Logo

आइतवार, माघ ४ गते २०७७

images
images
images

सामाजिक सञ्जालको नशा

सामाजिक सञ्जालको नशा


सामाजिक सञ्जालको नशा

नशा भित्र नशा सरी,

झुमी दिन्छु प्याला भरी,

आँखा भित्र नशा,

कुरा भित्र नशा

नशा भित्र नशा सरी.......

मैले स्कुले जीवन सक्ने बेला यो गीत मजाले चलेको थियो । त्यो बेला पप गीतहरू भर्खर हिट हुन लागेका थिए । सन्जीप प्रधान, सञ्जय श्रेष्ठ जस्ता गायक, कन्दरा, 1974 AD. जस्ता ब्याण्डहरूले आफ्नो छाप छोड्ने क्रममा थिए । मलाई संगीतको विकासक्रमको बारेमा कुरा गर्नु छैन, त्यसैले यहाँ उल्लेख गरिएका नाम कुन अघि, कुन पछि, कुन छुट्यो, कसको योगदान र चर्चा बढी भन्ने कुरासँग सरोकार छैन, म यहाँ नशाको कुरा गर्न लागिरहेको छु, नशाको याद मसँग त्यो बेला देखि दिमागमा मजैले रहेछ । हुन त त्यो समय केटा र केटी बीच बोलचाल हुने, गफ भित्र वा आँखा भित्र डुबुल्की मार्न सकिने समय थिएन, तर हामी टिन एज पार गर्ने अवस्थामा थियौँ, त्यो नशाको कल्पना मात्र हाम्रो ज्यानमा रोमान्च पैदा गर्न काफी थियो, नशा  नशा भित्र नशा सरीका नशालु गायक सन्जीप प्रधान त्यो कुरकुरे बैँसको नशा जगाउने हिरो थिए, जीन्दगी त्यसै त्यसै नशालु थियो !

समयसँगै नशाहरू बद्लिँदै गए ! नशा बद्लिनु नै जीन्दगी हो भन्ने बुझ्दै गइयो ! कहिले एउटा नशाको पछि लागियो, कहिले अर्को ! कैले गीत दशौँ पटक सुनेर दिनभर त्यसका शब्दहरू कापीमा कोरियो, कहिले सातादिन सम्म क्रेयन पेन्सिलहरू र रातो निलो लेख्ने दुई सुइरा (रिफिल) भएका डटपेन (त्यो बेलाको भाषामा) प्रयोग गरेर कलात्मक तरिकाले बांगोटिंगो तरिकाले डिजाइन गरिएका फिल्मका नामहरू जस्ताको तस्तै उतार्न बल गरियो ! जीन्दगीको एक कालखण्डमा शब्द, संगीत र कलाको नशा पटक पटक अनेक रूपमा देखापर्यो । कहिले ह्यान्ड राइटिंग कलात्मक पार्न महिनौँ लागियो ! कहिले छिमेकका दिदीहरूलाई लुकी लुकी कलात्मक ढाँचामा प्रेमपत्र लेख्न र नयाँ बर्षमा निकटका साथीहरू र प्रेमीहरूलाई पठाइने भारतीय अभिनेता, अभिनेत्री अंकित रंगीन पोस्टकार्डहरूमा शायरीहरू लेखियो, त्यो समयमा थुप्रो शायरीहरू कण्ठ गरेर शायरको नशा बोकेर बाँचियो । त्यो फोनको जमाना थिएन,  जमाना थियो चिठ्ठीको ।  कहिले सनपाटको खेतमा लुकेर गाउँले दिदीहरूलाई प्रेमीहरूले स्टाइलिस तरिकाले लेखेका चिट्ठीहरू पढ्न मद्धत गरियो, जसले जिन्दगीलाई अनौठा स्टाइलहरूका नशा बटुल्न सघाए  ! कैले आफूभन्दा ठूलाहरूले ल्याएर सिरानी मुनि लुकाएर पढ्ने गरेका यौन उपन्यासहरू पढ्ने नशा लाग्यो त कहिले सनपाट कुहाउन बनाइएका पाटाखाडीहरूमा पौडी खेल्न जाने नशा ! समग्रमा बाल्यकाल नशा नशामैँ बित्यो, समग्रमा जीन्दगी यहाँसम्म बाँचेर ल्याउँदा जीन्दगीले यो कहिले नशामुक्त हुन्न, यसमा नशाको मात्रा र रूप मात्र बदलिन्छ भन्ने सिकाएर ल्यायो ।

पछिल्लो समय प्रविधिहरूले दिने नशाले थुप्रो मान्छेलाई गाँजेको छ । अर्थात भनौँ, प्रविधिजन्य नशाले जीन्दगीका अरू नशालाई विस्थापन गर्दै लगेको छ । एज अफ ओभर इन्फर्मेसनको रूपमा चिनिने यो जमानामा मुख्यत मान्छेहरू इन्टरनेट तथा सामाजिक सञ्जालको नशामा डुबेका छन् । सामाजिक सञ्जाल लामो समय चलाउने मान्छेको दिमाग अनेक किसिमका चाहिने नचाहिने जानकारीहरूको डम्पिंग साइट बनेको छ र त्यसले मान्छेलाई मानसिक तनाव बढाएर लगेको छ भने बिहान ओछ्यानमा आँखा खुल्नेसाथ मोबाइल फोन स्क्रोल नगरी र निश्चित किसिमको अटेन्सन नखोजी खाएकै नपच्ने असन्तुष्ट मान्छेहरूको भींड पैदा गरेको छ । असन्तुष्टि र तलतल नशाका गुण हुन्, एकछिन तनावमुक्त गरेको जस्तो लागे पनि त्यसको नशाले छोड्ने बित्तिकै तनाव दिनु नशाकै विशेषता हो ! यस्तो अवस्थालाई अनुभुत गरेका केही व्यक्तिहरूले नयाँ सालमा सामाजिक सञ्जाल छोड्ने वाचा गरेको मैले देखेको छु । केहीले छोडेका पनि छन्, तर धेरैले चाहीँ मुखले सामाजिक सञ्जाल छोड्ने तर छद्म नाममा अन्य प्रोफाइलहरू बनाएर अरूले नचिन्ने किसिमले खुसुखुसु सामाजिक सञ्जाल चलाउने गरेको मैले देखेको छु । त्यसैले सञ्जालका कुनै साथीले अब मैले सामाजिक सञ्जाल छोड्न लागेँ भनेर बिदा माग्न खोज्यो भने खिसिक्क हाँसेर बिदा दिन थालेको छु, त्यसले एउटा नशा छोडेर अर्को नशा त लिने नै हो, किनभने नशा बाहिर जीन्दगी नै कहाँ छ र?

नशा भनेको एडिक्सन मात्र होइन, प्यासन पनि हो, लगातार कुनै पनि कुरा प्रतिको लगाव हो ! सत्य कुरा चाहीँ के हो भनेँ जीन्दगीका हरेक गर्न मन लाग्ने कुराहरू नशा हुन्, हामीले गर्न सक्ने कुरा भनेको नशाको सचेत छनोट र सही विस्थापन मात्र हो, जन्मेदेखि मृत्युपर्यन्त जीन्दगी कहिले पनि नशामुक्त छैन । जीन्दगीका नशाहरू थोरै सचेत भएर छनोट गर्ने हो भनेँ जीन्दगीका नतिजा फरक पर्नेछन्, हरेक चर्चित मान्छे ऊ आफू चर्चामा रहेको क्षेत्रको ठूलो नशेडी हो ।

अध्ययनहरू भन्छन्, ट्विटरको लत सिगरेटको भन्दा बढी छ, ट्वीटरका अतिरिक्त फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरू पनि धेरैलाई नशामा डुबाएका छन्, भाइरल हुने र चर्चा कमाउने भ्रमात्मक सपना समात्न बल गर्नेहरूको संख्या पनि त्यतिकै छ । भाइरल हुने चाहना भनेको नवउदारवादी समाजको प्रतिस्पर्धात्मक समाजको स्पिरिट समात्न चाहनु पनि हो, यो भर्च्युअल समाजमा अर्को भन्दा अब्बल र सक्षम देखिने होड हो, यो सामाजिक सञ्जालमा मात्र होइन, समाजका हरेक क्षेत्रमा छ, यो चर्चाको भोक हो, सफलताको भोक हो, सामाजिक सञ्जाल बाहिर भएकै मान्छेमा पनि यो भोक हुन्छ नै, यो युगीन भोक हो ! तसर्थ यस नशालाई नराम्रो कसरी भन्नु? आखिर चाहिने भन्दा बढी भएपछि त जे ले पनि हानी नै त गर्छ, ‘चिनी पनि धेर खायो भने तितो हुन्छ’ भन्ने उखान पनि त हाम्रै हो !

हो, सामाजिक सञ्जाल नशा हो तर जीन्दगीमा के नशा होइन? मैले अघि नै भनिसकें, मलाई जीन्दगीले सिकाएको भनेकै जीन्दगीमा एउटा नशालाई कुनै न कुनै अर्को नशाले विस्थापित गर्छ र जीन्दगी नशामुक्त कहिले हुँदैन भन्ने पाठ हो ! जुनदिन जीन्दगी नशामुक्त हुन्छ, त्यहीदिन जीन्दगीको मिति पुग्छ, जीन्दगीले त्यहीदिन काम गर्न छोड्छ । हैन?

  एउटा रमाइलो किस्सा सुनाउँ? सुन्नोस्, अमेरिकामा मोटोपनको कारण बिरामी पर्नेहरूको संख्या उच्च रहेछ, जसको कारण सरकारले तिनको स्वास्थ्य उपचारमा बढी खर्च गर्नु परिरहेको रहेछ । नीति निर्माताहरूले त्यस्ता मोटोपन व्यक्तिहरू खानाको नशामा हुने र जस्तासुकै खानाहरू पनि अत्यधिक मात्रामा किनेर खाने गरेको कारण तिनीहरू आवश्यकता भन्दा जति बढी मोटाउँछन् त्यो तौलमा कर (Fat Tax) लगाउनु पर्छ, जसले तिनीहरूको उपचारमा लाग्ने खर्च धान्न सरकारलाई सहयोग पुग्छ भनेर बहस गरिराख्ने रहेछन् । खाना प्रतिको क्रेज नशा मात्र होइन, मान्छेले सोडा र गुलिया जुसहरू किनेर खानु त पाप नै हो भन्ने मानेर राष्ट्रपति बाराक ओबामाले त मोटोपनमा लगाइने करलाई पाप कर (Sin Tax) भनेका रहेछन् । खाना मान्छेको आधारभूत आवश्यकता हो, यसप्रति नै लगाव हुनु पनि नशा नै हो, अझ ओबामाको भाषामा भन्नु पर्दा पाप हो, हो, रमाएर तपाईँले लगावका साथ गर्ने हरेक कुरा नशा हुन्, अझ त्यो भन्दा अघि बढेर हेर्ने हो भने ती पाप हुन्, बिना पाप जीन्दगी जिउन सम्भव देखिन्न, बिना नशा जीन्दगी चल्ने देखिन्न ।

त्यसैले सामाजिक सञ्जाल छोड्छु भन्ने साथीहरूलाई म भन्छु, ‘ह्या, नयाँ सालको रिजोल्युसन न के, अनेक दश थरि कुरा किन सोच्नु पर्यो? किन छोड्नु पर्यो सामाजिक सञ्जाल? नशा भएको कारण? यो छोडे तपाईँले यसलाई विस्थापन गर्ने अर्को नशा लिनु हुन्न भन्ने ग्यारेन्टी छ? बेकारको ! नशा बेगर पनि जीन्दगी चल्छ कतै? जीवनका हरेक नशाबाट मजा चैँ लिनुहोस्, लिन जान्नुहोस्, सक्किगो नि !’

सामाजिक सञ्जाल प्रयोग गरेर रमाईरहेका सबैको जय होस्, सबैको जीन्दगी मीठो बनोस !

शुभकामना !

तीर्थ प्रसाई

  • बुधवार, पौष २९ २०७७११:४६:४६
सम्बन्धित समाचार
विशेष सबै
  • स्वास्थ्यको लागि खेलकूद कि खेलकूदको लागि स्वास्थ्य ?

    मानिसको उत्पत्तिको उद्गम बिन्दु भ्रुणदेखि अन्तिम साससम्म स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । जब एउटा रोगले समात्छ या शरीरमा कुनै समस्या उत्पन्न हुन्छ तब हाम्रो