Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

‘गणेशमान सिंहमा एक व्यक्तिभित्र अनेक व्यक्तित्व छ’– घिमिरे

‘गणेशमान सिंहमा एक व्यक्तिभित्र अनेक व्यक्तित्व छ’– घिमिरे

  • 3.3K
    SHARES

  • काठमाडौँ । विगत एक महिनादेखि देश पूर्णतयाः लकडाउनमा छ । कोही घरबाहिर निस्किनु भनेको आफ्नै दुस्मन हुनु जस्तै भएको छ । सबै घरभित्र बस्नुपरेको छ । बजार, संघसंस्था, उद्योगधन्दा लगायतका सबै गतिविधि ठप्प छन् । लाडाउनले बाहिरी गतिविधि रोकिए पनि सिर्जनशील मान्छेलाई कुनै पनि किसिमको बन्दाबन्दीले रोक्न सक्दैन रहेछ । त्यस्तै सिर्जनशील व्यक्तिमध्ये एक हुन् नेपाली कांग्रेसका युवा नेता रामचन्द्र घिमिरे । जसलाई अध्ययन गर्न र अध्ययनबाट निस्केको ज्ञान बाँड्न लकडाउनले रोकेन । उनले लकडाउनको परबाह नगरी अहिले भर्खरै मात्र लौहपुरुष गणेशमानको पुस्तक नेपाली क्रान्ति र गणेशमान सिंह पढिसके । समसामयिक अवस्था र गणेशमानसिंहको बारेमा उनै रामचन्द्र घिमिरेसँग कामना न्यूजले गरेको लकडाउन संवादको सम्पादित अंशः बाहिर ननिस्कुन भएको कति भयो ? हामी चैत १० गतेदेखि बाहिर निस्केका छैनौं । चैत ३० गते ‘घर—घरमा डाक्टर” भन्ने कार्यक्रम अन्तर्गत Covid-19 परिक्षणका लागि प्रयोग हुने समान लिएर काठमाडौं अन्तर्गतको टोखा नगरपालिका वडा नं.४ मा निस्कियौं । यो दिन हामीले यस वडाका ९८ वर्षका बृद्धदेखि ७ महिनाको बच्चासम्मलाई परिक्षण गरियो । हामीले टिपेको तथ्याङ्कमा हेर्दा ७८७ जनालाई परिक्षण गरिएछ । यो वडा असुरक्षित छैन भन्ने त्यतिखेरको हाम्रो परिक्षणबाट देखिन्थ्यो । भोलिपल्ट २०७७ नयाँ वर्षको शुभकामनाका साथै यसैको निरन्तरताको रुपमा Covid-19 बहस कार्यक्रम चलाउदै आएका छौं । अघि अध्यायन गर्छु भन्नु भएको थियो, अहिले के पढ्दै हुनुहुन्छ ? नेपाली क्रान्ति र गणेशमान सिंह भन्ने पुस्तक पढ्दै छु । यस पुस्तकमा के छ ? यो पुस्तक शिर्षक अनुसार गणेशमान सिंहको मात्र छैन । नेपाल उत्पत्तिको इतिहास, शाशकहरुको इतिहास, लोकतान्त्रिक आन्दोलनका विभिन्न घटनाहरु, प्रजापरिषद्को आन्दोलन, चार शहिद हुँदै नेपाली कांग्रेस पढ्न पाइन्छ । यि सबै विषय भित्र कुनैनकुनै रुपमा गणेशमान सिंह भेटिइरहन्छन् । गणेशमान सिंहको जन्म, बाल्यकाल र शिक्षाको बारेमा बताइदिनुस् ? गणेशमानको जन्म विसं. १९७२ कार्तिक २४ गते यट्खा टोलमा भएको थियो । ज्योतिषीले राखेको नाम हीराकाजी थियो । बाह्रखरी शिक्षा पिता ज्ञानमान सिंहबाट भएका थिए । गणेशमान ६ वर्षको हुँदा उनको पिताको स्वर्गारोहण भयो । त्यसपछि जेठाबाजे (हजुरबा) रत्नमान काजीको रेखदेखमा उनी हुर्कन थाले । रत्नमानको सामाजिक क्षेत्रमा सम्मान थियो । त्यसैले गणेशमानलाई निडर र हक्की बनायो । घरमा कुनै कुराको अभाव थिएन । केटाकेटीमानै गणेशमानको टोलमा रहेका हुल्याहा केटाहरुसँग सङ्गत भयो । घरमा शिक्षक राखेर पढाए पनि उनी पौडि खेल्ने, गुच्चा खेल्ने केटाहरुसँग संङ्गत गर्न थाले । हजुरबाले विग्रन लाग्यो भनेर त्यसपछि दरवार हाई स्कुलमा लगेर ५ कक्षामा भर्ना गरिदिए र पढ्दा पढ्दै स्कुलका राणा साथीलाई कुटेर कलकत्ता भागेर पुगे । कलकत्तामा सँगै बसेका साथी हरिकृष्णको सङ्गतले उनी पढ्न थाले र कलकत्ताबाट मेट्रिक पास गरे । विद्यासागर कलेजमा आइ.एस्.सी. पढ्दा पढ्दै राजनीति तर्फ आकर्षित भए । कलकत्तामा कसरी राजनीति गरे ? नेताका भाषण सुन्ने, सभा सम्मेलनमा जाने, पत्रपत्रिका पढ्ने, अनेक व्यक्तिसँग भेटघाट गर्न थाले । गान्धी, नेहरु, सुवासचन्द्र बोश जस्ता नेताको भाषण सुन्न पाए । एकदिन अचानक शुक्रराज शास्त्रीसँग भेट भयो । शास्त्रीको विद्वता र तार्किक शक्तिबाट प्रभावित भए । त्यसबेला पटनाबाट प्रकाशित हुने जनता भन्ने पत्रिकामा नेपालको बारेमा लेखिएको हुन्थ्यो । त्यो पत्रिका कटिङ्ग गरेर हुलाक मार्फत नेपाल पठाउने काम गरे । पढाई विचैमा छोडेर नेपाल फर्के एकदिन हरिकृष्णले गणेशमान र गङ्गालालाई खाना खान आफ्नो घरमा बोलाए । त्यसपछि गङ्गालाल र गणेशमान नजिकका साथी भए । गणेशमान विचविचमा गङ्गालाललाई कमजोर बनाउन खोज्थे भने गङ्गालाल भने त्यसो गर्दैनथे । नेपाल आएपछि गणेशमानले के के गरे ? एकदिन गणेशमानले गङ्गालाललाई भेटेर भने हामी पार्टी खोलौं । गणेशमानको कुरा सुनेर गङ्गालालले भने पार्टी खोल्न कठिन छ । बरु तपाई सदस्य हुने हो भने प्रजापरिषद्को होऔं । त्यो पार्टी खोजौ भन्ने भयो । त्यसपछि गङ्गालाल र गणेशमानले प्रजापरिषद् पार्टी खोज्न थाले । गणेशमान धर्मभक्तसँग कसरत सिक्न पनि जाने गर्थे । गणेशमानलाई लाग्थ्यो म धर्मभक्त भन्दा के कम छु ! गणेशमानले सोधे दाइ तपाई बक्सिङ पनि खेल्नु हुन्छ ? धर्मभक्तले अलिअलि खेल्छु भने गणेशमानलाई जसरी भए पनि धर्मभक्तलाई परास्त गर्नु थियो । दुई दिन पछि बक्सिङ खेल्ने तय भयो । सुरुमा धर्मभक्तले हान्न दिए एकपटक धर्मभक्तले गणेशमानको नाकमा एक मुक्का हानेपछि रिङ्गटा लागेर ढले । यसपछि गणेशमान, गङ्गालाल र धर्मभक्त बिचको मित्रता गहिरो हुँदै गयो । एकदिन गणेशमान, गङ्गालाल, धर्मभक्त स्वयम्भु पुगे । गणेशमानले भने हामी प्रजापरिषद् मृगमरीचिकाको खोजीमा छौं धेरै महिाना भयो हामीले खोजेको फेला पार्न सकिएको छैन तपाईलाई थाहा छ भने हामीलाई देखाई दिनुन भने धर्मभक्तले भने यो काम ठिक होइन, भोलि ज्यान जाने काम गर्नु ठीक हुँदैन । गणेशमान र गङ्गालालले धर्मभक्तलाई हेर्दाको डाल ढिडाको काल रहेछ भने । त्यसको केही दिन पछि धर्मभक्तले भने प्रजापरिषद् प्रति यत्रो चाख किन भनेर गणेशमानलाई सोधे । गणेशमानले भने म कलकत्ता बस्दा नेताहरुको भाषण सुनेर राजनीतिक इच्छा जागिसकेको छ देशको परिवर्तनको बाटो राजनीति हो । देशको अवस्था र राणाको थिचोमिचो देखेर ममा राजनीतिक चाख अझ बढेको छ भने । त्यसपछि धर्मभक्तले one of the founder member मै हूँ भने । प्रजापरिषद्को गठन कहिले भएको थियो ? वि.सं. १९९३ जेठ २० गते टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, र जीवराज शर्माले झोंछेको ओमबहालस्थित धर्मभक्तको फुपुका घरमा गठन गरिएको थियो । यस संगठनको मूलमन्त्र दुःख कष्टमा पनि त्याग र बलिदान गर्ने कबुल गरेका छन्ः जस्तोसुकै दुःख आइपरे पनि जीवन आहुति दिनसमेत पछि नपर्ने कसम खाएर गीताको पुस्तक शिरमा राखी वाचा लेखिएको कागजमा सबैले दायाँ हातको बुढीऔंलाबाट रगत निकाली सहीछाप गरे । नेपालमा राणा शासनको अन्त्य गरेर प्रजातान्त्रिक जनराज्यको स्थापना गर्नु नै यसको मुख्य उद्देश्य थियो । नेपाल प्रजापरिषद्को विधान यस्तो थियो कि सदस्य बन्नुभन्दा पहिले कुनै देवस्थलमा गएर प्रतिज्ञा गर्नुपथ्र्यो । त्यसपछि गङ्गालाल, गणेशमान र हरिकृष्ण धर्मभक्त मार्फत् विजेश्वरी गएर भगवतीको पाऊ छोएर गीताको पुस्तक टाउकामा राखेर भनेः आजदेखि हामी जिउज्यान दिएर प्रजापरिषद्लाई मजबुत पार्छौं । प्रजापरिषद्को सदस्य भएपछि गणेशमान सिंहले के के गरे ? प्रजापरिषद्को सदस्य बनाएपछि गणेशमानलाई अरु सदस्यहरुले शङ्का उपशङ्का गरे । उनको जिताहा बानी कसैलाई नटेर्ने प्रवृत्ति छदैथियो । सदस्य भइसकेपछि धर्मभक्तको घरमा गएर पर्चा पढ्न दिइयो । त्यो पर्चाको चर्चा खुलेआम सार्वजनिक ठाउँमा पढेको र त्यस विषयमा खुलेआम छलफल चर्चा गरेको कुरा धर्मभक्तले थाहा पाए । उनलाई बोलाइयो र धर्मभक्तले रिसाएर भनेको कुराले गणेशमान छाँगाबाट खसेजस्तै भए । गणेशमानले पनि गल्तीको महसुस गरे । वि.सं. १९९७ असार ९ गते भोटोजात्राको दिन प्रजापरिषद्को पर्चा चोकचोक, गल्लीगल्लीमा छरियो । यसले हल्लीखल्ली मच्चियो राणा सरकारले पहिचान गराउने वा पक्राउनेलाई ५,०००/– पुरस्कार दिने घोषणा गर्यो । यसपछि असार ३० गते दोस्रो पर्चा छरियो । श्रावण १६ गते तेस्रो पर्चा छरियो । त्यसपछि भदौ २४ गते चौथोपटक पर्चा छरियो । वि.सं. १९९७ कार्तिक २ गतेदेखि राणा सरकारले धरपकड शुरु गर्यो । सरकारको धरपकडमा को को परे ? शुक्रराज शास्त्री गीता प्रवचन गरेको कारणले पहिले नै पक्राउ परेका थिए । प्रचण्ड गोरखाका नामले खड्गमान, खण्डमान, मैनाबहादुर पक्राउ परेका थिए । तुलसी मेहर, तीर्थराज, चित्तधर हृदय, फत्तेबहादुर, योगवीरसिंह कंसाकार, रामराजा पौडेल लगायतलाई पक्रने निर्णय गर्यो । महावीर स्कुल खोलेका, सफा लुगा लगाएका, दाह्री जुँघा काटेका, सफा भएर हिडेका, हरिकीर्तन गर्ने, हरेराम पार्टीका, पत्रपत्रिका पढ्ने, चस्मा लगाउने, लामो कपाल पाल्ने सबैलाई पक्राउ गरेको थियो । गङ्गालाल र गणेशमानलाई पनि खोजि रहेको थियो । प्रजापरिषद्मा रहेका सबैले नभाग्ने सल्लाह गरे । गणेशमानलाई घरमा ढोकाबाट भित्र पस्न नपाउँदै गिरफ्तार गर्यो । टङ्कप्रसाद आचार्य कलकत्तामा थिए, पिताजी विरामी भएको नक्कली आवा पठाएर नेपाल आएपछि उनलाई गिरफ्तार गरियो । टङ्कप्रसादलाई सैनीक स्कुलमा राखिएको थियो । त्यहा प्रजापरिषद्का सबै सदस्य एक एक गरेर ल्याइयो अन्तिममा दशरथचन्दलाई ल्याएपछि उनले आफ्नो कमाण्डरलाई स्यालुट गर भनेर गराए । तर कसैले आफ्नो डेग छोडेनन् । राजा र प्रजापरिषद्को सम्बन्ध पनि राणाहरुले थाहा पाए । राजा पनि प्रजापरिषद्मा लागेको थाहा पाएपछि राणाहरुले के गरे ? राजा र प्रजापरिषद्को सम्बन्ध धर्मभक्त माथेमाबाट खुलेपछि राजदरववारमा पनि विशेष निगरानी गर्न थालियो । यो रहस्य धर्मभक्तले राजा त्रिभुवनलाई प्रजापरिषद्को सदस्यता दिदा प्रयोग गरेको पत्र आफ्नो घरको ऐना पछाडि राखेका रहेछन् । त्यो घरको खानतलासी गर्दा सेनाले फेला पारेछन् । राणाहरुले त्रिभुवनलाई हटाएर महेन्द्रलाई राजा बनाउन पनि सोचेका थिए । तर राजाको योजना सफल हुन ब्रिटिस दुतावासले दिएन । रिसाएका राणा गणेशमानलाई कोर्रा आफैले हान्थे, घुडादेखि कुर्कुचासम्म बाहिरी छाला सबै उप्किएर पूरै सेतै देखिन्थ्यो, केहीछिन पछि रगत पोतिन्थ्यो । कोर्रा वर्साएको घाउमा मलम लगाउन डाक्टर पठाउथे । सन्चो नहुदै फेरि कोर्रा बर्साउथे । टङ्कप्रसादलाई करेन्ट लगाएछन् । एकएक गरेर सबैको बयान सकेर सजाय सुनाउने बेलामा कतिपयले सबैलाई मृतुदण्ड दिनुपर्छ भनेछन् कसैले सबैलाई एकै किसिमको सजाय दिन नहुने भनेछन् । अनि श्री ५ मा जाहेरी गरेर सल्लाह गर्ने भएछन् । जुद्धशमशेरले वडा गुरुजीलाई सोधे उनले धर्मशास्त्र अनुसारको दण्ड हुनुपर्छ भने, त्यसपछि राजा त्रिभुवनलाई सोधे राजाले सजायमा कन्सिडर गर्नुपर्छ भने । जुद्धशमशेरले कन्सिडर गर्ने ठाउँ छैन, कसरी गर्ने? के हो कन्सिडर गर्ने भनेको ? भनेछन् । त्रिभुवनले पनिस्मेन्ट मोडर्नाइज गर्नुपर्छ भनेछन् । यसरी गणेशमानलाई पनि ज्यान सजाय दिने उनी ब्राह्मण होइनन् भन्ने भएछ । फैसला गर्नु अघि जुद्धशमशेरले रत्नमान काजीलाई सोधेछन्, काजी तिम्रो नातिलाई के सजाय दिउँ ! काजिले कटाइ पाऊँ सरकार भनेछन् । यस घटनामा राजा त्रिभुवन र उनका ३ छोरालाई १९९७ मंसिर २८ गते विशेष अदालतमा उभ्याइयो । यस पछि कस्तो कस्तो सजाय गरियो ? राजा त्रिभुवनको भनाइ थियो सजाय मोडरेट हुनुपर्छ अथवा नर्मी हुनुपर्छ । चार जनाको ज्यान सहित सर्वस्वहरण, केहीलाई आजीवन कारावास थियो । ब्राह्मणलाई मुत्युदण्डको सजाय दिनुप¥यो भने सर्वस्व गर्ने र शिरमुढी देश निकाला गर्ने आदेश भयो । टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मालाई काठमाडौं, पाटन, भत्तपुर घुमाइयो । ज्यान सजाय शुक्रराज शास्त्री, दशरथचन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई दिइयो । निश्कासनमा परेकाहरु नरसिंह राणा, केशवराज कार्की, चित्रबहादुर केसी, कुलदीप, महेन्द्रबहादुर शाहलाई ५०० जरिवाना, गणेशमान सिंह, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाधयाय, चन्द्रमान सैजु, फत्तेबहादुर सिंह, चिनियालाल सिंह, पुष्करनाथ उप्रेती, बलबहादुर पाण्डे, हरिकृष्ण श्रेष्ठ, मुरलीधर भट्टराईलाई अंश सहित आजिवन कारावासको सजाय सुनाइयो । वि.सं.१९९७ साल माघ महिनाको शहीद काण्डपछि देशमा सनसनी पूर्ण वातावरण पैदा भयो । जेलमा गएर बसेपछि गणेशमानले शहिदले भनेको कुरामात्र संझन थाले यसै बसेर हुँदै्रन भनेर भद्रगोल जेलबाट भागे । गणेशमान जेलबाट कसरी भागेर कता गए ? गणेशमान भद्रगोलको पर्खाल नाघेर, सिस्नुको झाडिमाथि हाम्फालेर रातिराति हिँड्दै अनेक हन्डर खाँदै, कति ठाउँमा ढाँट्दै अनेक छद्म नाम र रुपले धादिङ, गोरखा, स्याङजा, तानसेन हुँदै यसरी गणेशमान जेलबाट भागेको ७ दिनका दिन बुटवल हुँदै भारत पसे । अब गोरखपुरबाट कलकत्ता जान रेल चढ्न समस्या भयो । दोस्रो विश्वयुद्धले गर्दा सबै रेलमा सेनाहरु आउने ४ दिन कुर्दा पनि नसकेपछि रोकिएको रेलमा गएर सेनासँग मेरो बा कलकत्तामा दरवानी हुनुहुन्थ्यो उहाँ वितेर तार आएको ४ दिन भयो म जान सकेको छैन तपाईहरु कता जानु हुन्छ मलाई पनि लगिदिनुन भनेपछि पहिला हुदैन भनेको सेनाले पछि लगिदिए । यसरी गणेशमान कलकत्ता पुगे । वि.सं. १९९७ को घटना पछि शून्य भएको काठमाडौं वि.सं.१९९८ फागुनदेखि राजनीतिक कार्यक्रमले तात्न थालेको थियो । भारत गएर गणेशमानले के के गरे ? गणेशमान भद्रगोल जेलबाट भागेर कलकत्ता पुगेपछि अनेक नाम राखेर फिरन्ते जीवन बिताउदै थिए । निश्चित बस्ने ठाउँ थिएन, काम थिएन, काम गर्न खोज्यो समस्या आउँथ्यो, जेजे पाइन्छ गर्दै गए । उनको मनमा राणा शासन फाल्न सशक्त पार्टी चाहिन्छ भन्ने लागिरहेको थियो । एकदिन डिल्लिरमण रेग्मीसँग पार्टी खोल्ने प्रस्ताव पनि गरे । यही मौकामा वीपी कोइरालाले पटनाबाट आह्वान गरेको सन् १९६४ अक्टोवर ४ तारिखको सर्चलाइट पत्रिकामा नेपालमा राणा शासन अन्त्यका लागि सबै एकजुट होऔं भन्ने प्रकाशित भयो । यो कुरा देवशंकरलालले थाहा पाएर गणेशमानलाई सुनाए । देवशंकरले थप गणेशमानलाई भने तपाईले वीपी कोइरालालाई भेट्न जानुपर्छ । गणेशमान र वीपीको भेट कसरी भयो ? गणेशमान सिंह भित्र अझै अहंमता थियो । म राणाको जेल तोडेर भागेर आएको मान्छे, म बढी क्रान्तिकारी छु, वीपी मलाई भेट्न आउनु पर्छ भन्ने उनको मनमा थियो । अन्त्यमा डीके शाही र डीएन प्रधानको सल्लाहले गणेशमान वीपी कोइरालालाई भेट्न सहमत भएर पटना गए । तर संयोग कस्तो परेछ भने वीपी कोइराला कलकत्ता आएका रहेछन् । त्यसपछि गणेशमानलाई फेरि वीपीलाई भेट्न जान मन लागेनछ । फेरि १७ तारिख वीपी पटनाबाट कलकत्ता आएको १८ तारिखमा थाहा पाए पछि गणेशमानलाई वीपीलाई भेटु जस्तो लागेछ उनी वीपीलाई भेट्न गए । दिनको ४ः३० बजे वीपी र गणेशमानलाई एकैपटक होटलमा प्रवेश गराउने कार्यक्रम राखेकोमा वीपी १० मिनेट ढिला भयो । पालैपालो सबैले परिचय गर्दै गए । डीके शाहीले गणेशमानको परिचय गराई दिए । वीपी प्रसन्न मुद्रामा बसेको ठाउँबाट उठेर गणेशमान भएको ठाउँमा आएर भने मलाई यहाँको बारेमा सबै कुरा थाहा छ । तपाईसँग भेट्ने मेरो पहिलेदेखि ठूलो इच्छा थियो । आज पुरा भयो । बहुत खुशी लागेको छ । वीपीको विनम्रताले पनि गणेशमानलाई कुनै प्रभाव पारेन । वीपीले गणेशमानलाई उत्साहित तुल्याउन विभिन्न भूमिका खेले । वीपीले सर्चलाईटमा प्रकाशन भएको बारेमा एउटा स्पीच दिए । त्यसपछि वीपी र गणेशमान बीच सौहाद्र्रपूर्ण व्यवहार सुरु भयो । अनि आफ्ना मनका कुरा साटासाट गर्न थाले । वीपीले संगठनका बारेमा पनि गणेशमानलाई बताए । राणा शासन अन्त्यका लागि हामी दुबै मिलेर काम गर्नेछौं भने यसरी वीपी र गणेशमान बीचको पहिलो भेट एक सार्थक उपलब्धिका रुपमा परिणत भयो । गणेशमानलाई त्यो स्पीचले कस्तो प्रभाव पर्यो ? वीपी कोइरालाको स्पीच सुनेपछि गणेशमानको मन आनन्दीत भयो । उनको मनमा आफ्नो इच्छा पुरा हुने भयो भन्ने विचार खेल्न थाल्यो । गणेशमानलाई लाग्यो जसको खोजीमा म थिएँ, ती व्यक्ति यिनै रहेछन्, यिनैले केही गर्छन् भन्ने भएछ । वीपीप्रति उनको मनमा सम्मान, श्रद्धा बढेछ अब यिनैलाई साथ दिनुपर्छ भनेर गणेशमानले सोचेछन् । यहाँसम्म आइपुग्दा गणेशमान कसरी सोचिरहेका भेटिन्छन् ? मूलतः आफु राजनीतिमा लागेर पाएको सहयोग बारे गणेशमान यसो भन्छन्- मलाई राजनीतिमा लाग्न गङ्गालालले जति प्रोत्साहित गरे त्यति अरुले गरेनन् । त्यस्तै जेलबाट बाहिर आउन चन्द्रमान र पूर्णबहादुर एम.ए.को त्यत्तिकै जोड छ । त्यसपछि जेलबाट भागेर बुटवलमा ज्यानकाजीसँग भेट हुनु र भारत आइपुगेपछि देवशंकरलाल, लाहोरमा डा.खान अनि कालिङबुङका धाख्खा बन्धुहरुको त्यस्तै अविस्मरणीय सहयोग रह्यो । अनि मात्र मेरो वास्तविक राजनीतिक जीवन सुरु भयो । त्यसकालागि मेरो मनमा एउटा राजनीतिक संगठनको आवश्यकता थियो । त्यो पहिलो पटक टङ्कप्रसादको सानिध्य र वीपीसँगको भेट पछि पुरा भयो । म एउटा राजनीतिक कार्यकर्ताको रुपमा प्रतिबद्ध भए । वीपीसँगको पहिलो भेटपछि आजीवन आत्मीय र मित्रताको प्रदर्शनले म द्रविभूत भए । म भित्रको घमण्डको घडा उनीसामु फोडि दिए । गणेशमान पछि पनि भन्ने गर्थे म जस्तो झुसिलकीरालाई वीपीले पुतली बनाइदिएका हुन् । त्यसपछि गणेशमानले आफ्नो अहम् कहिल्यै प्रस्तुत गरेनन् । नेपाली राष्ट्रिय कांग्रेस नयाँ पार्टीको स्थापना कहाँ-कहिले भयो र गणेशमानको भूमिका के थियो ? अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको राष्ट्रिय सम्मेलन वि.सं.२००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुर स्थित खाल्सा हाइस्कुलमा भएको थियो । त्यसमा १ सय २५ जनाको उपस्थिति थियो । गणेशमानको सल्लाह अनुसार पार्टीको अध्यक्षमा टङ्कप्रसाद आचार्य र का.वा. अध्यक्षमा वीपी कोइरालालाई चयन गर्ने निर्णय गर्यो । बालचन्द्र शर्मा महामन्त्री, डिल्लीरमण रेग्मी प्रचार अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री, देवशंकरलाल श्रेष्ठ कोषाध्यक्ष भए । सदस्यहरुमा गोपालप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी, गणेशमान सिंह, डीबि परियार, सीबी सिंह र पुष्पलाल थिए । यो सम्मेलनमा काठमाडौंबाट गणेशमान, सुन्दरराज चालिसे र सूर्यबहादुर भारद्वाजले प्रतिनिधित्व गरेका थिए । यस सम्मेलनमा गणेशमानले कृष्णबहादुर प्रधानका नामले भाग लिएका थिए । अधिवेशन सफलताको लागि महात्मा गान्धी, पं.जवाहरलाल, जयप्रकाशनारायण, आचार्य कृपालनी, आचर्य जे.बी. नरेन्द्रदेव, विजयलक्ष्मी, डा.राममनोहर, सरोजिनी जस्ता नेताले शुभकामना दिएका थिए । सम्मेलनले श्री ५ को वैधानिक नायकत्व, जनताको उत्तरदायी शासन स्थापना गर्ने, भारतको स्वतन्त्रताका लागि सहयोग गर्ने, फ्रान्सेली उपनिवेशबाट मुक्त हुन आन्दोलन गरिरहेको भियतनामी जनताको समर्थन गर्ने, जेलमा कठोर जीवन विताइरहेका प्रजापरिषद्का सदस्य लगायतका राजबन्दीको रिहाइको माग गर्दै अहिंसात्मक आन्दोलन गर्ने भनेको थियो । नेपाली राष्ट्रिय कांग्रेसमा गणेशमान सिंहको संलग्नता महत्वपूर्ण थियो । नेपाली राष्ट्रिय कांग्रेसलाई नेपाली कांग्रेस बनाउदा गणेशमानको भूमिका के थियो ? नेपाली राष्ट्रिय कांग्रेसका नेता र नेपाल प्रजातन्त्र कांग्रेसका नेताका बीच पार्टी एकीकरणको विषयमा लामो छलफल भयो । दुबै नेताहरु पार्टीका कार्यकर्ताको सहमतिमा एकीकरण गर्ने निष्कर्षमा पुगे । पार्टी एकीकरणको मूल उद्देश्य राणा शासनको समाप्ति थियो । आफ्नो मतभेद समाप्त पारेर पार्टी एकीकरण गरेमात्र यो काम सम्पन्न हुन्छ भन्नेमा नेताहरु पुगे । त्यसपछि पार्टीको नाम, झण्डा र सभापतिको विषयमा छलफल भयो । पार्टीको नाम नेपाल कांग्रेस र नेपाली कांग्रेसमा कुन राख्ने भन्दा नेपाली कांग्रेस राख्ने सहमति भयो । झण्डा राष्ट्रिय कांग्रेसको राख्ने सहमति भएको थियो । तर सुवर्ण शंशेरले प्रजातन्त्र कांग्रेसको झण्डा धेरै बनाएर राखेको हुँदा वीपीले बनाइराखेकै झण्डा प्रयोग गरौं भनेर प्रस्ताव राखेपछि सबै सहमत भए । यसपछि सभापति को हुने र संगठनात्मक ढाँचा कस्तो बनाउने बारे छलफल भयो । मातृकाप्रसाद कोइराला सभापति हुनुभयो भने संगठनको जिम्मा वीपी कोइराला र सुवर्ण शंशेरको भयो । यसरी एकीकृत पार्टीको नेतृत्वमा महेन्द्र विक्रम शाह, सुवर्ण शंशेर, वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, कुँवर कल्लु सिंह, रुद्रप्रसाद गिरी र महावीर शमशेर थिए । सम्मेलनले छिटै आन्दोलन गर्ने र सम्पूर्ण नेपाली जनलाई प्रजातान्त्रिक आन्दोलनमा भाग लिन आह्वान गर्ने निर्णय ग¥यो । पार्टीले सशस्त्र आन्दोलनको तयारीका लागि सुवर्ण शंशेरलाई जिम्मा दियो । वि.सं. २००६ चैत २७ गते कलकत्ताको चौंरघीस्थित महावीर शमशेरको टाइगर सिनेमा हलमा ३ सय भन्दा बढीको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । गणेशमान प्रसन्न भए, देश भित्र र बाहिरका नेता, जनता पनि खुशी भए । सशस्त्र क्रान्तिमा गणेशमानको जिम्मा के थियो ? काठमाडौंमा क्रान्तिको तयारीका लागि गणेशमान सिंहसँग मुक्ति सेनाका केही सदस्य दिलमान सिंह थापा, कुलमान सिंह गुरुङ्ग, केहरसिंह लामा, सुन्दरराज चालिसे, हर्कलाल श्रेष्ठ, पूर्णबहादुर खवास, वीरमान माझी, आइते माझी, श्रीमान् माझी, नीरमान माझी आएका थिए । वि.सं. २००७ श्रावण बनेपामा हर्षलाल श्रेष्ठको घरमा आइपुगे । यो हतियार कसरी काठमाडौं पु¥याउने भनेर गणेशमान र सुन्दरराजले योजना बनाए ज्यापुको भेषमा काठमाडौंमा गोविन्द सिंहको घरमा पुगेर बसे । राणाको गुप्तचरले गणेशमान काठमाडौं आएको थाहा पाएका थिए । गणेशमान जहाँ जहाँ लुकेर बस्छन् त्यहाँ त्यहाँ खानतलासी भयो । गणेशमानलाई जोगाउन गाह्रो हुने भयो भनेर जुनसुकै जुक्तिले पनि बाहिर लानैपर्छ भनेर भारत पठाउने योजना भयो । काठमाडौंमा पर्चा छर्ने काम चलिरहेको थियो । भोलामान सिंह, उनकी श्रीमती, भोगेन्द्रमान, सुन्दरराज चालिसे पक्राउ परे । ठोरीमा, २ दिनको भोक केही खाएर पारी भारत जाउला भनेका गणेशमान भोक, प्यास मेटाउनलाग्दा हतियार धारी प्रहरीको घेराउमा परिहाले । भोलिपल्ट वीरगञ्ज चलान गरे । वीरगञ्जबाट काठमाडौं ल्याएर सिंहदरवारको विजुली गारतमा राखियो । काठमाण्डौंमा पक्राउ परेका र गणेशमानलाई प्रधानमन्त्री र रोलवाला राणाहरुलाई बम हानेर मार्ने योजना बनाएको अभियोगमा राजद्रोहको मुद्दा लगाए । थुनेपछि गणेशमानलाई राणाहरुले के के गरे ? गणेशमानलाई आठपहरियाले गैडाको छालाबाट बनाएको कोर्रा पानीमा भिजाउदै पटकौं हिर्काएपछि उनी भुइमा ढले । अनगिन्ति कोर्रा उनको शरिरमा बर्साउदा पनि माफि मागेनन् । इन्द्रजात्राको दिन राणा प्रधानमन्त्री र अन्य राणालाई मार्न खोजेको अभियोगमा गणेशमान सिंह, सुन्दरराज चालिसे, प्रतावविक्रम शाह, दिलमानसिंह थापा, कुलमानसिंह लामा, बद्रीबिक्रम थापा र पूर्णबहादुर खवास लगायत ११ जनालाई मृत्युदण्डको सिफारिस गरे । प्राणदण्ड, सर्वस्वहरण, दामल जस्ता सजाय दिन श्री५को लालमोहर चाहिन्थ्यो । मृत्युदण्डको विषयमा राजा त्रिभुवन र मोहनशमशेरका बीच तनावपूर्ण स्थिति सिजर्ना भयो । त्रिभुवन लालमोहर सदर गर्नेभन्दा पनि आफ्नो परिवारलाई कसरी भारतीय दूतावासमा शरण लिई बाहिर लिएर जाने सोचमा बढी तल्लीन थिए । यतिबेलै क्रान्तिकारीहरुले पनि राजालाई पाल्पा कसरी लान सकिन्छ भनेर सोच्दै थिए । वि.सं. २००७ कार्तिक २१ गते सोमबारका दिन शिकार खेल्ने निहुमा राजा त्रिभुवन आफ्ना परिवार लिएर भारतीय दुतावासमा शरण लिन पुगे । कार्तिक २६ गते राजा र राजपरिवार दिल्ली प्रस्थान गरे । त्यसै दिन नेपाली कांग्रेसले क्रान्तिको पहिलो प्रहार वीरगञ्जमा हमला ग¥यो । राणाले गणेशमानलाई दिन आँटेको मृत्युदण्डको सजाय असफल भयो । उनी लगायत सबै राजबन्दी मृत्युदण्डबाट जोगिए । गणेशमान जेलबाट कहिले मुक्त भए र त्यसपछि के भयो ? वि.सं. २००७ फागुन २ गते गणेशमान जेलबाट छुटे । काठमाडौं बासीले उनलाई अभूतपूर्व सम्मान र स्वागत गरे । १ सय ४ वर्षको राणा शासन ढल्यो । वि.सं. २००७ फागुन ७ गते त्रिभुवनले प्रजातन्त्रको घोषणा गरे । राणा कांग्रेसको संयुक्त सरकारमा वीपी गणेशमान सहभागी भए । यस क्रममले आन्दोलनको एउटा अध्याय समाप्त भएको थियो भने मुख्य काम गर्न बाँकी नै थियो । यो सरकारको जिम्मा संविधानसभाको चुनाव गरी प्रजातान्त्रिक संविधान बनाएर जनताबाट चुनिएका प्रतिनिधिको सरकारलाई देशको शासन व्यवस्था संचालन गर्न दिनु थियो । राणा कांग्रेस सरकार धेरै समय टिक्न सकेन कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि मोहन शमशेरको सरकार ढल्यो । २००८ मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा राजाबाट अर्को मन्त्रिमण्डल गठन गर्ने काम भयो । राजाले खेल्न थाले त्यसपछिको बाटो सहज भएन । गणेशमान नेपाली कांग्रेसको सभापतिको प्रत्यासी कहिले भए ? वि.सं. २०१२ सालमा वीरगञ्जमा भएको पार्टीको महाधिवेशनमा गणेशमान सभापतिमा उठेका थिए । गणेशमानले आफ्नो सभापति उम्मेदवारको कार्यक्रमका रुपमा आफुलाई भोट दिए म पार्टीलाई संघर्षको कार्यक्रम दिन्छु, पार्टीलाई संघर्षमा लैजान्छु भने । पार्टी कार्यसमितिले सुवर्ण शंशेरलाई सभापतिमा उठायो । एक किसिमले पार्टीको खिलाफ लडेको जस्तो पनि भयो । यस अधिवेशनमा वीपी कोइरालाले गणेशमानलाई भोट दिदा यो फाइदा, यो बेफाइदा र सुवर्ण शंशेरलाई भोट दिदा यो फाइदा यो बेफाइदा हुन्छ; त्यसो भएको हुँदा साथीहरुले जिम्मेवारी पूर्वक भोट दिनु होला भनेर वक्तव्य निकाले । यस अधिवेशनमा सुवर्ण शंशेर सभापतिमा विजयी भए र उनको मत २ सय ७१ आयो भने गणेशमान सिंहको १ सय ३६ मत आएको थियो । महाधिवेशनमा हारेपनि गणेशमानको भूमिका पहिलेकै किसिमको रह्यो । पार्टी एक ढिक्का भएर अघि बढ्यो । राजाले खोलो तरेपछि लठ्ठी विर्सिएझै गरे । कांग्रेसले भद्र अवज्ञा आन्दोलन, सत्याग्रह ग¥यो । गणेशमान २०१५ सालको चुनावमा कहाँबाट लडेका थिए ? नेपाली कांग्रेसले वि.सं. २०१४ भदौ २२ बाट भद्रअवज्ञा आन्दोलन ग¥यो । यो आन्दोलन लामै समयसम्म चल्यो । प्रजातान्त्रिक मोर्चाले पनि वि.सं.२०१४ मंसिरदेखि सत्याग्रहको आन्दोलन गर्यो । यहि आन्दोलनको दवावमा वि.सं. २०१४ पुस १ गते राजाले चुनावको घोषणा गरे । नेपाल अधिराज्यको संविधान २०१५ घोषणा गरेपछि वि.सं. २०१५ फागुन ७ गतेबाट आमनिर्वाचन गर्नेगरी कार्यक्रम घोषणा भयो । चुनाव गराउन सुवर्ण शंशेरको अध्यक्षतामा चुनावी सरकार बन्यो । राजालाई कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था छैन भन्ने परेको थियो । गणेशमानले काठमाडौं क्षेत्र नं.१ बाट १०,९६८ मत ल्याएर विजयी भए । कांग्रेसको देशभरबाट दुई तिहाई विजयी भयो । यसपछि बनेको मन्त्रिमण्डलमा सबै भन्दा स्पष्टवक्ता आफ्ना कुरा दृढतापूर्वक राख्न सक्ने व्यक्ति गणेशमान थिए । राजाले नेपाली कांग्रेस भित्र विवाद सृजना गराउने र सरकार असफल बनाउने काममा लागि रहेका थिए । २०१७ साल पुष १ गतेको घटना कसरी भएको थियो ? वि.सं. २०१७ साल पुष १ गते तरुणदलको अधिवेशन उद्घाटन समारोहमा वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईm सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्माको उपस्थिति थियो । कार्यक्रम चलिरहेको बेला २ जना सेना दरवारबाट खवर लिएर आए श्री५बाट तुरुन्त आउनु भन्ने खवर आएको छ । समरराज कुवर र अरु सेनाले प्रधानमन्त्री र सभामुखलाई सिंहदरववार तर्फ लगे । त्यसैबेला वीपीले सूर्यबाबु र गणेशमानलाई आफ्नो गाडीतिर लान खोज्दा वीपीलाई अगाडिको गाडिमा र अरु पछाडिको गाडिमा लगे । गिरफ्तार गरेपछि ११ बजेबाट ३ः३० सम्म चारैतिर अन्यौलपूर्ण वातावरण सृजना भएको थियो । ३ः३० बजे राजा महेन्द्रले मौजुदा सरकार विघटन गरी सदन भङ्ग गरेको समाचार रेडियोबाट प्रसारण गरे । महेन्द्रको एउटै घोषणाले देशमा हुकुमी शासन सुरु भयो । वीपीलाई सिंहदरवार भित्रको विलियड रुममा राखियो । सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई बरफबागमा राखिएको थियो । दोहोरो संवाद हुने अवस्था थिएन । प्रधानमन्त्री र मन्त्रीहरुको घरमा खानतलासी गरियो । महेन्द्रले २२ गते दलहरु माथि प्रतिबन्ध लगाए । २००४ सालमा पद्म शमशेरले तयार गरेको संविधानलाई केही मिलाएर महेन्द्रले पंचायती व्यवस्था लागु गरे । फेरि गणेशमानहरुको बन्दी जीवन कस्तो थियो ? उनीहरुको बाहिरी दुनियाँसँग सम्बन्ध विच्छेद गरिएको थियो । जेलभित्रै रहेका बीच पनि भएका पुस्तक, पत्रपत्रिका आदानप्रदान गर्न समेत बन्देज गरिएको थियो । थुनिएका होराप्रसादलाई केही दिन पछि छोडियो । भरत शमशेरलाई ३ महिना पछि छोडियो । ६ महिना पछि वीपी, गणेशमान, जमानसिंह, दिवानसिंह, शिवराज र प्रेमराजलाई एउटा कोठामा र रामनारायण मिश्र लगायतलाई अर्को कोठामा राखिएको थियो । यसपछि सुन्दरी जेलमा १० जनालाई राखिएको थियो । त्यसपछि ८ वर्ष जेल राखेर वि.सं.२०२५ कार्तिक १४ गते कृष्णप्रसाद भट्टराई बाहेकलाई छोडियो । कृष्णप्रसाद भट्टराई अझ पछिसम्म पनि जेलमा नै रहे । जेलबाट छुटेपछि गणेशमानले के के गरे ? गणेशमानको विचार थियो देशभित्रै बसेर पंचायतको विरोध गर्दै प्रजातन्त्र पुनःस्थापना गर्ने । पंचायती शासकको निर्ममताले गर्दा उनी देशभित्र बस्न सक्ने अवस्था भएन । गणेशमान भारत निर्वासनमा गएपछि केही समय सुवर्ण शंशेरसँगै कलकत्तामा बसे । त्यहा केही उपचार गराएपछि उनी बनारस तर्फ लागे । सुरुमा १ वर्ष पिसाचमोचनमा बसे त्यसपछि शैलजा आचार्य, नीलाम्बर पन्थी, ध्यानगोविन्द रञ्जित सबैसँगै राजघाटको डेरामा बसे । त्यसबेला उनीहरुको आर्थिक अवस्था ज्यादै खराव थियो । २०२९ तिर वीपीको सल्लाहमा गणेशमान गोरखपुरको मेहदीपुरमा खोलिएको सम्पर्क कार्यालयमा खटिए । २०२९ देखि ३१ सम्म कांग्रेसले सशस्त्र क्रान्ति संचालन ग¥यो । त्यस समयमा समाजवादी कक्षा वीपी र गणेशमानले दिने गरेका थिए । २०३३ पुस १६ गते नेपाल फर्कने विषयमा गणेशमानको दृष्टिकोण कस्तो थियो ? नेपाल फर्कने विषयमा वीपी र गणेशमानको धारणा अलि फरक थियो । गणेशमानले वीपीलाई भने- नेपाल जानु भनेको फाँसीको फन्दामा जानु हो, त्यसरी मर्नु भनेको आत्महत्या गरे सरह हो त्यसैले त्यो निर्णय फिर्ता लिनुस् । वीपीले गणेशमानलाई भने भारतमा बसे स्लो डेथ हुने भयो नेपालमा गइयो भने आत्महत्या हुने भयो अब हामीले कुनै एक त रोज्नुप¥यो । यो विदेशी भूमिमा म एकछिन पनि टिक्न नसक्ने भए तपाईले सल्लाह दिनुहोस् मलाई वीपीले भने । सबै कार्यकर्ताको विचार वीपी गणेशमान सँगै नेपाल फर्किउन भन्ने थियो । त्यसपछि गणेशमान सहमत भए । गणेशमानलाई पनि विभिन्न मुद्दाहरु लगाइएको थियो । ८ वर्षको निर्वासन त्यागेर मेलमिलापको नीति लिएर वि.सं. २०३३ पुस १६ गते नेपाल आए । त्यस पछि छुट्टै किसिमको राजनीतिक हलचल पैदा भयो । विद्यार्थी आन्दोलनले गर्दा राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रहको घोषणा गरे । जनमतसंग्रहलाई गणेशमानले कसरी हेरेका थिए ? राजाले जनमतसंग्रहको घोषणा गरेपछि वीपीले विनाशर्त स्वागत गरे । तर गणेशमानले पञ्चायती व्यवस्थाका सबै निकाय निलम्बन र प्रशासनमा पनि आमूल परिवर्तन गर्नुपर्छ । अन्यथा जनमतसंग्रहमा धाधली हुने बहुदल पक्षको हार हुने भविष्यवाणी गरेका थिए । गणेशमानको विचारमा राजाले नेपाली जनताको मायाले जनमतसंग्रह घोषणा गरेका होइनन् आन्दोलनको राप खप्न नसकेर नाटकको रचना गरेका हुन् भन्ने थियो । राष्ट्रिय चुनाव आयोगले वि.सं. २०३७ वैशाख २० गते जनमतसंग्रह गराउने घोषणा ग¥यो । जनमतसंग्रहको घोषणा भएपछि राजनीतिक दलहरुको प्रतिबन्ध भएपनि खुलस्त कार्यक्रमहरु गर्न थाले । सुरुमा काठमाडौंको टुडिखेलमा भएको आमसभामा गणेशमान माथि हातपात गर्ने प्रयास भयो । बहुदलको पक्षमा विभिन्न कार्यक्रम गर्दैै गणेशमान देश दौडाहामा हिडे । कम्युनिष्टसँग मिल्न वीपीले इन्कार गरे । आखिरमा गणेशमानले भनेजस्तै भयो जेठ १ गते जनमतसंग्रहको परिणाम सुनाउदा निर्दलको पक्षमा ५५ प्रतिशत र बहुदलको पक्षमा ४५ प्रतिशत भनेर सुनाइयो । बहुदललाई नियोजित रुपमा हराइयो । गणेशमान जनमतसंग्रहको परिणाम सुनेर क्रुद्ध भए । २०३८ को पंञ्चायतले गरेको आमनिर्वाचन बहिष्कार गरे । पञ्चायतको ज्याजतिको विरुद्ध आन्दोलन चलाई रहे । त्यही आन्दोलनको निरन्तता नै २०४२ सालको सत्याग्रह थियो । सत्याग्रह आन्दोलन कहिले सुरु भयो ? वि.सं. २०४२ सालको प्रारम्भमा नै गणेशमानको निवासमा नेपाली कांग्रेसको सम्मेलन भयो । उक्त सम्मेलनमा कार्यकर्ताले सत्याग्रह गर्ने प्रस्ताव राखे । गिरिजाप्रसादले सत्याग्रह गर्दा मेलमिलापको नीति विपरित हुन्छ कि भन्ने भनाइ राखे । छलफल पछि जेठ १० गतेदेखि सत्याग्रह गर्ने भनेर जेठ १ गते राजालाई स्मृतिपत्र बुझाए । १० गते सत्याग्रह सुरु भयो । सत्याग्रहमा १०औं हजार मानिस थुनिए । मंसिर २५ गते टङ्कप्रसाद आचार्यको घरमा मानवअधिकारवादीको छलफल कार्यक्रममा गणेशमान पनि उपस्थित थिए । उनले सम्पूर्ण पञ्चायत बाहेकका शक्तिलाई संयुक्त जनआन्दोलनमा जुट्न आह्वान गरे । दोस्रो पटक भएको स्थानीय चुनाव वि.सं. २०४३ चैत २० मा कांग्रेसले आउटपोष्ट कब्जाको रणनीति अनुसार भाग लियो । के २०४६ सालको आन्दोलन अघिका आन्दोलनकै निरन्तरता थियो ? गणेशमानको उद्घोष थियो अब नेपाली जनताले फेरि कसैको करिया बन्नु नपरोस् सबैलाई आआफ्नो ठाउँमा आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका थिए । वि.सं. २०४५ असोज ११ गते कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले पार्टीका सम्पूर्ण एकाई भङ्ग गरिदिए । गणेशमानले सभापतिको निर्णयको स्वागत गरे र पार्टीको पुर्नगठन गर्नुपर्ने आवश्यकता बताए । कांग्रेस आन्दोलनको तयारीमा लागेको थियो । यसै समयमा पूर्वाञ्चलमा ठूलो भुकम्प गयो कांग्रेसले आन्तरिक तयारीलाई केही समयका लागि स्थगित ग¥यो । वि.सं.२०४५ मंसिर ८ गते गणेशमानले राजासँग भेटेर भने पार्टी माथिको प्रतिबन्ध हटाएर राष्ट्रिय सरकार बनाई निष्पक्ष चुनाव गराउनु पर्छ । गणेशमानका कुरा सुनेर राजाले म सोचेर भेटौंला भने । त्यसपछि केही समय गणेशमान राजाका कुराको प्रतिक्षामा रहे । राजाबाट गणेशमानले सोचेजस्तो कुनै कदम चालिएन । त्यसपछि वि.सं. २०४६ जेठ ३ गते भने अब हामी आन्दोलनमा उत्रन बाध्य भएका छौं । वीपीको ७६औं जन्मदिवसको अवसरमा गणेशमानले वि.सं. २०४६ भाद्र ३० गते जनआन्दोलनको आह्वान गरे र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पनि आन्दोलनको निर्णय ग¥यो । करिव १ वर्षसम्म बाटो हेर्दा पनि राजाले कदम नचालेपछि गणेशमानले वि.सं. २०४६ कार्तिक २४ गते आफु ७५ वर्ष पुगेको उपलक्ष्यमा आफुलाई शुभकामना दिन आएका नेता कार्यकर्तालाई आन्दोलन गर्नुपर्छ भन्ने उद्घोष गरे । उनले बामपन्थी नेताहरुसँग पनि संयुक्त मोर्चा बनाएर आन्दोलन गर्न आह्वान गरे । वि.सं. २०४६ माघ ५, ६ र ७ गते गणेशमान निवासमा सम्मेलन भयो र फागुन ७ गतेबाट आन्दोलन गर्ने निर्णय भयो । वि.सं. २०४६ सालको आन्दोलन कसरी अघि बढ्यो ? जनआन्दोलन सुरु हुनु भन्दा अघि नै नेताहरुलाई नजरबन्दमा राख्ने, थुन्ने, पक्रने काम भइसकेको थियो । वि.सं. २०४६ फागुन ७ गते नेपाली जनता जीवन-मरणको दोसाँधमा रहेर भए पनि आन्दोलनमा निस्किए । कांग्रेस, वाममोर्चाका कार्यकर्ताहरुले आआफ्नो पार्टीको झण्डा बोकेर जुलुसमा निस्के । पञ्चायतको पुत्ला जलाए, राती बत्ति निभाउने, मसाल जुलुस निकाल्ने, कोणसभा, पर्चा छर्ने गर्दै आन्दोलन चर्कदै गयो । आन्दोलन सुरु भएको ३ दिनमा १२ जना आन्दोलनकारीलाई पंञ्चायतले गोलि हानेर मार्यो । यसपछि स्वास्थ्य कर्मी, वकिल, शिक्षक, प्राध्यापक, इन्जिनियर, डाक्टर, विद्यार्थी सबै आन्दोलनमा उत्रिए । जनताले बन्दुकको ख्याल नगरी महेन्द्रको शालिकबाट राजदण्ड झिकेर पार्टीका झण्डा राखिदिए । त्यहाँ मेसिनगन लिएर बसेकाले कति आन्दोलनकारी मारिए थाहा छैन । आन्दोलन अन्तिम लक्ष्यतिर पुगिसकेको थियो । राजा बहुदलीय व्यवस्था दिन सहमति भएको खवर दरबारबाट आयो । त्यसपछि चैत २६ गते साझमा केही नेताहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, साहना प्रधान र राधाकृष्ण मैनाली गणेशमानलाई भेट्न वीर अस्पतालमा आइपुगे । गणेशमानले भने अनुसारनै राजासँग कुरा गर्न चारै जना दरवार तर्फ जाने कुरा भयो । वि.सं. २०४६ चैत २६ गते राति ११ः३० मा राजाले पार्टी माथिको प्रतिबन्ध हटाई पञ्चायतको विघटन, बहुदलीय व्यवस्था र संवैधानिक राजा भएर बस्न मञ्जुर गरे । चैत २७ गते सर्वोच्च कमाण्डर गणेशमानले खुलामञ्चमा भाषण गरेर भने हामीले मागेको बहुदल हो त्यो पाएका छौं । अरु प्राविधिक कुरा पुरा हुन बाँकी छ । पूर्णप्रजातन्त्र ल्याउन सबै एकजुट भएर लाग्नु पर्छ भन्ने गणेशमानको संबोधन थियो । अन्तरिम सरकार कसरी गठन गरिएको थियो ? वि.सं. २०४६ चैत २८, २९, ३० गते देशभर जुलुश आमसभा भई रहे । वि.सं. २०४७ बैशाख २ गते परिस्थिति अचानक बदलियो । त्यसदिन राजकीय प्रज्ञा प्रतिष्ठानको भवनमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा र आन्दोलनकारीका बीच वार्ता चलिरहेको थियो । त्यसैबेला १०औं हजार आन्दोलनकारीले प्रज्ञाभवन प्रवेश गरेर घेरे । पंचायतका सबै निकायको खारेज गरी चन्द सरकारको बर्खास्तगीका साथै नयाँ सरकार गठनको माग राखे । चन्दले जनताको आक्रोश थाम्न नसकिने महसुस गरेर बिहान ३ बजे प्रज्ञाभवनबाट बाहिरिएर सिधै दरवार गएर राजीनामा दिए । त्यसको केही घण्टामा नै राष्ट्रिय पञ्चायत, पञ्चायत नीति तथा जाँचबुझ समिति र पञ्चायतका ६ वटा जनवर्गीय संगठन विघटन गरिएको घोषणा गरियो । अन्ततः बैशाख ३ गते पञ्चायती व्यवस्थाको जरो उखेलियो । त्यसपछि मात्रै गणेशमान सिंहले भनेको माग पुरा भयो । अनि गणेशमान र राजा वीरेन्द्रका बीच भेट भयो । भेटमा गणेशमानले राजाकै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखे । राजाले गणेशमानलाई प्रस्ताव गर्दा आफ्नो स्वास्थ्यको कारण देखाई पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गरे । कांग्रेसका ३ जना, वाममोर्चाका ३ जना र स्वतन्त्र २ जना र राजाका तर्फबाट २ जनागरी १० सदस्यीय मन्त्रिमण्डल बन्यो । यस मन्त्रिमण्डललाई कार्यपालिका र व्यवस्थापिका दुबैको अधिकार दिइएको थियो । साथै १ वर्षमा संविधान बनाएर चुनाव गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मा पाएको थियो । वि.सं. २०४७ कार्तिक २३ गते नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । वि.सं. २०४८ वैशाख २९ गते आम निर्वाचन गर्ने निर्णय गर्यो । निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजय भए । कांग्रेसको बहुमत आयो । गणेशमान प्रस्तावक र कृष्णप्रसाद समर्थक भएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । कांग्रेस आफ्नो ८ औं महाधिवेशनको तयारीमा लाग्यो । नेपाली कांग्रेसको महाधिवेशनमा के के भयो ? कृष्णप्रसाद भट्टराईले गणेशमानको घरमा गएर भने म कति का.वा. सभापति भएर बस्ने वीपीका खराउ लिएरै बसेको छु । यसपटक सभापति उठ्ने विचार गरेको छु । तपाईले एकपटक मलाई मौका दिनु पर्यो भनेपछि गणेशमानले हुन्छ भनेछन् । झापाको कलवलगुडिमा पार्टीको महाधिवेशनबाट सर्वसम्मत रुपमा कृष्णप्रसाद भट्टराई सभापति भए । भोलिपल्ट गणेशमानले प्रधानमन्त्रीको राजिनामा मागे र पार्टी सभापतिले प्रधानमन्त्रीलाई कार्वाही गर्नुपर्ने माग राखे । गणेशमानको यो कुरा सुनेपछि नेपाली कांग्रेसले अधिवेशनबाट प्रस्ताव पास गर्दैै भन्यो- अबदेखि गणेशमानको चित्त दुखाउने काम पार्टीबाट हुनेछैन । गणेशमानले राजनीतिबाट सन्यास लिनुहुने छैन । प्रमको राजीनामा अप्रसाङ्गिक भएकाले राजीनामा दिनुपर्ने छैन । त्यसपछि गणेशमानको राजनीतिक कार्यक्रम कसरी अघि बढ्यो ? गणेशमानले हिजो राखेको माग पुरा नुहने लागेर वि.सं. २०५० सालदेखि जागरण अभियान थालनी गरेर मेची-महाकाली यात्रा गर्ने निर्णय गरे । त्यो जनजागरण किन र कसका लागि ? भन्ने प्रश्न थियो । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको संवर्धन र जनआन्दोलनको भावना र उपलब्धिको जगेर्ना गर्नुपर्छ भन्ने गणेशमानको भनाइ थियो । यो जागरण अभियान चल्दा चल्दै वि.सं. २०५१ असार २६ गते संसद्मा सरकारको नीति कार्यक्रम कांग्रेसका सांसद अनुपस्थित भएर फेल भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणा गरे । गणेशमान यसको विरोधमा जन कांग्रेसको पृष्ठभूमिमा मेची महाकाली अभियान चलाए । २०५१को मध्यावधीमा कांग्रेस पराजय भयो । यि सबै घटनाले गणेशमानलाई निरास बनाएको थियो । सानातिना कुरा बढेर ठूला भए अनि गणेशमान, किसुनजी र गिरिजाबाबुका बीच खाडल बन्यो त्यही कारणले देश द्वन्द्वमा फस्यो । पार्टीका संस्थापक सदस्य पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने एउटा सिपाही क्रान्तिका कमाण्डर ७९ वर्षीय गणेशमानले करीव छ दशक लामो राजनीतिक यात्रा पछि वि.सं. २०५१ भदौं २७ गते आफ्नै सक्रियतामा निर्माण गरेको नेपाली कांग्रेस पार्टी परित्याग गरेको सूचना सार्वजनिक गरे । गणेशमानलाई अविश्रान्त यात्री भन्न मिल्छ ? गणेशमान जीवनको प्रारम्भदेखि नै भ्रमण प्रिय थिए । जीवनलाई कहिल्यै स्थिर राखेनन् । उनको स्वभाव चञ्चल देखिन्छ । जीवन निश्चित गन्तव्यमा पुगेर रोकिने कुरा होइन भन्थे उनी । उनले जीवनलाई निरन्तर यात्राको रुपमा हेरेका थिए । आफ्नो वाल्यकाल, पढाई, अन्य कुरामा पनि उनी कहिल्यै चुप लागेर बस्न सकेनन् । राणा शासन अन्त्यका लागि एउटा गन्तव्य बनाएका थिए । त्यो अन्त्यका लागि निरन्तर खटिइरहे । प्रजापरिषद् पार्टीमा रहेर निरन्तर जोखिम मोलिरहे । त्यसपछि कांग्रेस पार्टीको स्थापना गरेर पनि आफुलाई निरन्तर जोखिममा राखिराखे । हिजो जेलमा बस्दा मानसिक शारिरिक यातना थियो । त्यसलाई पनि सहज रुपमा स्वीकार गर्दै बसे । त्यसपछि पनि जस्तो सुकै समस्या आएपनि राजनीतिक अभियानमा उनी निरन्तर लागि नै रहे । जीवन कुनै ठाउँमा रोकिदैन भन्ने कुरालाई उनले अभ्यासका रुपमा पुष्टि गरेका छन् । त्यसैले उनलाई अविश्रान्त यात्री भन्न मिल्छ । अरु थप यस किताबमा के के छ ? धेरै कुरा छन् । तर पनि म यसका केही शिर्षक मात्र पनि भन्न चाहन्छु । गणेशमानको एक व्यक्ति अनेक व्यक्तित्व यसमा छ । गणेशमानको अविश्रान्त यात्रा यसमा पाइन्छ । गणेशमान स्वाभिमानका शिखरमा देखिन्छन् । त्यसैगरी गणेशमानको राजनीतिक जीवनमा पारिवारिक भूमिका यसमा छन् । सिर्जना र क्रान्तिका कथामा गणेशमान भेटिन्छन् । यो सबैले अध्ययन गर्नै पर्ने पुस्तक छ । जय नेपाल !

    • शनिवार, बैशाख १३ २०७७०६:४७:३५
    सम्बन्धित समाचार
    विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट