Logo
सोमवार, जेठ १२ गते २०७७

कोरोनाको भारत कनेक्सनः मुम्बईबाट ४ दिनअघि आएका थिए झापाका १५ नयाँ संक्रमित

कोरोनाको भारत कनेक्सनः मुम्बईबाट ४ दिनअघि आएका थिए झापाका १५ नयाँ संक्रमित

कामना न्यूज

जेठ ८, २०७७ बिहिवार - १३:३९:५१ बजे
कोरोनाको भारत कनेक्सनः मुम्बईबाट ४ दिनअघि आएका थिए झापाका १५ नयाँ संक्रमित

काठमाडौँ । झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या २५ पुगेको छ ।

झापा केचनकवल गाउँपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका सबै संक्रमितहरु केही दिनअघि भारतको मुम्बईबाट आएको खुलेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार उनीहरु ४ दिन अघि भारतबाट आएका थिए । नेपाल प्रवेश गरेका उनीहरुलाई दक्षिणा क्वारेन्टाइनमा राखिएको थियो । मंगलवार ६५ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म आएको रिपोर्ट अनुसार १५ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएका १५ जनालाई विराटनगरस्थित कोशी अस्पतालमा लग्ने तयारी भइरहेको रानामगरले बताए ।

‘प्रदेश स्तरीय कोभिड विशेष अस्पताल भएकाले त्यही लगिन लागिएको हो,’ उनले भने ।

गाउँपालिका अध्यक्ष अन्जरा आलमले मुम्बईबाट आएकाहरुकोमा संक्रमण देखिएसँगै सुरक्षा व्यवस्था कडा पारिएको र क्वारेन्टाइन र होल्डिङ सेन्टरको व्यवस्था गरिएको बताए ।

‘हामीले गाउँपालिकाभर तीन वटा क्वारेन्टाइन र एउटा होल्डिङ सेन्टरको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘त्यसैले उनीरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखी स्वाव संकलन गरिएको थियो ।’

भारतले रेलमार्ग सञ्चालन सुरु गरेका कारण नेपाल भित्रिने क्रम बढेको उनले बताए । सीमामा बसेका भारतीय प्रहरीहरुले उनीहरुलाई नेपाल छिर्न दिएको उनको दाबी छ।

‘जब भारतले रेल मार्ग खुल्ला गर्‍यो । त्यसबाट बोर्डरमा आइपुगेका नेपालीलाई त्यहाँ बसेका एसएसबीहरुले नेपाल छिराउँदो रहेछ,’ अध्यक्ष आलमले भने ।

प्रदेश १ मा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्रै झापासँगै सुनसरी र धनकुटामा थप एक एक जनामा संक्रमण देखिएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology