Logo

मंगलवार, फाल्गुन १८ गते २०७७

images
images
images
images

नेपाली समाजमा मृत्यु र जीवनको रोमान्स

नेपाली समाजमा मृत्यु र जीवनको रोमान्स


नेपाली समाजमा मृत्यु र जीवनको रोमान्स

मृत्युहरू यादको गर्तमा गडेका ती घाउहरू हुन् जसले यादमा बल्झिने साथ जीवनका रोमान्सहरू सकिदिन्छन्। हो यस्तै हुन्छ, भुलेका र भुलिसकेका मृत्युहरू यादमा बल्झिनु हुन्न, बल्झने साथ तिनले जिन्दगीलाई जिन्दगी रहन दिन्नन्, तिनले जिन्दगीलाई नर्क पारिदिन्छन्, मान्छेलाई वर्तमानमा सहजताका साथ बाँच्न दिन्नन्। यो भोग्ने जेम्स जोयसको कथा ‘द डेड’ को पात्र ग्याब्रियल कनरोय हो, उसकी श्रीमती ग्रेटा हो, तिनीहरू प्रकारान्तरमा नेपाली जनता हुन् जसमा बारबार मृत्युका आला घाउहरू बल्झाइन्छन् र अनेक प्रकारका राजनीति गरिन्छन्।

ग्याब्रियल कनरोय आफ्ना अन्टीहरूले आयोजना गरेको पार्टीमा गएको हुन्छ, सफल पार्टी पछि पाहुनाहरू बिदा लिन थाल्छन्। कनरोय खुसी हुन्छ, किनभने उसले धेरै पछि उसकी श्रीमतीसँग होटलमा रात बिताउने मौका परेको छ, उ रोमान्सको कल्पनामा छ, तर उसकी श्रीमतीको मुड बदलिन्छ। उनीहरू निस्कने बेलामा उसले बार्टल डि’आर्की भन्ने पात्रले गाएको एक पुरानो गीत सुन्छे र विगतका यादमा टोल्हाएर बस्छे। जब उनीहरू होटलमा पुग्छन्, श्रीमान रोमान्सको चाहनामा छ, तर ग्रेटामा रोमान्स प्रति कुनै चासो छैन। कारण खोतल्दा श्रीमानले थाहा पाउँछ, ग्रेटा पार्टीबाट छुट्ने बेलामा गीत सुनेपछि उसको पूर्वप्रेमीलाई सम्झिरहेकी छे, जो सत्र बर्षको उमेरमा उनीहरूको सम्बन्धको शुरूकै अवस्थामा मरेको थियो। 

ऊ बिरामी थियो तर पनि चिसो हिउँद र पानी परिरहेको बेला पनि ग्रेटालाई भेट्न आउने जिद्दी गरेर थप बिरामी भयो र त्यसकै कारणले उसको मृत्यु भयो। यो घटना श्रीमानलाई बताएर ग्रेटा निदाउँछे, आफूले कहिले थाहा नपाएको श्रीमतीको जीवनको एक पाटो थाहा पाएर बिस्मातमा परेको ग्याब्रियल झ्यालबाट हिउँ परेको हेर्दै जीवन, मृत्यु र मृतकका यादहरूको बारेमा सोचेर बस्छ। ग्रेटाको एउटा मृत्युको याद मात्रले उसको जीवनको रोमान्स सकिदिएको छ।

यो कथासँगै नेपाली परिदृष्यमा बल्झिरहने केही मृत्युका यादहरू हेरौं, हो, तिनै यादहरूले हामीलाई बारबार ग्याब्रियल बनाएका छन्, हाम्रो जीवनबाट रोमान्स खोसेका छन् र कसैको जीवनमा रोमान्स दिएका छन्। 

१। फागुन एकगते जनयुद्ध दिवसको अवसरमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताएका छन् ।

२। सामाजिक सन्जाल ट्विटरमा द्वन्द्वकालका लासहरू यत्रतत्र छरिएका फोटोहरू सहित कनकमणी दीक्षितले पोस्ट फेब्रुअरी १५ अर्थात् फाल्गुन ३ गते पोस्ट गरेका छन् – “दोरम्बामा सेनाले मारेको १८ निहत्था माओवादी कार्यकर्ताको शव उत्खनन गर्यो हाम्रो अनुसन्धान टोलीले कृष्णजंग रायमाझी, प्रेमबहादुर बिष्ट, डा. हरिहर वस्ती, हरि फुयाल र म स्वयं बिस्तृत हेर्नुहोला आज सोम्बार बेलुकी ८:३० सग्लो समाज कार्यक्रम, २ सरोकार कार्यक्रम  ।

यो ट्विटमा संलग्न फोटोहरू यहाँ सामेल गरिएको छैन किनभने यस लेखको लक्ष्य जनमानसमा मृत्यु, हत्या हिंसा आदिका सन्त्रासको खेती गर्नु होइन। हुन त दीक्षित आफैँले पनि त्यस्ता फोटोहरू पोस्ट गरिसकेपछि स्पष्टीकरण दिएका छन् – “द्वन्दकालका मार्मिक तस्वीर राख्नुपरेकोमा क्षमायाचना गर्दछु।“ भनेर। 

यी दुईवटा फरक फरक हिसाबले मृत्युको उपयोग गरिन लागेका अवस्थाहरू हुन्। प्रचण्डले द्वन्द्वकालका मृत्युहरूको तारिफ गरिरहेको बेला दीक्षितहरू ती मृत्युहरूको भयानकता उधिन्न लागेका छन्। यादमा आइरहेका छन् ती समयहरू पनि -

३। प्रचण्ड लालसलाम वाला मुट्ठी कसेर मदन भण्डारीको सालिक अघि उभिएका छन्, आफूलाई प्रधानमन्त्री खड्ग ओलीभन्दा भन्दा बढी बहुदलीय जनवादको हिमायती दावी गरिरहेका छन्, आफूलाई सच्चा कम्युनिस्ट भनिरहेका छन्, त्यो सब गर्न उनलाई कुनै शहीदको सहारा लिनु परेको छैन, जनयुद्धका बलिदान सम्झनु परेको छैन। त्यो देख्दा लाग्थ्यो ( मृत मदन भण्डारीको मृत्युको रहलपहल सेन्टिमेन्ट उनको लागि काफी छ।)

४। केही दिन अघि राजधानीमा आयोजित महिला बलात्कार पछि हत्या गरिएकी भागीरथी भट्टको न्याय माग गर्दै आयोजना गरिएको महिला मार्चपासमा महिला हिंसाविरुद्ध निरन्तर आवाज उठाइरहने अधिकारकर्मी हिमा बिष्टले शुक्रबारको पत्रिकामा छापिएको तथ्यांक उद्धृत गर्दै भनिन्, ‘डेढ वर्षमा ५ हजार ७ सय ३५ जनाको बलात्कार र हत्या भएको रहेछ। त्यो त लेखिएको अंक मात्र हो। बाहिर नआएका कैयौँ घटना छन्। हरेक दिन ६ देखि ७ जनाको बलात्कार र हत्या हुन्छ। निर्मला पन्तको हत्यादेखि भागीरथीको बलात्कार र हत्यासम्म हामीले न्याय पाएका छैनौं।’अंकजति बढ्दै गएपनि, जति नै कराए पनि बालुवाटार र सिंहदरबारलाई कुनै फरक नपरेको र कुनै फरक नपर्ने उनले बताइन्। भनिन्, ‘फरक त तपाईं/हामीलाई मात्र पर्छ। किनभने निर्मला पनि हामी नै हौं, सम्झना पनि हामी नै हौं र भागीरथी पनि हामी नै हौं। यहाँ पटक/पटक हाम्रो बलात्कार हुन्छ तर सुन्ने कोही हुँदैन।’उनले अगाडि भनिन्, ‘चुनाव भोलि, पर्सि वा जहिले होला, सत्तामा जान हाम्रै भोट चाहिन्छ। तर, मेरो शब्द याद गर्नुस्, "माई भजाइना विल भोट यू आउट"। (स्रोतः मिडियाहरू)

हिमा विष्ट निर्मला हत्याकाण्डमा पनि न्यायको लागि यसरी नै चिच्याएकी हुन्, उनी माथि न्यायको लागि चर्को चिच्याउने र निर्मला हत्याकाण्डको छानविन गलत दिशातिर मोड्ने र निर्मलाले न्याय नै नपाई डलरमा पुरस्कार थाप्ने, न्यायभन्दा पनि विदेशी दातामुखी अभियन्ता भएको आरोप छन्। 

यहाँ बुझ्नुपर्ने कुरा के छ भने बलात्कार र मृत्युका घटना दुरदराजका गाउँमा हुने गर्छन्, त्यहाँका आफ्नै किसिमका स्थानीय परिस्थिति र छानविन प्रक्रियाका जटिलता हुन्छन्, त्यस धरातलीय वास्तविकतालाई एकातिर राखेर राजधानी केन्द्रित एलिटहरूले केही मिडिया रिपोर्टमा आधारित भएर मृत्युलाई रोमान्स पारिदिन्छन्। यस्तो लाग्छ, हरेक घटनाहरूलाई हेर्न केन्द्र, प्रदेश र स्थानीय कुनैपनि तहमा सरकार छैन, राज्यमा भएको सरकार र न्याय भनेकै अभियन्ताहरूको विवेक हो, कुनै पनि मृत्युले उनीहरूको फाइदा बिना न्याय पायो भने त्यो हुनै नसक्ने कुरा भयो। हरेकमृत्युले अभियन्ताको चेतनालाई चर्चामा ल्याउनु पर्यो, उनीहरूको फाइदा तथा सम्मानलाई उँचो पार्नुपर्यो। बलात्कार, हत्या, मृत्यु भएको ठाउँमा सचेत मान्छे बस्दैनन्, उनीहरू अन्याय सहेर, खपेर चुपचाप बस्छन्। सचेत मान्छे त राजधानीमा मात्र बस्छन्, सचेत मान्छेले राज्यविहीनताको जानकारी फुकिराख्नु पर्छ, मृत्युहरूलाई रोमान्टिसाइज गरिरहनु पर्छ, त्यसबाट हुने फाइदा पाइराख्नु पर्छ।

जनताको यादको गर्तमा रहेको अर्को एउटा मृत्यु हेरौं, जसलाई राजनैतिक स्वार्थ मिल्नेसाथ नेताहरूले सहज रूपमा आत्मसात गरेका छन्, यहाँ मृत्युको स्वीकार, त्यस प्रतिको अपराध बोध, क्षमायाचना सबै सहज रूपमा एकै ठाउँ आएका छन्। २०७४ साल फागुन २१ गते। स्थानःकाठमाडौंको थापागाउँ स्थित प्रेसिडेन्सियल कलेजको छैटौं तल्लाको हल। दृश्यः १९ वर्षअघि जसलाई दुश्मन भनेर हत्या गरियो, तीनै व्यक्तिलाई शहीद भनेर माओवादी नेता जनार्दन शर्मा शहीदको फोटोमा माल्यार्पण गर्दै थिए । अनि मारिने यदु गौतमकी बिधवा तीर्था गौतम माओवादी पार्टी र आफू आबद्ध पार्टी एमालेबीच एकीकरण हुन लागेकोमा खुसी व्यक्त गर्दै थिइन् । ठीक १९ वर्षअघि २०५५ फागुन २१ गते एमाले रुकुमका तत्कालिन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमको माओवादीहरुले घाँटी काटेर हत्या गरेका थिए । १९ वर्षपछि फरक दृष्य यस्तो थियो कि(यदु स्मृति कार्यक्रमको विशेष अतिथि रुकुमकै सांसद समेत रहेका माओवादी नेता जनार्दन शर्मा थिए । उनले गौतमको तस्वीरमा अबिर लगाए र माल्यार्पण गरे । उनले मुठ्ठी उठाएर यदुप्रति श्रद्धा व्यक्त गरे । 

तत्कालीन एमालेबाट सांसद समेत भएकी यदु गौतमकी विधवा तीर्था गौतमले गला अवरुद्ध पार्दै जनार्दनतिर फर्किएर सोधिन्‘कमरेड यदु गौतमले युद्धकालमा धेरै माओवादीलाई बचाउनुभयो।मैले घरको बुइँगलमा लुकाएर धेरै माओवादीलाई भात खुवाएँ ।तर, तीनै यदु गौतम किन मारिए ? आजसम्म मैले यसको जवाफ पाएकी छैन।’ तीर्थाले यो प्रश्न गरिरहदा एउटा प्रसंग सम्झिन् । त्यो बेला यदु वकिल समेत भएकाले रुकुम सदरमुकाम बसेर माओवादी नेता कार्यकर्ताको पक्षमा मुद्दा लडेर जोगाउँथे । तर, गाउँतिरका माओवादी यदुलाई सुराकी भन्दै हत्याको धम्की दिइरहेका थिए । उनले त्यसबेला यो कुरा गर्दा यदुले भनेछन्, ‘उनीहरु बुलेटको बाटोमा छन्, हामी ब्यालेटको बाटोमा छौं । एकदिन हामी फेरि एक ठाउँ आउने निश्चित छ ।’ अन्ततः माओवादी नेताहरूले फुस्रो अनुहार लगाएर यो पार्टी निर्देशनमा भएको घटना होइन, स्थानीय रिसइवीको कारण भएको हो, यसको लागि हामी दुखी छौं भनेर आफ्नो फेस सेभिंग गर्न कर लाग्यो भने श्रीमती गौतमले श्रीमानको चाहना अनुसार नै पार्टी एकता हुन लागेकोले यसले घाउमा मलम लगाउने काम गरेको भनेर चित्त बुझाउन कर लाग्यो। (स्रोतः मिडियाहरू)

प्रचण्डको बलिदान सम्बन्धी धारणा लगायत अधिकारकर्मी हरूका चर्का र मान्छे उचाल्ने किसिमका धारणाहरू सामाजिक सञ्जालहरूमा आलोचनाका विषय बन्छन्। तिनै प्रचण्डहरू राजनैतिक फाइदाका लागि आफ्नै कारण भएका कुनै मृत्यु लुकाउँछन्, कुनैमा पिलपिल आँसु झार्छन्, कुनैमा मृतकको तस्विरमा माल्यार्पण गर्छन्। सवाल यहाँ बलिदान वा मृत्युको हुँदैन, सवाल मृत्युलाई कसरी प्रयोग गर्दा आफ्नो रोमान्स सुनिश्चित हुन्छ भन्ने हुन्छ।  हत्या हिंसाले अघाएको र आफू सुरक्षा घेराभित्र बसेर बलिदान जस्ता भव्य शब्द प्रयोग गरेर आफ्नो व्यक्तिगत, राजनैतिक, पारिवारिक स्वार्थ पुरा गर्न जनतालाई उक्साउने राजनीति, मृत्युलाई कसैको रोमान्सको लागि गरिने उपयोग मन नपराउने जमात बढेर गएको छ। मृत्युको बोझ, यादका पत्र पत्र भित्र गडेको मृत्युको सम्झना, मृत्युले जीवनको रोमान्स समाप्त गरिदिने कुरा जनताले बुझ्न थाल्नु र जनता जीवनको पक्षमा हुनु आफैँमा सुखद कुरा हो।

नेता, अभियन्ता, अधिकारकर्मी सबैलाई राजनीतिकरण गर्न सकिने हरेक मृत्यु मीठो लाग्छ, हरेक आँसुहरू प्यारा लाग्छन्, आफूले कमाउने नाफाको लागि बेच्न भावनात्मक प्रोडक्ट लाग्छ। प्रचण्डहरू, कनकमणीहरू, विष्टहरू मृत्युलाई मौका हेरेर राष्ट्रिय,अन्तर्राष्ट्रिय हिसाबले सनसनी बनाउन र त्यसलाई क्यास गर्न माहिर छन्, आफ्नो रोमान्समा बाधा पर्ने देखियो भने मृत्युको खेल खेल्ने खेलाडीहरूले नै मृत्युलाई लुकाउँछन्, मोड्छन्, अनि त्यही मृत्यु क्यास हुने र आफ्नो रोमान्समा फाइदा-दायक देखियो भने त्यसैलाई उचाल्छन्। तर जनता त्यसको ठीक विपरित ध्रुवमा छ, उसलाई मृत्युको याद र सन्त्रास अवचेतन मस्तिस्कको गर्तमा धकेलेर, मृत्युलाई भुलेर, जितेर जीवनको रोमान्सको अपेक्षा रहन्छ।

जनता हरेक मृत्यु र तिता अनुभव छिटो भुल्न र जीवन तिर फर्केर रमाउन चाहन्छ, त्यसैकारण उसले मृत्युको गनगन देखाएर भोट मागिरहेका नेताहरूलाई तुरुन्त भोट दिएर पन्छाउन चाहन्छ र जीवनतिर फर्कन चाहन्छ। तर पनि नेताहरू बारबार तिनै मृत्यु कोट्याउँछन् र जनताले निको पार्न र भाग्न चाहेको मृत्युको घाउ आलो पारिदिन्छन्, त्यसलाई कहिले निको हुन दिन्नन्। नेता,अभियन्ताको जीवनको रोमान्सको लागि जनता बारबार तिनै भुल्न खोजेका मृत्युका घाउ बोक्छ,र आफ्नो जीवनको रोमान्स गुमाउँछ। ती घाउहरू कहिले बलिदान भन्ने सुन्दर बट्टामा प्याक भएर आउँछन्, कहिले ती मानवअधिकार भन्ने सुन्दर ब्रान्डमा आउँछन्। ती घाउहरू कहिले न्यायका लागि आन्दोलन भन्दै गिजोलिन्छन्।

समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट जस्ता सामाजिक घटनाहरू हुन्छन्, तिनले न्याय पाउनु पर्छ, यसमा दुईमत छैन। तर के न्याय के अन्याय भनेर बुझ्न, घटनालाई तिनको स्थानीयता अनुसार बुझ्न तिर आम मानिसलाई सचेत गर्नुपर्छ, तिनलाई स्वाभाविक हिसाबले सामना गर्न सिकाउनु पर्छ, तिनलाई राष्ट्रिय घाउ बनाएर, राजनीतिकरण गरेर, राष्ट्रिय, अन्तर्राष्ट्रियकरण गरेर जनताको जीवनको रोमान्स समाप्त गर्न र जनतालाई टर्चर गरेर चर्चा र डलर कमाउन, राजनैतिक अभीष्ठ पुरा गर्न पाइन्न। याद होस्, मृत्युको व्यापार नगरेर पनि सचेत र नेतृत्वदायी भूमिका गर्न सकिन्छ, चर्चाको भोक मेट्न सकिन्छ। जनताले आफूलाई इमोसनल टर्चर दिने र सताउनेहरूलाई तीव्र गतिमा चिन्दै लगेको छ, जनतालाई ग्याब्रियल बनाउने मृत्यु गीतका रोमान्टिक गायकहरूले यो तथ्य समयमै बुझेको राम्रो। 
 

तीर्थ प्रसाई

  • आइतवार, फाल्गुन ९ २०७७११:११:००
सम्बन्धित समाचार
विशेष सबै
  • माइग्रेनको सफल उपचार – योग तथा प्राकृतिक पद्दति

    माइग्रेनको समस्या नेपालीहरु माझ आम समस्या हो । नेपालमा ७ वर्षको बाल-बालिकादेखि ६०वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि