Logo
बिहिवार, जेठ १५ गते २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गफमा मग्नः एन्ड्रयू याङ ‘अल अमेरिकन्स’को सामाजिक मुद्दामा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गफमा मग्नः एन्ड्रयू याङ ‘अल अमेरिकन्स’को सामाजिक मुद्दामा

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - १९:१३:०६ बजे
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गफमा मग्नः एन्ड्रयू याङ ‘अल अमेरिकन्स’को सामाजिक मुद्दामा

एजेन्सी । अमेरिकामा पूर्वराष्ट्रपति उम्मेदवार एन्ड्रयू याङ यसपटक चुनावी दौडमा छैनन् । तर उनी ‘अल अमेरिकन्स’को सामाजिक मुद्दामा केन्द्रित छन् ।

उनले उठाएको ‘अल अमेरिकन्स’को मुद्दा खासमा कोभिड १९ का पीडितलाई राहत वितरणका लागि केन्द्रित हो । पछिल्लो समय उनको अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नैतिक समर्थन पाउन थालेको छ । अमेरिकी सेलिब्रिटीदेखि अधिकारकर्मीहरुले पनि साथ दिएका छन् ।

कमेडियन डेभ च्यापेल, अभिनेता ड्यानिअल डे किम, अभिनेत्री अलिसा मिलानो, फुटबल स्टार मेगन रापिनो जस्ता प्रभावशाली सेलिब्रिटीले हालै यस अभियानमा साथ दिएका छन् ।
उनीहरुले हालै ‘हामी सबै अमेरिकन हौँ’ भन्दै यस अभियानका लागि भिडिओ सन्देश पठाएका थिए । राष्ट्रपति डोनल्ड ट्रम्पले नै चुनावअघि ‘अमेरिकन फस्र्ट’ को नारालाई निकै महत्व दिए ।

सिमानामा काँडेतार लगाउनेदेखि आप्रबासीलाई फिर्ता पठाउनेसम्मको अभिव्यक्ति उनी गर्वसाथ सार्वजनिक स्थलबाट दिन्थे । यतिसम्म कि, कतिपय अस्वेत र मुस्लिम आप्रबासी महिला सांदहरुलाई देशनिकाला गर्ने चेतावनी पनि दिए ।

ट्रम्पको त्यो नश्लवादी बिचार कोरोना भाइरसको महामारीसम्म आइपुग्दा झनै कठोर र उग्र रुपमा प्रदर्शन हुँदैछ । संयोग कस्तो छ भने, अहिले ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने चुनावी अभियानमा पनि छन् ।

यसर्थ उनी आफ्नो ‘राष्ट्रवादी लाइन’लाई झन उग्र बनाउन लागिपरेको देखिन्छ । जस्तो कि, चीन र एसियालीप्रति उनले देखाएको असहिष्णु व्यवहारले उनी आफ्नो नश्लीय बिचारबाट प्रेरित मत सुरक्षित गर्न चाहेको देखिन्छ ।

महामारी झन् जटिल बन्दै जाँदा अमेरिकामा रहेका आप्रबासी समुदायले जातीय विभेद र अपमानका थुप्रै व्यवहारको सामना गर्नुपर्यो । महामारी विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्नेमा एसियन अमेरिकीहरु आत्मसम्मानको लडाइँ लड्दै छन् । यसवाहेक अस्वेत र ल्याटिनोहरुको अवस्था झन खराब छ । मृत्यु र बेरोजगारी उनीहरुका लागि थप चुनौतीको रुपमा देखिँदैछ ।

यस्तैमा उठेको ‘अल अमेरिकन्स’ अभियानले अमेरिकामा साना व्यवसायी, न्युन आय भएका र आप्रबासीहरुलाई एक ठाउँमा ल्याएको छ । मूलतः ‘अल अमेरिकन्स’ अभियानले ट्रम्पले उठाउँदैआएको ‘अमेरिकन फस्र्ट’ को नश्लीय बिचारलाई टक्कर दिँदैछ ।

फेसन डिजाइनमा पनि

रोचक त के भने, फिलिप लिम र प्रबल गुरुङ जस्ता प्रभावशाली फेसन डिजाइनरले यस अभियानलाई साथ दिएका छन् । उनीहरुले ‘अल अमेरिकन्स’ थिममा नै फेसन डिजाइन गरेर अमेरिकी संस्थापन पक्षमाथि सांकेतिक विरोध जनाएका छन् । नेपाली मूलका अमेरिकी प्रबलले त आफूमाथि अमेरिकी नभएको प्रश्न उठ्न थालेपछि ‘को अमेरिकी हुनसक्छ ?’ भन्ने ट्यागसहित फेसन शो गराएका थिए । त्यसो त, एन्ड्रयू याङले हालै मात्र यही विषयमा एक भव्य बहस समेत गराए ।

टेलिभिजन सिरिज

२०१८ को अक्टोबरदेखि नै अमेरिकामा ‘अल अमेरिकन’ नामको एक टेलिभिजन सिरिज सुरु भएको थियो । अप्रिल ब्लेयरले सुरु गरेको उक्त टेलिभिजन सिरिजि पछिल्लो समय झन लोकप्रिय बन्न थालेको छ ।

एक ‘स्पोर्ट्स ड्रामा’ को रुपमा देखाइने यो सिरिजले अमेरिकामा रहेका दुई फरक समुदायका हाइस्कुल विद्यार्थीहरुको प्रतिष्पर्धा देखाइन्छ । अप्रिलले यो सुरु गरेको समय त्यही थियो, जसबेला ट्रम्प विभिन्न सहरमा आफ्नो र्याली गरिरहेका थिए । र उनको राष्ट्रबादी मुद्दा थप बलियो देखिँदै थियो ।

एसियन अमेरिकनको योगदान

आधुनिक अमेरिका निर्माणमा एसियालीहरुको भूमिका र महत्वलाई सजिलै मेटाउन सम्भव छैन । पछिल्लो समय जसरी एसिया विरोधी हिंसा, विभेद् र अपमानका समाचार आएका छन् । तर राष्ट्रपति ट्रम्प त्यस्ता सामाजिक गतिविधिलाई निरुत्साहित गर्नुको सट्टा आफैँ चीनविरोधी अभिव्यक्ति दिएर जातीय ध्रुविकरणतिर लागेका छन् ।

त्यसो त, स्कुल, विश्वविद्यालय लगायत सार्वजनिक स्थलमा अपमान, असमानता र विभेद भोग्नुपरेको लामो इतिहास छ एसियाली अमेरिकनहरुसँग । १८५० को दशकमा जब दक्षिणी चीनका युवाहरुको समूह ज्यालादारी मजदुरको रुपमा अमेरिका पुगेका थिए । सम्भवतः उनीहरु नै पहिलो एसियाली आप्रबासी कामदार थिए अमेरिकामा ।

स्मरणीय के छ भने, अमेरिकाको विकासमा ती चिनियाँ युवाहरुको महत्वपूर्ण भूमिका र योगदान रहेको बताइन्छ । भौतिक संरचना निर्माण, कृषि, कारखाना, खानी, समुद्री तटमा माछा मार्ने जस्ता काममा चिनियाँ युवाहरुको प्रयोग भएको थियो । १८७० सम्ममा क्यालिफोर्नियाका मजदुहरुमध्ये २० प्रतिशत त चिनियाँ युवाहरु नै रहेको तथ्यांक एसियाली अमेरिकन अगुवाहरु बताउँछन् ।

१८८२ मा भने अमेरिकी कंग्रेसले चिनियाँ वहिष्करणको ऐन नै पास गरेको थियो । जाति, रंग र भाषाको आधारमा यसरी विभेद गरिएको यो नै एक ऐतिहासिक उदाहरण थियो । यतिसम्म कि, ६ दशकसम्म त्यहाँ चिनियाँ आप्रबासन रोक्न उनीहरुमाथि प्रतिबन्ध नै लगाइयो । ‘चिनियाँ जानैपर्छ’ भन्दै एक अभियान नै चल्यो । पछि ठूलो संख्यामा जापानीज, कोरियाली र इन्डियन मजदुरहरु पश्चिमका समुद्री तटमा पुग्न थाले । चिनियाँहरुको सट्टामा उनीहरुलाई सस्तो श्रमका लागि सडक निर्माण, कृषि, माछा मार्ने जस्ता काममा लगाउन थालियो ।

क्रमशः दक्षिण एसियाली भारतीय आप्रबासी पनि अमेरिकामा श्रमका लागि प्रवेश गर्न थाले । तर यो क्रम चिनियाँ मजदुरहरुमाथि प्रतिबन्ध लगाइएपछि सम्भव भएको थियो ।

१९२४ सम्ममा त फिलिपिनो नागरिक बाहेक चिनियाँ, जापानी, कोरियाली, भारतीय लगायत लगभग सबै एसियालीहरुमाथि प्रतिबन्ध लगाइयो । साथै ककेसियनसँग विवाह गर्न र जग्गा किन्न प्रतिबन्ध लगाइएको थियो ।

१४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएको भनिन्छ । तर त्यसअघिदेखि बस्दैआएका आदिवासी समुदाय १५०० सम्ममा हराइसकेका वा विस्थापित भइसकेका थिए ।

युरोपको उपनिवेशपछि हुर्केको पुस्ता र उनीहरुका सन्तानलाई नै अहिले ट्रम्पले ‘खाँटी अमेरिकी’ भनेका हुन् । यदी भूगोलमा पहिलेदेखि नै बसोबास गर्नेलाई ‘खाँटी देशबासी’ भन्ने हो भने त कोलम्बस स्वयं अमेरिकाका आदिवासी हैनन् ।

अहिले महामारीको संकट गहिरिँदै जाँदा ट्रम्प त्यही नश्लीयता उधिन्न खोजिरहेका छन् । यस संकटबाट कसरी निस्किने उपाय कसरी निकाल्ने भन्नेबारे उनका पहल लक्षित देखिँदैनन् ।

बरु त्यो बहुसंख्यक समुदाय रहेको ट्रम्पका अनुसार ‘आधिकारिक’ अमेरिकीबाट जनमत पाएर चुनाव जित्न चाहन्छन् । अर्थात् उनी त्यही समुदायको भावनामा खेलेर राजनीति गरिरहेका छन् ।

यता वर्षौँदेखि श्रम, शीप र रगत पसिना बगाएका एसियालीहरुसँग उनी आधिकारिताको प्रमाण खोज्दै छन् । तर सानो संख्यामा भए पनि ट्रम्पको नश्लीयता विरुद्ध एसियाली अमेरिकीहरु एकीकृत हुने अवस्थामा छन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology