Logo
बिहिवार, जेठ १५ गते २०७७

एसईईको तयारी गर्नुः आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट नदिने

एसईईको तयारी गर्नुः आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट नदिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तयारी गर्दै गर्न आग्रह गरेको छ । साथै कक्षा ११ र १२ को परीक्षाको तयारी गर्न भनेको छ । कोरोना भाइरसका कारण एसईई परीक्षा स्थगित भएको दुई महिना पुग्न लाग्यो । अन्तिम परीक्षाको नतिजा अर्थात् ग्रेड सिट आन्तरिक मूल्यांकनका आधारमा दिन नमिल्ने भएकाले विद्यार्थीलाई परीक्षाको तयारी थाल्न आग्रह गरिएको हो । विभिन्न संघसंस्थाले आन्तरिक मूल्यांकनका आधारमा एसईईको ग्रेड सिट दिन प्रस्ताव गरेका थिए । साथै संसदमा पनि आवाज उठिसकेको छ । तर अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले स्पष्ट पारेका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुनअनुसार नै अघि बढ्ने बताए । ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो,’ उनले भने । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अनलाइन अन्तरक्रियामा पौडेलले उक्त कुरा बताएका हुन् । उनले अहिल्यै जीवन जोखिममा राखेर परीक्षा लिन नहुने स्पष्ट पारे । ‘सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा मात्रै होइन विश्वका ७३ बोर्डको परीक्षा स्थगित भएका छन् ।’ उता शिक्षा मन्त्रालयले भने आधिकारिक धारणा राखिसकेको छैन । मन्त्रालय ‘पर्ख र हेर’ को अवस्थामा छ । यस विषयमा प्रश्न गर्दा शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘अहिले नै परीक्षाको विकल्पमा जानुपर्ने अवस्था आएको छैन, विद्यार्थीले सकेसम्म डेरा गरी बस्न नपरोस् भन्ने उद्देश्यले परीक्षाको आन्तरिक तयारी र छलफलमा छौँ ।’ आन्तरिक मूल्यांकनका आधारमा सर्टिफिकेट दिने कानुनी व्यवस्था नभएकाले तयारी अवस्थामै रहन उनले आग्रह गरे । एसईईका परीक्षा नियन्त्रक रामराज खकुरेलले उपकेन्द्र बनाउनेबारे सोच्नुपर्ने बताए । परीक्षालाई सहज बनाउन आवश्यक उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत तयारी भइरहेको उनको भनाइ थियो । उनले एसईईको परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने बताए । उनले यसका लागि परीक्षा नियन्त्रण कार्यालय तयार रहेको प्रस्ट पारे । खकुरेलका अनुसार कम्तीमा ५० विद्यार्थी रहने गरी एउटा उपकेन्द्र कायम गर्न राष्ट्रिय परीक्षा बोर्डले परिपत्र गरेको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology