Logo
बिहिवार, जेठ १५ गते २०७७

किम जोन जङ उन रोएको त्यो क्षण... जसले १४० सैनिकसहित फुपाजुलाई तोप हानेर उडाइदिएका थिए

किम जोन जङ उन रोएको त्यो क्षण... जसले १४० सैनिकसहित फुपाजुलाई तोप हानेर उडाइदिएका थिए

काठमाडाैँ । डिसेम्बर २८, २०११ को बिहान प्योङ्याङमा कठ्याङ्ग्रिने जाडो थियो । हिउँ परिराख्दा एउटा लामो लिङ्कन कन्टिनेन्टल कार बाटोमा बिस्तारै हिँड्दै थियो । त्यसको छानामा गोदावरी फूलको तहमाथि उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-इलको शवपेटिका राखिएको थियो । कालो लुगा लगाएका मानिसहरू बाटोछेउ उभिएका थिए । उनीहरू छाती पिट्दै र बुवा, बुवा भनी चिच्याउँदै अनियन्त्रित भएर रुन्थे । त्यसो गर्दा सैनिकहरूले उनीहरूलाई अँचेट्थे । दिवङ्गत भएका ती निरङ्कुश शासकका छोरा एवम् उत्तराधिकारी किम जङ-अन कार सँगसँगै पैदल हिँड्दै थिए । सत्ताइस वर्षीय किम भावविह्वल देखिन्थे । अन्तिम संस्कारको समारोहमा उनी पटकपटक रोएका थिए । किमको पछाडि उनका फुपाजु एवम् उत्तर कोरियामा दोस्रो शक्तिशाली व्यक्ति मानिने च्याङ सङ-थेइक थिए । अर्कोपट्टि सेनाप्रमुख रि यङ-हो र रक्षामन्त्री किम यङ-चन थिए । तिनै पाका व्यक्तिहरूको हातमा प्योङ्याङको शक्ति जाने अनुमान त्यति बेला । सन् १९५० को दशकमा किम जङ-अनका हजुरबुवा किम इल-सङले कम्युनिस्ट विश्वमा नौलो परम्परा स्थापित गरे- आफ्नै वंशमा उत्तर कोरियाको नेतृत्व जाने । झन्डै दुई दशकसम्म किमले आफ्ना जेठा छोरो किम जङ-इललाई उत्तराधिकारीका रूपमा प्रशिक्षित गरे । जहाँ जाँदा पनि युवराज उनीसँगै हुन्थे । सन् १९९४ मा बुवाको मृत्यु भएपछि किम जङ-इलले तुरुन्तै शासनसत्ता सम्हाले । तर सन् २०११ मा उनको आकस्मिक मृत्यु हुँदा उनका छोराले उत्तर कोरियाको तेस्रो सर्वोच्च नेता बन्न प्रशिक्षण लिन थालेकै थिएनन् । धेरै विशेषज्ञहरूले अब एकव्यक्ति शासन अन्त्य हुने भविष्यवाणी गरे । तर त्यसो भएन । डिसेम्बर २०१३ मा किम जङ-उनले सबभन्दा नाटकीय कदम चाले । पार्टीको बैठकबाट उनका फुपाजु च्याङ सङ-थेइकलाई निकालेर लगियो । राजद्रोहको आरोप लगाएर उनलाई मृत्युदण्ड दिइयो । केही अपुष्ट विवरणहरूका अनुसार उनलाई मृत्युदण्ड दिन विमानभेदी तोप हानिएको थियो । सन् २०१२ देखि २०१६ सम्म किमले उत्तर कोरियामा आफ्ना हजुरबुवाको पालादेखि कै सबभन्दा ठूलो पजनी गरे । दक्षिण कोरियाको इन्स्टिट्युट फर नेश्नल सेक्युरिटी स्ट्र्याटेजीका अनुसार १४० सैन्य अधिकृतहरूको हत्या भएको र अन्य २ सय जनालाई कारागारमा राखिएको वा पदमुक्त गरिएको थियो । आफ्नो बाटोमा तगारोका रूपमा देखा पर्ने सबैलाई हटाएर किमले तिनको स्थानमा आफूप्रति बफादार कनिष्ठ कार्यकर्तालाइ ल्याएका छन् । किमकी बहिनी किम यो- अनले उनीहरूको नेतृत्व गर्छिन् । गतवर्ष उनी ३० वर्षकै उमेरमा पोलिटब्युरोमा नियुक्त भएकी छन् । प्योङ्याङको सत्ताको नेतृत्व कोसँग छ भन्ने अहिले कुनै सन्देह छैन । किम जङ उन नै त्यहाँका सर्वोच्च नेता हुन् । एजेन्सीबाट

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology