Logo
बिहिवार, जेठ १५ गते २०७७

विद्यालयले विना सूचना निकाल्यो शिक्षक कर्मचारीः कोरोना कहरका बेला बनायो बिचल्ली

विद्यालयले विना सूचना निकाल्यो शिक्षक कर्मचारीः कोरोना कहरका बेला बनायो बिचल्ली

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका– ७ मा रहेको तिलिङटार माध्यमिक विद्यालयले शिक्षक तथा कर्मचारीलाई जागिरबाट निष्कासित गरेको छ । कोरोना संक्रमणका बेला कसैलाई पनि जागिरबाट ननिकाल्नू भन्ने सरकारकाे निर्देशन भए पनि उनीहरूलाई जागिरबाट निकालिएको हो । दश वर्षदेखि पढाउँदै आएकी एक शिक्षिकाले आफूलाई बिना सूचना विद्यालयले जागिरबाट निकालिएको बताइन् । ‘कसैलाई जागिरबाट निकाल्नु परे तीन महिनाअगाडि नै जानकारी दिनुपर्छ,’ उनले भनिन्, ‘कोरोना संकटका बेला सरकारले होटलका मजदुरलाई त निकाल्न पाइँदैन भनेको छ । हामी शिक्षकलाई बिनासूचना निकालेर बिचल्ली बनाइएको छ ।’ ‘शिक्षकलाई तलब खुवाउन अभिभावकबाट उठाएको पैसा विद्यालयले भौतिक पूर्वाधारमा खर्च गर्दा आर्थिक संकट परेको हो,’ उनले भनिन् । विद्यालयले यसअघिका शैक्षिक सत्र सुरू हुँदा करार अवधि थप गरेको गुनासो उनले गरिन् । ‘मलाई एक पटक मात्रै नियुक्ति पत्र दिएका हुन् । वर्ष–वर्षमा हाम्रो करार अवधि विद्यालयले थप्ने गरेको थिएन । अहिले करार अवधि सकिएकालाई थप नगरेको भनेर प्रचार गरिएको छ,’ उनले भनिन् । अर्का एकजना शिक्षक भने आफूले नियुक्ति पत्रबिना नै चार वर्षदेखि विद्यालयमा पढाउँदै आएको बताए । ‘मसँग त नियुक्ति पत्र नै छैन । करार अवधि सकिने र थप हुने कागजपत्र नै छैन । आपसी विश्वासका आधारमा पढाउँदै आएको हुँ,’ उनले भने, ‘अहिले जागिरबाट निकालिदिए । कोरोनाका बेला जागिरविहीन हामीले के गर्ने ? समस्यामा छौँ । विद्यालयले उक्त निर्णय फिर्ता लिनुपर्छ ।’ विद्यालयले जुम मिटिङ गरेर आफूहरूको जागिर सकिएको बताएको उनले उल्लेख गरे । गत वैशाख २४ गते विव्यस बैठकले विद्यालयमा आर्थिक संकट परेको र नयाँ शैक्षिक सत्र कहिलेदेखि लागू हुने यकिन नभएको भन्दै करारका शिक्षक, कर्मचारी र सुरक्षागार्ड निकाल्ने निर्णय गरेको थियो । जुम मिटिङ गरेर एकैपटकमा तपाईंहरूको करार अवधि अब थप गर्न सकिन्न भनेको शिक्षकहरूले बताए । विद्यालयमा स्थायी दरबन्दीमा ३० जना शिक्षक छन् । तर, विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेको भने अलग्गै पीडा छ । उनले करारका शिक्षक, कर्मचारीलाई तलब खुवाउने पैसा विद्यालयको खातामा नभएकोले जागिरबाट निकाल्नुपरेको दुखेसो गरे । ‘खातामा २० हजार छ । करारका शिक्षक, कर्मचारीलाई निरन्तरता दिने हो भने मासिक पाँच/सात लाख तलबमै जान्छ, कहाँबाट ल्याएर तलब खुवाउने ?,’ पाण्डेले भने । यो विद्यालयमा गत वर्षसम्म एक हजार तीन सय विद्यार्थी थिए । विद्यालयमा करारका यी शिक्षक, कर्मचारीलाई तलब खुवाउने मुख्य स्रोत मन्त्रालयले दिने र अभिभावकबाट उठाउने रकम हो ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology