Logo
बिहिवार, जेठ १५ गते २०७७

भोलिदेखि सबै बैंक तथा वित्तीय संस्था खुल्ने

भोलिदेखि सबै बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौँ । वैशाख २४ गते बसेको मन्त्रिपरिषद् निर्णयअनुसार आगामी भोलि (आइतबार) देखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारको निर्णयका आधारमा सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स संघले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ । एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology