Logo
सोमवार, जेठ १२ गते २०७७

डा. रञ्जित साह: जसले दिनरात नभनी कोरोना परीक्षण गर्छन्

डा. रञ्जित साह: जसले दिनरात नभनी कोरोना परीक्षण गर्छन्

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण टिमको नेतृत्वकर्ता हुन् रञ्जित साह। नेपालमा कोरोना संक्रमण फैलिन थालेको समयदेखि उनी निरन्तर खटिएका छन्। कोरोना शंकास्पद स्वाबहरूको परीक्षण तथा विश्लेषणमा। दिनैभरि ल्याबमै व्यस्त छन् आजकल साह। खानेसुत्ने टुंगो छैन। कहिले अण्डाचना त कहिले च्यूराले पेट भरिरहेका छन् उनी। उनको दैनिकी बिहान देखि रातबिरातसम्मै हुन्छ। नेपालमा जति पनि कोरोना परीक्षण भए अधिकांश उनले नै गरेका हुन्। कोरोना परीक्षणको दुई महिना लामो समयको उनको ल्याब अनुभवले भन्छ, सुरुका दिन जोखिम कम हुँदा डर लाग्ने गरेको थियो। अहिले डर छैन जोमिम बढेको उनी बताउँछन्। चीनको वुहानमा कोरोना भाइरस (कोभिड- १९) आगो जसरी फैलिएको बेला भाइरस विस्तारै युरोप, अमेरिका छिरेको थियो। शक्ति राष्ट्रहरूमा मान्छे मरिरहेका थिए। स्थिति नियन्त्रणभन्दा बाहिर थियो। तर, नेपालमा संक्रमित भेटिएका थिएनन्। अन्योलको स्थिति थियो । त्यो बेला डर धेरै रहेको उनको अनुभव छ। १३ जनवरीको दिन चीनको वुहानबाट फर्किएका एकजना युवा शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा जचाँउन आए। उनले चीन वुहानको सम्पूर्ण वृतान्त अस्पतालमा बेलिबिस्तार गरे। आफूलाई पनि सोही भाइरस हुनसक्नेमा चिन्ता जनाउँदै उपचार गरिदिन आग्रह गरे। लगत्तै अस्पताल भर्ना भएका ती बिरामीमा इन्फ्लुएञ्जा जस्तो लक्षण देखिएको थियो। ती व्यक्तिको २ पटक इन्फ्लुएन्जाको परीक्षण गरियो । परीक्षणका लागि स्वाब डा. रञ्जितले नेसनल इन्फ्लुएन्जा सेन्टरमा झिकेका थिए । उनलाई साथ दिएकी थिइन् सुनी डंगोलले । न त पीपीई, न  मास्क नै लगाएका थिए । साधारण रूपमै उनले ती व्यक्तिको स्वाब झिकेर परीक्षण पनि उनैले गरे। तर, रिपोर्ट आयो नेगेटिभ । ती व्यक्तिका आँखा पनि राता भएका थिए । रुघा र सुख्खा खोकी पनि छ । स्वासप्रस्वासमा समस्या पनि छ । चीनमा देखिएको लक्षणसँग मिल्दोजुल्दो छ । कतै कोभिड- १९ नै त होइन ? उनले र टेकु अस्पतालका डा. अनुप बाँस्तोलाले छलफल गरे । २ पटक परीक्षण गर्दा पनि रिपोर्टमा केही नदेखिए पछि कोभिडको परीक्षण गर्ने निर्णय भयो। नेपालमा परीक्षणका लागि सम्भव नभएपछि उनको स्वाब डब्लूएचओ, इडीसीडी, एनपीएचएल र टेकु अस्पतालको सहमतिमा उनको स्वाब परीक्षणका लागि हङकङ पठाउने निर्णय भयो । ती व्यक्तिको स्याम्पल हङकङ पठाइयो । त्यहीबीचमा ती बिरामी पनि निको भए  । चीनको वुहानमा कोरोना भाइरस फैलिएको बारे डा. रञ्जित जानकार थिए । सुरुको चरणमा डब्लूएचओ र चीनले भाइरस मान्छेबाट मान्छेमा सर्दैन, मान्छे र जनावरमा सर्छ भनेको थियो । उनले कोभिडको नियमित फलो गर्दै अध्ययन, अनुसन्धान पनि गरिरहेका थिए । हङकङबाट २४ जनवरीमा ती व्यक्तिको रिपोर्ट आएपछि लगत्तै डब्लूएचओले अर्को सूचना निकाल्यो- यो भाइरस मान्छेबाट मान्छेमा सर्छ । खबर सुनेर परीक्षणमा संलग्न डा. रञ्जित झल्याँस्स भए । कारण, उनले ती व्यक्तिको स्वाब निकालेका थिए । त्यो पनि विना पीपीई, उनी तनावमा परे । त्यसपछि आफूबाट स्टाफ, घरपरिवार र साथीलाई नसरोस्  भनेर उनी १४ दिन क्वारेन्टाइन बसे । यसरी नेपालमा कोरोना देखिएको केही दिनपछि सरकारले कोरोना टेस्ट गर्ने रिएजेन्ट ल्यायो। पहिलो टेस्ट पहिलो व्यक्तिको स्याम्पलबाट गरियो। हङकङमा गर्दा पोजिटिभ देखिएको नेपालमा गर्दा पनि पोजिटिभ नै देखियो । नेपालमा ल्याएको मेसिनले राम्रो काम गर्छ भन्ने कन्फर्म भयो। २६ जनवरीबाट प्रयोगशालामा कोरोना परीक्षण हुन थाल्यो । कोरोना भाइरस परीक्षण गर्ने टिमको नेतृत्व पनि उनैको काँधमा आयो । नेतृत्व त लिए  तर जति केस आउँथे, ती सबै नेगेटिभ रिपोर्ट आउँथे । परीक्षण हुन थालेको १-२ महिना बित्यो, किन पोजिटिभ आएन ? भनेर प्रश्न आउन थाल्यो । त्यो बेला उनी निरास भए । रिपोर्ट नेगेटिभ आएर होइन, किन  पोजिटिभ आएन ? भनेर समाजका अग्रज व्यक्तिबाट नै आउने प्रश्नको झटारोले । ‘काम गर्न जानेको छैन कि के हो ?’, उनीमाथि प्रश्न उठ्यो । सुरुमा १० वटा स्याम्पल आएका थिए । ती सबै परीक्षणका लागि फेरि हङकङ पठाइयो । हङकङमा गर्दा पनि नेगेटिभ नै आयो । त्यसपछि फेरि आएका ८ वटा केसको स्याम्पल पनि हङकङ पठाइयो, त्यो पनि नेगेटिभ आयो  । नेपालमा गर्दा पनि नेगेटिभ रिपोर्ट नै आएको थियो । उनी भने आफ्नो कामप्रति विश्वस्त थिए । ल्याबमै डब्लूएचओले आएर सबै निरीक्षण गरेपछि हामीले परीक्षण ठीक छ भनेर छाप लगायो अनि प्रश्न गर्नेहरूको प्रश्न बन्द भयो । चीनको वुहानबाट ल्याइएका विद्यार्थीहरू परीक्षण पनि उनैले गरेका थिए। अरू मान्छे जाने त कुरै भएन, खाना दिने मान्छे पनि थिएनन् । कोही पनि जान मानेका थिएनन् । परीक्षण कसरी गर्ने, के गर्ने ? अन्योल थियो। अन्ततः परीक्षणको नेतृत्व डा. रञ्जितले नै लिए । एक दुई दिन पीपीई कसरी लगाउने ? कसरी स्वाब झिक्ने ? कसरी सुरक्षित रहने भनेर उनको टिमलाई ट्रेनिङ दिइयो । त्यसपछि उनको टोली ती विद्यार्थीको स्वाब सङ्कलन गर्न खटियो। पीपीईसहित पुगेको थियो उनको १० जनाको टोली । उनको टोली पुग्दा विद्यार्थीको मुहारमा खुसी छाएको थियो । ती विद्यार्थीहरूले दिनभर भोकै बसेर स्वाब झिक्न सहयोग गरे। १ सय १७ जनाको स्वाब सङ्कलन गरेर डा. रञ्जितको टोली अपराह्न ४ बजे भक्तपुरबाट फर्कियो। अन्त्यमा विद्यार्थीले ताली बजाएर उनको टोलीलाई बिदाइ गरे। भोलिपल्टबाट ती विद्यार्थीको परीक्षण सुरु भयो । उनको टोली परीक्षणमा खटियो । एकपछि अर्को रिपोर्ट नेगेटिभ आयो अनि ती विद्यार्थी पनि ढुक्क भएर आ-आफ्नो घर फर्किए। अन्य देशहरूमा हवाईमार्गबाट आउनेहरूमा कोरोना भाइरस देखिन थाल्यो। कतिपय देशहरूले हवाईमार्ग बन्द गर्न थालेका थिए। त्यहीबीचमा फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ टेकु पुगिन् । ‘मसँगै जहाजमा आएका व्यक्तिमा कोरोना पोजिटिभ देखियो । त्यसैले म पनि परीक्षणका लागि आएको हुँ’ भन्दै प्रसिद्धी आफैैँ टेकु पुगेकी थिइन् । प्रसिद्धीको स्याम्पल टेस्ट प्रयोगशालामा गरियो । उनको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि नेपालमा डर र त्रास बढ्न थाल्यो । पोजिटिभ केसहरू एकपछि अर्को देखिन थाले । अहिलेसम्म ६५ वटा पोजिटिभ केस त डा. रञ्जितले नै निकालेका छन्। ‘रिस्क त हुन्छ नै, जोखिम पनि छ । विदेशमा कति डाक्टर, नर्सको मृत्यु भइसकेको छ । पीपीई लगाउँछौँ तर पहिलेको जस्तो डर र त्रास भने छैन’, उनी भन्छन्, ‘भाइरस सर्यो भने पनि योङलाई त्यति असर गर्दैन भन्ने बुझेको छु । लागे पनि ठीक हुन्छ ।’ उनी बिहान १० बजे आएर बेलुका १२-१ बजेसम्म पनि ल्याबमै बस्छन्। प्रयोगशलाको नेतृत्व डा. रुना झाले गरेकी छन् भने कोरोना परीक्षणको नेतृत्व डा. रञ्जितले । उनको टिममा सुनी डंगोल, रचना मेहेता, त्रिभुवनप्रसाद साह, स्मृति श्रेष्ठ, विमलेश झा, डा. मनिसा कुमारी, डा. जुनु राई, कञ्चन ओझा, नवीन पन्त, डा. नयानुम पोखरेल, डा. शोहनी बज्रचार्य र महेश अधिकारी छन् । परिवारलाई सम्झिँदा उनी मौन बन्छन् । कोरोना भाइरस भेटिएपछि उनी परिवारबाट टाढै बस्छन् । काठमाडौंमा दाजुसँगै बस्दै आएका थिए । दाजु पनि डाक्टर । तर, यसबेला दाजुको भन्दा उनको आवश्यकता धेरै छ । त्यसैले दाजुलाई घर पठाएर उनी कोरोना परीक्षणमा खटिएका छन् । यदि आफूलाई केही भए दाजुलाई केही नहोस् भनेर उनले घर पठाएका हुन् । ‘मलाई केही भयो भने बुबाआमालाई कसले हेर्छ ? अनि दाजुलाई घर पठाएँ’, डा. रञ्जित स्तब्ध हुन्छन् ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology