारपसारसहितको काममा प्रयोग हुनेहरू बेचबिखन र तस्करीको माध्यमबाट यस अपराधको जंजालमा जकड्एिको अध्ययनले देखाउँछ । नेपालको सुरक्षा निकाय, बिभिन्न गैरसरकारी संघसंस्थाबाहेक मानवअधिकार आयोगले समेत मानव बेचबिखन तथा तस्करीको घटनासँग सम्बन्धित प्रतिबेदनहरू बर्षेनि प्रस्तुत गरिरहेका छन् । आधुनिक दास बनाउन समेत अहिले मानव बेचबिखन तथा तस्करी हुन थालेको पाइन्छ । आधुनिक दासलाई आफू बेचिएको महसुस गर्न बर्षौ लाग्ने गर्दछ अथवा स्वेच्छाले स्विकार गरेको श्रमको प्रकृति बधुवा मजदूरजस्तो रहेको महसुस भएपनि उन्मुक्ति पाउन सकिरहेको हुँदैन ।

नेपालबाट बर्षेनि वैध एवं अवैध मार्गबाट मानव तस्करी भइरहेको घटना बाहिर आउने गरेका छन् । बेचबिखनका लागि मानव तस्करीको आधुनिक रूप हालका दिनमा हेर्न सकिन्छ । विभिन्न पत्रपत्रिकामा सँगै क्यानाडा, अमेरिका, युरोप, जापान लग्ने, बिदेशमा बस्ने युवकसँग बिवाह गर्ने केटी चाहियो भन्ने किसिमका बिज्ञापन दिनहुँ हेर्न सकिन्छ । केही बिज्ञापन सत्य भएको हुनसक्ने आधार भएपनि अधिकांश शंकाको घेरामा रह्ने गर्दछ तर यस बिज्ञापनमाथि विश्वास गरेर बेचिएका घटना बाहिर नआएका भने होइनन । तथापि पत्रपत्रिका र सामाजिक संजालहरूमार्फत समेत मानव बेचबिखनको अपराध हुने गरेको छ । 

बैदेसिक रोजगारको लागि वैधमार्गबाट सम्बन्धित देशमा नै मानवको बेचबिखन गर्ने गरिएको उजुरी नेपाल प्रहरीमा पर्ने गरेको छ । अर्कोतर्फ अवैध मार्ग भएर भारत एवं भारतबाट अन्य देशमा मानव तस्करी भई बेचबिखन भइरहेको विषयमा पटक पटक आमसंचारमाध्यम बहस हुनुका साथै राष्ट्रियस्तरमै अभियानहरु चलाउने गरिएको छ । असाक्षरता, विपन्नता र रोजगारीको लोभले कत्तिखेर तस्करको जालमा नेपाली फस्छन्, पत्तो नै पाउँदैनन् ।

प्रत्येक बर्ष झण्डै ३५ हजारभन्दा बढी महिला, पुरुष एवं बालबालिका बेचबिखन भइरहेको बिभिन्न अध्ययनहरुबाट देखिएको नेपाल मानवअधिकार आयोगले २०७६ सालको प्रतिवेदनमा समेत औंल्याएको छ । जसमध्ये बेचबिखन भई पुग्नेहरू भारत, खाडी देश, युरोप,अफ्रिका,अमेरिकालगायत क्षेत्र तथा देशबाट थोरै संख्या मात्र उद्धार हुने गरेका छन् । सुरक्षाकर्मीबाट उद्धार हुने संख्या बढीमा तीनहजार रहेपनि विभिन्न संघसंस्थाहरुले यो संख्या १० हजार पुग्ने गरेको दाबी गर्दै आएका छन् । त्यस्तै भारतीय सुरक्षाकर्मीले समेत बर्षेनि त्यहाँबाट बेचिएका र तस्करी भई पुगेकाहरूको उद्धार गर्दै आएको छ भने भारतस्थित राष्ट्रिय महिला आयोग लगायतका संस्थाहरू यस कार्यको नेतृत्व गर्दै आएका छन् । 

मानवअधिकार आयोगले गतबर्ष प्रकाशन गरेको प्रतिवेदनले झण्डै १५ लाख नेपाली मानव बेचबिखन तथा तस्करीको जोखिममा रहेको उल्लेख गरेको छ । नेपालको सीमानासँग जोडिएको भारत विहार नाकाहरूमा भारतीय सशस्त्र सीमा बलले मानव तस्करी र बेचबिखनबिरूद्ध छुट्टै टोली समेत परिचालन गरेको छ । नेपालको हिमाली र पहाडी क्षेत्रबाट अत्याधिक महिला तथा बालबालिका एवं तराईको क्षेत्रबाट अत्याधिक बालक तथा पुरुष तस्करी भई भारतीय निकृष्ट श्रम बजारमा पुग्ने गरेका छन् । 

नेपालमा हराएका बालबालिका तथा महिला, पुरुषमध्ये बढीमा ५० प्रतिशत मात्र फेला पर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । हराएकामध्ये थोरै ब्यक्तिको उद्धार भारतबाट हुने गरेको पाइन्छ । त्यही नेपालमा तस्करी एवं बेचबिखन भई आएका भारतीय, बाङ्गलादेशी, बर्मेलीलगायतका बिदेशी नागरिकबारे अध्ययन हुन सकेको देखिँदैन भने नेपालमै नेपालीको बेचबिखन एवं अन्तरजिल्ला मानव तस्करीबारे धेरै अध्ययन हुन बाँकि छ ।

बैदेसिक रोजगारका लागि २०५० सालबाट हालसम्म झण्डै ५० लाख मानिसले श्रमस्वीकृति लिइसकेको बुझिन्छ । अहिले झण्डै बार्षिक ७ लाख ५० हजार मानिसले श्रमस्वीकृति लिन थालेको राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ । भारतबाहेकको देशमा काम गर्न श्रमस्वीकृति लिने गरिन्छ । कोभिड१९ को महाप्रकोप शुरु भएपछि भारतबाट नेपाल फर्किनेमा बेचिएका र तस्करी भएकाहरू समेत थिए । तर तथ्यांक राख्न स्थानीय, प्रदेश एवं संघीय सरकारले खासै बास्ता नै गरेनन धेरै श्रमिक निकृष्ट श्रमबजारबाट मुक्ति भएको अनुभव गरिरहेका थिए । देशमै रोजगारी श्रृजना नभएपछि तस्करी भई पुगेका निकृष्ट श्रमबजारमा पुनः ती मानिसहरु राजीखुशी नै भारत प्रवेश गरिसकेका छन् । यसरी श्रम, रोजगारका लागि बाध्यतावश बेचिन बाध्य हुनेहरूको तथ्यांकसम्म कसैले संकलन गर्न सकेको देखिएन ।

सीमानाकामा ब्यबस्थित गर्नुभन्दा अवैध ओहरदोहरलाई दुबै देशका सुरक्षाकर्मीले मौन स्वीकृति दिएका छन् । अर्को दुबैदेशका सरकार यो अवैध आवागमनमार्फत हुने तस्करी र मानव बेचबिखनको घटनालाई कम प्राथमिकतामा राखेको देखिएको छ । बाध्यतावश तस्करको चुंगलमा परेर अमेरिका, युरोपसहितका देशमा आधुनिक दास बन्न चाह्नेहरूको कथा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको आधिकारिक समाजिक संजालको पृष्ठमार्फत पढ्न सकिन्छ । त्यस्तै ब्यूरोले दैनिक जसो मानव बेचबिखन र तस्करीबिरुद्धको घटना र अनुसन्धानबारे सूचना प्रकाशित गर्दै आएको छ । अधिकांश घटनामा पीडकको सही बिवरण आउन सकेको हुँदैन ।

सुरक्षाकर्मी एवं गैरसरकारी संस्थाहरूमार्फत हुने उद्धारपछि न्यायका लागि पीडितपक्षले उजूरी दिनेको संख्या समेत न्यून छ । देशभरबाट बर्षेनि तीन÷चारसय उजूरीमात्र प्रहरीमा आउने गरेको देखिन्छ । पीडित महिला, पुरुष अथवा बालबालिकाले मुख्य पीडकको यकिन गर्न नसक्नु एवं अनुसन्धान र न्यायिक निकायबाट कुनै किसिमको सहायता प्राप्त गर्न नसक्नुले दोषी खुल्ला रुपमा बेचबिखन र तस्करीको संजाल चलाइरहेको पाइन्छ । 

देशभित्रै लागूऔषध, यौनजन्य, नक्कली नोट, हतियारसहितका अपराधभित्र मानव बेचबिखन एवं तस्करीको खोजिनुका साथै मनोरंजन, निकृष्ट श्रम, मानव अंगतस्करीसहितको क्षेत्रमा हुने गरेका मानव बेचबिखनको घटनालाई गंभिरताका साथ हेर्नु आवश्यक छ । त्यस्तै पीडितको न्यायमुखि बनाउन मानव बेचबिखन नियन्त्रण ऐन, बैदेसिक रोजगार ऐन, बाल अधिकार ऐनको बीचमा तालमेल हुनु आवश्यक छ । त्यस्तै वडास्तरमा मानवअधिकार प्रवद्र्धन समिति र स्वदेश एवं विदेशमा रोजगारी गर्न जाने एवं हराएका मानिसको तथ्यांक राख्न जरूरी छ ।

मानव बेचबिखन रोक्ने, दबाउने तथा सजाय गर्ने सम्बन्धि संयुक्त राष्ट्रसंघीय अन्तरदेशीय संगठित अपराध सम्बन्धि आलेख २००० पालेमो प्रोटोकल तथा आप्रवासी कामदार एवं तिनीहरूको परिवारको अधिकार संरक्षण सम्बन्धि महासन्धि १९९० को अनुमोदन भए पीडितपक्षले न्याय पाउने आशा गर्न सकिन्छ । (मधेश दर्पण फिचर सेवा)

कामना न्यूज

  • बिहिवार, फाल्गुन २० २०७७१२:१९:२७
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

    नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ । राष्ट्रिय गैँडा