Logo
सोमवार, जेठ १२ गते २०७७

‘सानो असावधानीले हामी खाद्य संकटमा नराम्ररी फस्न सक्छौँ’– घनश्याम भुषाल

‘सानो असावधानीले हामी खाद्य संकटमा नराम्ररी फस्न सक्छौँ’– घनश्याम भुषाल

कामना न्यूज

जेठ ९, २०७७ शुक्रवार - १३:४५:३४ बजे
‘सानो असावधानीले हामी खाद्य संकटमा नराम्ररी फस्न सक्छौँ’– घनश्याम भुषाल

काठमाडौँ । कृषिमन्त्री घनश्याम भुषालले कृषिमा हाम्रो सानो असावधानीले हामी नराम्ररी खाद्य संकटमा फस्न सक्ने बताएका छन् । यसै अनुरुप उनले कृषकलाई राहतको प्रस्ताव लैजाने तयारी गरिरहेको बताएका छन् । मन्त्री भुषालले लकडाउनले सबभन्दा ठूलो मार कृषि क्षेत्रमा पारेको बताउँदै कृषकका उत्पादन बजारमा पुग्ने वातावरण तयार पार्न लागि परेको जिकिर गरेका छन् । मन्त्री भुषालले तरकारी, फलफूल बारीमा कुहिने वातावरण सिर्जना हुनु दुखद रहेको भन्दै चाँडोभन्दा चाँडो कृषिजन्य उत्पादनको बजारीकरणमा सहजता ल्याउने बताएका छन् ।

साथै मन्त्री भुषालले उत्पादन र वितरण व्यवस्थामा उत्पन्न समस्याले भविष्यमा खाद्य संकटको चुनौती समेत देखिएको बताएका छन् ।
मन्त्री भुषालले भने, ‘लकडाउनले सबभन्दा धेरै समस्या पोल्ट्री, माछापालक, दूध र तरकारी क्षेत्रमा परेको छ्र। यी क्षेत्रमा हामीले ध्यान पुर्‍याउन नसके उद्योग नै खत्तम हुनसक्छ । यी क्षेत्रलाई केही राहत र उद्दारको काम गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । तर निर्णय गर्न सकिराखेका छैनौँ । मैले मन्त्रिपरिषद्लाई कन्भिन्स गर्न सकेको छैन।’

तथ्यांकले हामी मासुमा आत्मनिर्भर भयौँ भन्छ । एक जना स्वस्थ व्यक्तिले वर्षमा साढे १४ किलो मासु खान्छ । तर तराईको दलितले त्यति खान पाएको छ कि छैन ? जुम्लामा खान पाएका छन् कि छैन भन्ने कुनै हिसाब छैन । मन्त्री भुषालले भने, ‘मासुको उत्पादन बढेको छ । खपत पनि बढेको छ । तर उत्पादन चितवनमा बढेको छ खपत काठमाडौँमा । मासु उत्पादनमा ६० देखि ६५ प्रतिशत योगदान दानाको हुन्छ । तर हामी दानामा ८० प्रतिशत परनिर्भर छौँ । त्यसैले माछा मासुमा आत्मनिर्भर छौँ भन्न सकिन्न ।’

काठमाडौँबाट हजार किलोमिटर टाढा भारतबाट तरकारी आउँछ । तर नजिकै रहेको काभ्रेको नेपालथोक र धादिङको माथिल्लो भेगबाट राजधानी आउने अवस्था छैन । मार्केट सिस्टम, राख्ने ठाउँ व्यवस्था छैन । मन्त्री भुषालले भने, ‘मेरो जोड बजेटमा स्थानीय तहमा मल बिउको डिपो, भण्डारणको व्यवस्था, नर्सरीको व्यवस्था गरेर पालिकाहरूलाई उत्पादन, भण्डारण र वितरणमा सहभागी गराउनेमा छ ।’ उनले बिस्तारै भारतीय तरकारीमा निर्भर हुनुपर्ने समस्याबाट ग्राहकलाई मुक्त बनाउने गरी कार्यदिशा निर्क्यौल गरिने समेत बताए ।

यसपटक गत वर्षको तुलनामा २० प्रतिशत बढी मल बजारमा पठाइएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाटै मल ल्याउने गरेका थिए । मन्त्री भुषालले भने, ‘यसपटक सीमा क्षेत्रमा मल नआएका कारण बढी गएको हुन सक्छ । तर हामी कोशिस गरिरहेका छौँ । कोरोनाका कारण ओमानमा २० हजार मेट्रिकटन मल रोकिएको छ । कलकत्तामा पनि केही रोकिएको छ ।’

उनले देशको ६० प्रतिशत मान्छे कृषिमा लाग्दा समेत खान नपुग्ने अवस्था दुखद भएको बताए । ‘यसलाई सम्बोधन गर्नुपर्नेछ । कृषिमा आश्रित मान्छे घटाउनु र उत्पादन २७ प्रतिशतबाट बढाउनुपर्ने छ । तर अहिले १० लाख विदेशमा काम गर्न गएका फर्कने अवस्था छ । ५ लाख हाम्रा छोराछोरी १६ वर्ष कटेपछि श्रम बजारमा आउने छन् । हामीले १५ देखि २० लाखका लागि व्यवस्था गर्नुपर्नेछ,’ मन्त्री भुषालले भने, ‘त्यस हिसाबले त्यही कृषि जहाँ श्रम बढी थियो, त्यहाँ श्रम थप्नुपर्नेछ। यो ठूलो चुनौती छ ।’

कृषि मन्त्रालयको ध्यान मल, बिउ र उत्पादनका सामग्री सस्तो गर्नेमा रहेको उनको जिकिर छ । ‘मैले साना किसानले निर्ब्याजी, अलिक ठूलालाई ३ प्रतिशत र ठूलालाई ५ प्रतिशतमा ऋण दिऔँ भन्ने गरेको छु । तिनीहरूले उत्पादन गरेको वस्तुमा १५ देखि २० प्रतिशत बचत हुनेगरी बजारको व्यवस्था मिलाउनुपर्छ भनेर काम गरिरहेको छु,’ मन्त्री भुषालले भने, ‘यो जटिल छ तर गर्नैपर्ने काम छ। यति गर्न सकेमात्र हामीले ५ लाख मानिसलाई कृषिमा रोजगारी दिन सक्छौँ ।’

खाद्यान्नको हिसाबले १ करोड मेट्रिक टन उत्पादन भए नेपाल पालिने अवस्था छ । त्यति गर्न सकिन्छ होला भन्ने लाग्छ मन्त्री भुषाललाई । तर यो संकटको बेलामा हामीलाई खाद्य संकट पर्न सक्छ ।

‘मैले कोरोना सुरू भएलगत्तै डेढ महिनाअघि नै पालिका र सांसदहरूलाई बाँझो जमिन उपयोग गर्न र उत्पादन बढाउन सहकार्य गरौँ भनेको छु । यो चुनौतीले सामना गर्ने हिसाबले लाग्दा दुःख भए पनि पुर्‍याउन सक्छौँ,’ मन्त्री भुषालले भने, ‘तर कृषिमा सानो असावधानीले हामी नराम्ररी खाद्य संकटमा फस्न सक्छौँ ।’

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology