Logo
बिहिवार, जेठ १५ गते २०७७

मोदीको माफी–पत्र ओलीलाई (अत्यन्त गोप्य पत्र)

मोदीको माफी–पत्र ओलीलाई (अत्यन्त गोप्य पत्र)

आदरणीय ओली साब, जय नेपाल !

आराम छु, सोही कामना गर्दछु । प्रिय ओलीजी, मैले नेपाल–भारत मित्रताको नयाँ आयाम र बृहतर हितको लागि नवीन घोषणा गरेर हाम्रो कार्यकालको सबैभन्दा महान र सुन्दर उपलब्धिको सरप्राइज गिफ्ट दिने तयारी गर्दैछु। कृपया दत्तचित्त भई सुन्नु होला । तपाईं पशुपति र जानकी, मुक्तिनाथ र बुद्धको देशको प्रधानमन्त्री म तपाईंसँग नतमस्तक छु । नेपालीहरूको सहनशिलता, धैर्यता र बहादुरीसँग मेरो बडो प्रेम छ । मलाई यी भगवानहरूको आशीर्वाद र प्रेरणा सदा पाउने विश्वास छ । अब मेरा गल्तीहरू आजसम्म भारतले अतिक्रमण गरेका भू–भागहरूमा कहिल्यै बखेडा र किचोलो गर्ने छैन भनेर करेक्सन गर्न चाहन्छु । बुद्ध भारतीय हुन् भनेर कुप्रचार गर्न पनि छोडिदिन्छु । अब पनि यस्ता कुप्रचार र छिमेकी चिढयाउने गतिविधि गरे भने राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मेरो नैतिक धरातल बाँकी रहँदैन । म भगवानप्रति अगाध आस्था राख्ने उपासक हुँ । मलाई भगवानको तर्फबाट पनि क्षमा मिल्ने छैन । मलाई मेरी बुढी आमाले पनि नेपाललाई गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गरिन् । मेरी आमाको कसम् ओलीजी म गलत बाटोमा हिँड्ने छैन माँकी कसम, मातृभुमीकी कसम ज्ञानी, ध्यानी र महात्मा ऋषिमुनिहरूको पवित्र तपोभूमि नेपाल, तेत्तीस कोटि देवदेवीको पावन धरालाई वक्र दृष्टि लगाएर भारतले अक्षम्य अपराध गरेको छ । सबै पाप र अधमबाट मुक्ति चाहन पनि नेपालप्रति सम्मान गर्दै नेपाली जनतासामू आफ्ना भूलको प्रायाश्चित गर्ने अवसरको रूपमा मैले यो समयलाई सदुपयोग गर्नेछु । मलाई यो पनि मज्जाले थाहा छ, नेपालमा तपाईंलाई भयंकर तनाव र दवाब छ । प्रिय मित्र चिन्ता नलिनुस् म चिन्ता दूर गर्ने दूरगामी काम गरेर देखाउने छु । नेपालको सिमाभित्र जहाँजहाँ हाम्रा सेना छन् । तुरुन्तै हटाउन निर्देशन दिएर प्रक्रियाको थालनी गर्ने छु । पूर्व मेचीदेखि पश्चिम कालीसम्मको भू–भागमा तपाईंहरूको दाबी भएको कागजात लिएर हाम्रो प्राविधिक टोलीसँग बसेर प्रक्रिया सम्मत ढंगले विवाद सल्टाउन म राजीखुसी छु, मन्जुर छु । मैले विदेश मन्त्री र मन्त्रालयका उच्च पदस्तसँग सल्लाह गरेर नै यो लेखेको हुँ । विदेश मन्त्रालय, कुटनैतिक नियोग र प्राविधिक टोली वार्ताको होमवर्कमा तल्लिन छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा हाम्रो प्रामाणिक दाबी र दस्तावेज पुग्दैन । त्यो म जानकार छु तर कार्तिक १६ को भारतद्वारा जारी राजनीतिक नक्सामा यो समेटिएकोमा म लज्जाबोध गरेर हीन भावनाले ग्रसित छु । उक्त नक्सा प्रकाशित गर्नु सामान्य टेक्निकल इरर होइन त्यो ब्लण्डर हो । त्यसको समीक्षा गरेर म यथासक्य छिटो नक्साको त्रुटि महाभूल, गम्भीर अपराध सच्याउँछु । तिब्बत मानसरोवर जाने बाटो खनिसकियो । दिल्ली तिब्बतको छोटो र दूर्त मार्गको रूपमा त्यो नेपाली भूगोल हुँदै जाने बाटोमा विगत देखिकै लालच रहेछ मैले पनि निरन्तरता दिए । अस्ति उद्घाटन पनि भयो । तर अब यो समस्या अल्झाउने, बल्झाउने हैन सुल्झाउने निचोडमा पुर्याउने उद्देश्य राखेर छिमेकीले प्रायश्चित गरेर माफी मागेपछि पक्कै यो विषय र बाटोलाई चैँ कसरी हुन्छ कन्सिडर गरिदिनु भए समस्त नेपालीजनप्रति अनुगृहित हुनेछौँ । त्यो जग्गा तपाईंहरूकै हो । त्यसको हक भोग र स्वामित्व पनि नेपालीहरूकै हो । हामीले विगत देखि बलमिच्याइँ गरेकोमा उचित हर्जना तिर्न तयार छौँ । चीनले पनि कुनै प्रतिक्रिया देखाएन । तसर्थ, हामी अलि बढी नै हौसिएर नेपालको बेवास्ता गर्न पुग्यौँ । जुन नितान्त गलत भयो । साथै, अगामी दिनमा पनि हामीले प्रयोग गरेबापत त्यसको भोगाधिकार अवधिको हिसाबमा नेपालको शर्त मान्य हुने गरी लिजमा दिन पनि सविनय अनुरोध गर्दछु । मैले अनुरोध गरेको हो यसलाई दवाब र दादागिरीको भनेर बुझ्नु हुने छैन । यसपटक भारतीय दूत भएर आएका विनय मोहन क्वात्रा भलाद्मी छन् । धेरै बोल्दैनन् उनी मार्फत नेपाल सरकारका परराष्ट्र मन्त्रीको कुटनीतिक नोट हामीले हेरिसकेका छौँ । आजसम्म मैले शरीर अनुसार मुटु प्रदर्शन गर्न नसकेकोमा क्षमा माग्दछु । प्लिज ओली जी अब विगतको तिक्तता भुलेर बहुआयामिक रूपमा हाम्रो सम्बन्ध नुतन उचाइमा लैजाने मेरो मनसुवा छ । हाम्रा सम्बन्ध, संस्कार र अतीतको गौरवशाली परम्परा अब नयाँ परिभाषा सहित सिमांकन र रेखांकन गरौँ । विशिष्ट भौगोलिक विशिष्टतासहितको नेपाल भारत सम्बन्ध आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अभिन्न छ । कतिपय चलन संस्कार र संस्कृतिमा हामी फरक–फरक भूगोलका मान्छे हौँ भन्नेसम्म भान हुन्न । पशुपतिनाथमा भारतीय पुजारी र भारतका कतिपय मन्दिर र मठमा अनिवार्य नेपाली पुजारी र मठाधीश राख्ने परम्परा अन्योन्याश्रित सम्बन्धका बेग्लै र छुट्टै मानक हुन् । राम सीता विवाह महोत्सव नेपाल भारतको साझा र अभिन्न सामाजिक र सांस्कृतिक धरोहर र जनजनको सम्बन्ध सेतु हो । नेपाल भारतका यस्ता पनि तीर्थस्थल र धार्मिक ठाउँहरू छन्, जहाँ नेपाल–भारत दुबै देशको भ्रमण गरेपछि मात्र मोक्ष र स्वर्गद्वार खुल्छ भन्ने गहिरो विश्वास र धार्मिक आस्था छ । यसबाट पनि बुझ्न सकिन्छ, हाम्रो सम्बन्धको आयाम कति सघन र परिपुरक छन् । जसलाई चाहेर पनि रोक्न छेक्न सकिन्न । जहाँ भुगोल होइन भावना छ, सम्बन्धको पवित्रता छ । तपाईंको मुलुक भौगोलिक रूपमा सानो छ होला तर तपाईंको छाती चौडा र फराकिलो छ, माफी दिन्छ । ओलीजी पूर्वको टिस्टा र पश्चिमको कांकडा सतलजसम्मको विवाद चैँ ननिकालौँ । नेपालीहरूको तर्फबाट इस्ट इन्डिया कम्पनीसँगको सम्झौता मानिन्न । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा जाने कुरा पनि यदकदा सुनिन्छ । अन्तर्राष्ट्रिय अदालत गएर वर्षौंवर्ष मुद्दामामिला र रातदिन अविश्वास अनि झै(झगडाले हामी दुबैलाई हित गर्दैन । अनन्त विवाद र बेमेलको तुस रहिरहन्छ । त्यसैले त्यतातिरको झमेलामा न फसौँ मैले यति आग्रह गरे । बिन्ती ! नरिसाउनु होला । सुगौली सन्धि पूर्वको नेपाली भू–भाग चैँ फिर्ता गर्ने हैसियत मेरो पनि छैन । यो बाध्यता बुझिदिन अनुरोध गर्दछु । भारतीय जनताले त्यो चैँ गर्न दिन्नन यो सत्य मैले भन्नै पर्छ । तर, लिपुलेक ,सुस्ता, मेची र महाकाली चैँ मेरो अग्रसरता र इनिसियसनमा फिर्ता हुन्छ । म यो विश्वास नेपाली दाजुभाइ दिदीबहिनीलाई ओली जी मार्फत दिलाउन चाहान्छु । मलाई थाहा छ, ओलीजीको कार्यकालमा मैले यति गरे भने ओली जीको महान राष्ट्रवादी छवी यति जाज्वल्यमान रहनेछ । नेपालले ओली जीलाई सधैँ आफ्नो राष्ट्र नायकको रूपमा मन मस्तिष्क र भित्तामा सजाउने छ । नित्य पूजा गर्ने छ । जय–जय गर्नेछ, जुगजुगसम्म । एक असल मित्रको लागि मैले त्याग गर्नु पर्ने छैन । केबल आफ्नो दाबी झिकिदिए पुग्छ । म झिक्न वचनबद्ध छु । ओली जी मलाई यो दिव्य ज्ञान यो कोरोनाको कहरले प्राप्त भएको हो । म बिना हिच्किचाहट भन्छु, स्वीकार गर्छु । यहाँ हामी कोही ठूलो, कोही सानो कोही निर्धो र कोही शक्तिशाली छैन भन्ने कुरा एउटा भाइरसले प्रमाणित गरिदियो । अतः विना वैरभाव , शान्ति र मैत्री भएर रहनु बस्नुमै समस्त मानव जगतको कल्याण छ । कोरोना कष्टले दिएको तत्त्वबोध र ब्रम्ह ज्ञान मेरो लागि यही भयो अनि यो पत्र लेख्न मन लाग्यो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानमा आँच पुग्ने गरी कर्के नजरले समेत हेर्ने छैन । म नेपाल भारत सम्बन्ध शिखरमा पुर्याएर जुगौँ टिकाइ राख्न चाहन्छु । परस्परको भातृत्व एकता, सहयोग, समझदारी र मित्रता मेरो अबको अभिष्ट हो । भगवान कसम ओली जी ! अब विश्वासघात गर्ने छैन । भुकम्प गएको बेला नाकाबन्दी गरेर मैले गम्भीर भुल गरेँ । अमानवीय हर्कत देखाएँ, मित्रघात गरेँ । अत्यन्तै घृणित नकाम गरे । फलतः नेपाली हृदय अनि विश्व समुदायको नजरबाट नराम्रोसँग गिरेँ । प्रिय मित्र, म चुकेँ । जसले गर्दा पश्चातापको ज्वालाले भष्म भएको छु । त्यसैले सो कुराको प्रायश्चित गर्न मैले मेरा मित्र केपी ओलीलाई यो पत्र लेखेर इमेल गरेको छु । आशा छ, ठूलो दिलका धनी ओली जीले स्वीकार गर्नु हुनेछ । आइन्दा मेरा छिमेकी नेपालीहरूको मन दुखाउने छैन । चोट लगाउने छैन । नेपाल र नेपालीको मर्ममा भुलेर पनि प्रहार गर्ने छैन । नेपाली स्वाभिमान र स्वाधीनताको लागि अटल र अडिग रहनेछु । कृतज्ञता र विनयशिलता गुमाउने छैन । म तपाईंहरूकी आध्यात्मिक चेली सीताको पुत्र हुँ । तसर्थ ओलीजी तपाईंले आफ्नो भान्जाको आग्रह र अनुरोधलाई बुझ्नु हुनेछ । म क्षमा योग्य छु, कृपापूर्वक माफी पाउनेमा म विश्वस्त छु । ओलीजीलाई यो प्रतिबद्धता ज्ञापन सहित प्रतिउत्तर पढ्न अधैर्यसाथ धैर्यता पूर्वक प्रतीक्षारत छु । नोटः विश्वासको वातावरण सिर्जना गर्नको लागि मैले निजी सम्बन्ध र वैयक्तिक पत्र कोरेको हुँ । राजकीय औपचारिकता पछि दिइने विश्वास व्यक्त गर्दछु । यो पत्रलाई तपाईंले सार्वजनिक गरेर नेपाल र नेपालीप्रतिको भारतीय संस्थापनको भावना मुखरित गर्न सहयोग गर्नुहुनेछ । आम नेपालीले थाहा पाउनुपर्छ, मोदी आफ्नो छिमेकीसँग अब के चाहन्छ ? के गर्न खोज्दैछ ? उही छिमेकी नरेन्द्र दामोदरदास मोदी भारत । (प्रस्तुत लेख सञ्जिव कार्कीको कल्पनामा आधारित छ । भारतसँगको लेखकको वैयक्तिक आग्रह हो । यसमा हाम्रो कुनै छुट्टै आग्रह र पूर्वाग्रह छैन । सम्पादक)

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology