Logo
सोमवार, जेठ १२ गते २०७७

हजुरआमाको जीवन बोध

हजुरआमाको जीवन बोध

म बज्यै बसेको आलीमा गएर बस्छु। बज्यै भन्नू हुन्छ, 'पटाइ लागी गो क्या?' म हाँस्छु मात्रै । फेरि बज्यै नै बोल्नुहुन्छ, 'तँ क्यारी दिन काटल्लाइ!' दक्षिण पश्चिमको 'दिन' हेर्छु। दिनको र बज्यैको बाँकी उमेरको प्रतिशत उस्तै-उस्तै लाग्छ। हाँस्दै भन्छु, 'आजको दिन बाइगो।' माइला दाइको स्वर कानमा पर्छ, 'इँट्टा भट्टा चलिरा छ कि क्या हो ? धुवाँ आइरा छ त ।' ऊ भएतिर हेर्छु, उसको हातमा मुसुरोको एक गाँजो छ। उसले उभिएर आफ्ना चस्मा भित्रका आँखाले इँट्टा भट्टाबाट निस्केको नाङ्गो धुवाँको नाचतिर हेरिरहेको छ। लाग्छ, गाउँ सफा छैन तर सुन्दर छ। ऊ फेरि फतफताउँछ, 'थारुहरू मर्ने भए ।' मनमनै सोच्छु मर्नु त यसै पनि मर्ने नै हुन, यसरी हिँडे कोरोनाले, नहिँडे भोकले। फेरि सोच्छु, हामी पनि त खेतमा छौँ । कोरोनाको हिँड्ने पुल बन्ने हाम्रो पनि त सम्भावना छ नि। फेरि बज्यैलाई सोध्छु, 'बज्यै मान्छे मरुँला सोच्तैन है?' मधुमेहकी रोगी बज्यै, अचेल भात कम खानुहुन्छ।सायद भात कम खाए जिन्दगी बढी खान पाइन्छ भन्ने लाग्छ होला। भन्नुहुन्छ, 'सोच्ने भए यसो हुनो हो के?' - 'बजै उहिले पनि यसरी मान्छे मद्दा छिए के ?' - 'मद्दा छिए बा, कोइ हल्ले आइ मद्दा, कोइ लिस्से लागि मद्दा, औलो लागी कति मर्या, रारा फुटी पनि मान्छे मर्या हुन् हरे।' - 'बजै हल्के भन्या के हो?' - 'उदो उमो भैकन मर्न्या।' - 'बजै त्यसरी कति मान्छे मर्या हुन्नान?' - 'बा गाउँ खाली हुना छिया, लिस्सेले त कतिका देला थुन, कतिका नाठी भया।' वंश फैलाउने अहम् बोकेको मान्छेका लागि आफ्नो भावी पिँढी नरहनु सानो कुरा हैन। तपाईंको सानो प्रयासले तपाईं आफ्नो वंश फैलाउन सक्नु हुन्छ। तर, यो बेला घरै बस्नु भयो भने। तपाईंलाई कोही रोक्ने छैन वंश फैलाउनमा। फेरि माल्दाइको आवाज कानमा पर्छ, 'यो बेला पनि भाङ माडिरहेको को हो त्यो?' हेर्छु, माल्दाइले हेरिरहेको ठाउँतिर। हो त पर गहुँ काटिसकेका खेतहरूमा उम्रेका भाङका बोटहरूमा दुई हात रगडिरहेको। नेपालमा अवैध मानिएको बुटी अवैधानिक रूपमा जताततै उम्रिरहेको छ। मनमनै भन्छु, सरकार विरोधी। बज्यै जुरुक्क उठ्न खोज्नु हुन्छ। मुखबाट आवाज निस्किन्छ, 'कठ्ठै मेरा बाउजु!' म शान्त स्वरमा भन्छु, 'के भयो बज्यै?' - 'खुट्टाउनो बाउडो आयो।' - 'उसो भए बस्नुस' भन्दै बज्यैको बायाँ हात समातेर बसाल्न खोज्छु। - 'अँ, बस्नेइप घसाया घाँस काट्नु छ।' - 'किन परालले दूध दिन्न के?' - 'पराल फाली घाँस पाइन्छ क्या?' बज्यैले सरकार जस्तै भैँसी पाल्नुभएको छ। कर जस्तै गरी थरिथरिका घाँस खान्छ; सरकारी सेवा जस्तै दूध थोरै दिन्छ। बज्यै घाँस काट्न थालिसक्नु भएको छ। म बोल्छु, 'बज्यै यो फलेको मसुर ठिकै हो त?' बज्यै नमज्जाको स्वरमा भन्नु हुन्छ, 'दस कट्टामा यो कति होला; बढीमा दुई क्विन्टल।' काटिसकेका रायोका फेद देखेर फेरि मै सोध्छु, 'रायो कति भयो त?' - 'त्यो रायो हैन कावली भन्ने हो। त्यो माडेकै छैन, एक क्विन्टल पन हुने हैन।' फेरि एक फेरा आफैँ सोच्छु यदि किसानहरूले गणितको सुत्र (a+b)2 अनुसार (बीउ मसुर + बीउ रायो)२ रोप्न सकेको भए फल मसुरको २ + २ फल मसुर रायो + फल रायो २ हुन्थ्यो। रायो हराए झैँ घाम पनि हराइसकेको थियो। भोलि घाम र रायो फेरि आउन पनि सक्छ्न, हामी रह्यौँ भने। फेरि बज्यैको आवाज कानमा पर्छ, 'ऐया! मेरा बाउजु।' यो पीडामा आमाभन्दा पहिले बा पनि सम्झिन्छ्न् बज्यैले। सायद यहाँ आमा धर्ती हुन् र बा आकाश हुन् भन्ने थाहा छ। कोरोनासँगको युद्धमा एक्लाएक्लै लडिरहेकी आमाको अवस्था देखेर आकाशतिर आँखा फर्काउदै ईश्वर बालाई सम्झिनु पर्ने अवस्था छ। भोलिपल्ट बिहानको खाना खाइसकेपछि बज्यै भन्नु हुन्छ, 'ए एम्पु, ए शिव यता आवो ।' खाना खाइसकेपछि मोबाइल चलाउन आफ्ना कोठा पसेका हामीलाई बज्यै सधैँ यसरी नै बोलाउनु हुन्छ। कुरा केही हुन्न, मात्र बज्यै हास्न चाहनुहुन्छ। उही हामी बच्चा हुँदा के थियौँ, कस्तो गर्थौँ, किन रोयौँ जस्ता हिजोका घटना जो आज किस्सा भएका छन्। जुन बेला सम्झिए पनि हास्न पाइन्छ। बज्यै हास्नुहुन्छ, त्यही भएर स्वस्थ हुनुहुन्छ। तपाईंहरू पनि हास्नुस है। कुराहरू सिमलका भुवा जस्तै हुन्छन्, उडेर कहिले पूर्व त कहिले पश्चिम्। यसै बीचमा बज्यैले भन्नुभयो, 'रमेश अझ पड्निउ भन्नै छ, क्या पढ्न्या अब त्यो?' मैले पाच्छ भने, 'पढिसक्या भन्दा मुथिउनिको पढ्न्या।' बज्यैले मट्का मार्नु भयो। बज्यै हास्नु भो, दाइ हास्यो, म हासेँ। दाइले सोध्यो, बज्यै तमिलाई पढ्यौँ लागेन?' हास्दै बज्यैले भन्नु भो, 'को पढाउने छियो, उहिले लोग्ने मान्छे त पढ्ने चलन छिओन!' फेरि दाइले नै सोध्यो, 'हामी पढ्दा हामीसँगै बस्नु भयो, म पन अक्षर जानु लाग्दैन छियो?' बज्यैलु भन्नुभयो, 'पख कुडा हद्दो भए। तेरो बा पहिलो पाली बम्बै गया वर्ष, का गयो होला, क्या हद्दो होला शोक लाग्दो रात्तभरि। एकदिन एक कापी र कलम किने अथा तमिहरू जसरी दिनभरि लेख्या।' तेरी आमा रुनिछ, काँ छै बा चल्ला, घर आइजा। रुपैयाँ केही चाहिनाइनन्, परान भए यैँ अरल्लाइ। आइजा बा चल्ला..... मनौनो आया जति लेखे। बा बेरि मोतीलाई देखाए। मैले भक्तिलाई लेख्या चिठी कसो भयो? मोतीले सबै पान्ना पल्टाएर बन्यो- 'सानिआमा अरु त केही बुझेन, एक ठाउथी 'क' भया छ। ल भन्नैन क्या दिनभरि लेखेर 'क' लेख्या छु। मैले हास्दै भने, 'धन्न 'क' भयो 'ज्ञ' भएन, हुनुपड्नै 'क' छियो।' फेरि बज्यै हास्नु भयो, दाइ हास्यो, म हासेँ। लेख्ने नियम छ, अगाडि क त्यसपछि ख, ग, घ। जन्मिने पनि नियम छ, बाजे तथा बज्यै, आमा तथा बा अनि तपाईं। तर, मर्ने नियम छैन, तपाईं पनि अगाडि जान सक्नु हुन्छ। बाहिर कोरोना छ, त्यसैले तपाईं पनि बाहिर ननिस्किनुस है। भने नि, हाम्रा कुरा सिमलको भुवा जस्तै हुन्छ्न्। कहिले उत्तर, कहिले दक्षिण। यसै बीच हाम्रा कुरामा कोरोना लाग्यो। बज्यै बोल्नु भो, 'बा क्या साँच्चै यति मान्छे मर्याकाइ हुन्नान् कि ख्याल हद्दा हुन्?' म हासे, दाइ हास्यो। अनि बज्यै पनि हास्नु भो। -'नाइ, भुवाका गीत हुन।' मैले वर्डोमिटर हेरेँ, मर्नेको संख्या ३ लाख नाघी सकेछ। आँखामा सपना, मनका इच्छा अधुरो रही यो बेला ज्यान गुमाउनेहरूमा हार्दिक श्रद्धाञ्जलि। आशा गरौँ, यो भन्दा पछि यस्तो शुभेच्छा व्यक्त गर्न नपरोस्।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology