Logo
बिहिवार, जेठ १५ गते २०७७

सूर्यनारायणको दर्शनः एक लकडाउन डायरी (कथा)

सूर्यनारायणको दर्शनः एक लकडाउन डायरी (कथा)

सूर्यनाथ शर्मा अचेल आफ्नै घरभित्रको जेलमा कैदी बनेका छन् । उनले सम्भवतः यस्तो त्रासदिपूर्ण हालतमा घरभित्रैको बन्धनमा काटेको यो पहिलो घटना होला । पहिले भूकम्पले दिएको त्रासमा घर छोडेको अनुभव उनले भुलेका छैनन् । ताजै छ । काठमान्डुमा बस्ने धेरैजसो एकल परिवारजस्तै उनी पनि सानो परिवारमा रमाएर बसेका छन् । र धेरैजसोका जस्तै उनका पनि मातापिता भ्याली बाहिर छन् । उनीहरू पनि आम जागिरे र व्यापारी कामकाजी ड्याडी–ममी हुन् । उनकी श्रीमती जुनु पनि उनीसँगै शरणार्थी भएर बाँचेकी घरपालुवा स्वास्नी हुन् । उनीहरू लोकन्थली भक्तपुरमा बच्चा बच्चीसँग बस्ने गरेका छन् । सूर्यनाथ सर्वोच्च अदालतमा अधिकृतका रूपमा कार्यरत छन् । गठ्ठाघरमुनि हनुमन्ते खोलाको किनारामा यसो चारआना माटोमा पैसा रोपेका छन् । विश्वव्यापी रूपमा माहामारी कोभिड १९ को प्रकोपबाट बचाउका लागि लकडाउन भएपश्चात सबै घरमा थुनिए । अटेरी भएर भाग्नेहरू भागे । कतिपय बाठाहरूले परिवार पठाएर ‘अकेले राज’ गरौँला सोचेर पनि बसे होलान् । नगएका अथवा जान नसकेका परिवारहरूमा कति बुज्जकी छन् कति अटेरी केटो मोह कति अटेरी बाउ मोह टाइपका पनि छन् । तर सबै अटेरी बन्न नसक्ने अवस्था पनि आउँदोरहेछ । सिंगल भएका भए हुने सम्भावित अटेरी ड्याडीहरू कमसेकम यसकारण पनि अटेरी भएका छैनन् कि– ‘छोराछोरीलाई सर्ला’ भन्ने त्रासले उनीहरूलाई घरभित्र अड्काइरहेको छ । अर्को कारण उनका छोराछोरीकी ममीहरूको दप्काइ दोस्रो कडा बन्धन बनेको छ । अर्थात् सूर्यनाथकी जुुनुको जस्तो रापिलो दप्काइ । सूर्यनाथ कहिलेकाहीँ साथीभाइसँग भन्ने गर्छन्, ‘जुनुको राप त आगोको भन्दा पोल्ने छ ।’ साथीभाइ पनि के कम, सूर्यनाथलाई व्यंग्य कस्छन्, ‘जुनबाट निस्केको आगोको राप साँझ परेपछि सूर्यको रापले भस्म पार्दिन्छ ।’ उनी एक कानले सुनेर अर्को कानले उडाउने बाहेक केही गर्न सक्दैनन् ।

०००

चिया र चुरोटको तलतल, सोमरसको प्यास, बाटामा हिँड्ने परीहरूको मौनदर्शनको लड्डु यो पनि त एक किसिमको अम्बल नै हो । उमेर जत्रो भए पनि रसिक ठट्यौले केटौले मनलाई । बलिस्ठ माचो र चकलेटी हेन्समहरूको दर्शनमा रमाउने धर्तीकी परीहरूको पनि कमी छैन । यो उल्लेख गरेन भने मलाई दाजुभाइले मनमनै सराप्छन् । परीहरूको हर्मोनमाथि अन्याय हुन्छ । बिचरा चोट पर्छ नि । तर यो मामलामा निश्चित रूपमा सख्त तन्नेरीहरूको मनको लड्डु खाने अम्बल स्वभावतः बेसी छ । चियापसलमा भेला भएर चुरोट खाँदै खान्नँ भन्ने सूर्यनाथका साथीहरू पनि ७ जना साथीले उडाएको चुरोटको धुवाँले रिनिन्न भएर देशै बनाउँथे । ‘लु न त दिम एक दुई सर्को, आज फलानो कारण छ भन्ने जस्ता उनका दौँतरीहरू पनि गफैले कहिले फिल्म बनाउँथे देशै बनाउँथे । सूर्यनाथ यस मामलामा सबैभन्दा अगाडि थिए । नेताको नैतिकता र व्यापारीको व्यापार । कमाइको हिसाब र छलीको सिलसिला अख्तियार र सिआइबीले भन्दा फास्ट पत्ता लगाउन खप्पिस । हलोदेखि हाइड्रोसम्म प्लान एनालाइसिस गर्न भ्याउँथे । चियाको चुस्कीको स्वादमा हराएर ट्रम्पलाई गाली गरेर पुटिनको तारिफ गर्दै किमलाई स्याबासी दिँदादिँदा सेलाउने चियाको सर्कोको अम्बल यही श्री १९ कोभिडेश्वर भाइरशेश्वर महामारीको लकडाउनकै कारण केही समयलाई सही चटक्कै छोड्न सक्नु कम्ता ठूलो कुरा हो ? सूर्यनाथको छाती ढक्क फुल्यो– मानौँ उनले नै घामलाई ज्योति दिएका हुन् । नेपाली वीर र बहादुर एकैपटक नभएको भए यत्रो लकडाउन को पालना गर्न सक्थे र उनले ? भारतमा दिनहुँ पुलिस र स्वास्थ्यकर्मीहरू कुटिरहेका छन् हिन्दुस्तानीहरूले । हाम्रा नेपाली वीर र बहादुर नभैदिएको भए यहा कहाँ सक्नु ? समाचार हेर्छन् र आफ्नो मनको अदालतको एकल इजलासबाट आफैँ फैसला सुनाउँछन् । धन्न घरकी ‘जुन’को प्यार भरी हप्काइ–दप्काइ र तामाका मुना जस्ता फूलका कोपिला जस्ता लालाबालाको मोहले एक एक एक घण्टामा तान्नुपर्ने चुरोटे अम्बल कम्ता भएर उनको आयु घटिरहेको फोक्सोले आनन्दको सास फेरिरहेको छ । किचेनका काममा सास फेर्न नपाउने जुनुलाई सूर्यनाथले जिउ तन्काउने बहानामै भए पनि हेल्प गरिटोपलेका छन् । उठ्दा बाउ नदेख्ने र सुतेपछि बाउ आउने अभागी लालाबालाले आफ्नो बाउको काख पाएका छन् । बिहानको धपेडी, दिउँसोको दौड र बेलुकै हतारो हुँदा लुगा र पसिना अनि साबुनपानीले ढुसी पलाएको जिउले कोरोनाकै नाममा घामको ताप्न पाएको छ । यो सबै श्री १९ कोभिडेश्वर महादेवले सम्भव गराइदियो ।

०००

कोभिडेश्वर महादेवको दर्शन पाएपछिको दिनचर्याको कथा सुरुः बिहान मनमर्जीले जति बजे मन लाग्छ उति बजे उठेर आफ्नो नित्यकर्म सकेर सरसफाइ । अनि चियाबाट सुरु । सके दूध मगाएर साबुन पानीले पोका नै धोएर भए पनि दुधे चिया नै सुक्र्याइरहेका छन् । नसके चुर्लुङ कम्युनिस्ट चियामै दिन सुरु गर्छन् सूर्यनाथ । रवि दाइकी ठूली भक्तिनी हुन् जुनु । सूर्यनाथको बिहानी ‘सूर्यधूप’बाट सुरु भएझैँ जुनुको ‘रविभजन’बाट । जुनुदेव ‘रवि’ दाइले भनेजस्तै आजकल सेकेन्ड सेकेन्डमा नाक कानको उत्खनन गर्दै चोइली उक्काएर निस्कासन क्रम पनि हुन कम भएको छ । गरिहाले पनि स्यानिटाइजर र ह्यान्डवासले पूर्ण अस्तित्वका साथ रोजगारी पाएको छ । सूर्य, जुनु र उनीहरूका नानी सबैको दिनचर्या बडो क्रियटिभ भएको छ । कामै छैन गर्ने । तर फुर्सत हुन्न । तुरुन्तै काम जन्मिहाल्छ । पहिले पहिले स्कुल सकेर आउनेबित्तिकै टोलका दौँतरीसँग बेत्तातोड बेपत्ता हुने ‘पुन्टे’ छोरो । आजकल कम्प्युटर गेममा मस्त हुन्छ । ड्याडीको मोबाइलमा नजर लगाइरहन्छ । जन्मिँदै ड्याडीममीको र घरकै हरियाली लक्षणी बनेकी छोरी रश्मिको दिनचर्या चाहिँ लकडाउन अगाडि र लकडाउनमा खासै केही फरक छैन । सानो छोरो ममीको हुन्छ कि ड्याडीको पाइन्छ । रश्मि एघार कक्षामा पढ्छिन, भाइ पुन्टे एकमा । लामो समय डिएक्टिभ गरेको मानव निर्माण कारखाना कम्पनी बन्द हुने बेलामा एकाएक फाइदामा गएपछि सानो छोरो जन्मिएको हो । रश्मि टिकटक र सेल्फीको लती । टिकटक एक्ट गरेर मर्जीको मेहेनत गर्ने, नाच्ने । सूर्यनाथ सोफामा पल्टेर क्वारेन्टाइन आन्दोलनको मोर्चामा भ्रष्टाचारविरोधी नारा घोकिरहेका छन् । यति नगरे फेरि अख्तियारको घुएँत्रोले आफैँलाई सेक्छ भन्ने सुर्ताले हाड न मासु भएका छन् । त्यही भएर त उनले अस्ट्रेलियामा बस्ने सालालाई पैसा पठाइदिएका छन् । पछि उनलाई सालाले पैसा पठाइदिन्छु भनेको छ– घर बनाउने बेलामा । उनी अफिस टाइमभरि सरकारको हनुमानगिरी गर्छन् । अफिस सकिएपछि अख्तियारको चम्चागिरी । कहिले माहुरी बनेर, कहिले अरिंगालको रुप धारण गरेर कुन झुण्डलाई आक्रमण गर्नुपर्ने हो मिलाईमिलाई गर्छन् । उनका कुरामा समर्थनका कमेन्ट आउँदा उज्यालिन्छ उनको मुहार । तर्कले भरिभराउ बलियो कमेन्टको छेप्यास्त्र आउँदा उनको मुहारको बेचैनी अलि बढ्छ । फ्रस्टेसनले मोबाइल टेबलमा छोडेर उठेर यताउती तन्किन्छन् । नहेरी चिहाइरहेकी जुनुको ममता भरिएको आवाज आउँछ किचनबाट, ‘कहाँ निस्किन खोज्या हँ हजुर ? पर्या छैन है त्याँ कतै जान । कस्तो चुर्ना परेको जस्तो भा हो ? नहिँड्नु है ।’ अघिको बलियो कमेन्टको रिसको राप जुनुतिर पोखिन्छ, ‘हैन कस्तो सोच हौ । अब मैले उठ्नै पो नहुने ? हे राम ! बाथरुम जान लाग्दा पनि शंका ओहो ! गज्जब छ यार । होइन मलाई चाहिँ के सोचेको होला ? रोग लिन म जान्छु होला ?’ सूर्यनाथले सबै स्पस्टीकरण एकै पटक पोखे । रन्थनिएर कमेन्टको रिस यता पोखे । कुल भए सायद । अब बुढीको रिस कमेन्टमा पोख्न जान्छन् । उताबाट छोरो गेमबाट रेस्ट हानेर आउँछ । ढोकामा लेपास्सिन्छ । ममीको हात जान्छ, ‘त्यता ढोका रेलिङतिर नटाँस्सी न बाबू ।’ तानेर यता ल्याउँछिन् र स्यानिटाइज गरिदिन्छिन् हात । चुर्ने छोरो अडिँदैन । टपक्क रिमोट टिपेर टोक्न थाल्छ । ड्याडी चाहिँ पड्किन्छन्, ‘हैन कस्तो हंग्रायो पाराको हो, रिमोटमा टोक्ने के छ केटा ?’ छोरो जुरुक्क उठ्छ भान्छातिर छिर्छ । बसेकी जुनु दौडेर उछिन्छिन् र भन्छिन, ‘पहिला हात धुन जाऊ छोरो ।’ हात धोएर आउँछ छोरो । उताबाट रश्मिको आवाज गुञ्जिन्छ, ‘ममी भाइले साबुनै नलगाई हात धोयो ।’ अब खायो केटोले । फ्रस्टु भएर दिदीलाई आँखा तर्दै साबुनतिर जान्छ केटो । उता बाउको कमेन्टको रिप्लाइको रिप्लाइ त आउन छोड्यो । जितेँ जस्तो आनन्दले । अब सूर्यनाथलाई सूर्यभगवानको दर्शनको तलतल लाग्यो । जुनुसँगको रिसको तोडले दिएको रिप्लाई दुश्मनलाई भारी परेछ क्यारे । अब कता जाने भन्ने केही नदेखेर नयाँ युद्धको घोषणा गर्न उनलाई सूर्यभगवानको शक्तिको जरुरत छ । तर सहज छैन । शक्ति सजिलै कहाँ पाइन्छ र ? संघर्ष जरुरत पर्छ । तह–तहमा मोर्चाबन्दी गर्नुपर्छ । र मोर्चाबन्दीको रिजल्ट पूरा हात लाग्नुपर्छ । यसै शक्ति कहाँ पाइन्छ ? हुन त अस्ति एक बट्टा ब्ल्याकमै भए पनि किनेको जगेडा सूर्यभगवानको शक्ति सम्झेरै उनको मन फुरुंग हुन्छ । अहो मसँग त छ भन्ने सोचेरै आँत शान्त हुन्छ सूर्यनाथको । दर्शन गर्न मन लाग्छ, चुम्न मन लाग्छ । तर प्यारीको बन्धन तोडेर बलेँसी बाहिर निस्किने दाउ उनलाई सहज हुँदैन । मौका हेर्दाहेर्दै र आइडियाका तानाबाना सोच्दै घन्टौँ बित्यो । जुनुलाई छक्याउँला भन्ने लेभलको कुनै आइडिया फुरेन । खाना खाएर सोसल मिडियाको गलफत्ती युद्धबन्दी, मोर्चाबन्दी, हनुमानपथ, अरिंगाल घेरा सबै सबै भ्याइसकियो । खाजा सुद्द खाइसके परिवारले । उनलाई सूर्यभगवान दर्शनको तीव्र्र चाहनाको जरुरतले छोरीले बजाएको गीतले समेत झर्को लगाउन थाल्ने बनाउँछ । ‘सानो पार् न नानी कत्रो बजाको के ।’ रश्मि मुखैमा जवाफ दिन्छे, ‘आफू चाहिँ कत्रो पारेर कपिल शो सुन्ने, रवि लामिछाने, भाग्य नेउपाने, अझ केरे रिसी धमला बजाउँदा म केही भन्दिनँ त । मलाई चाहिँ गीत सुन्दा पनि कराइसिन्छ ।’ एक त सूर्य भगवानको दर्शन प्यास, अर्को छोरीको शक्तिशाली तर्कले झनै लत्रक्क परेर किताब फ्याँक्दै बुढीतिर हेर्छन् रश्मिका ड्याडी । छोरो ओछ्यानमा लम्पसार परेको पारा पनि उनलाई नमिलेको लाग्छ । टोकस्छन्, ‘अलि सिधा सुत् न भरे ढाड दुखो भनेको सुन्न नपरोस् है केटा ।’ (उपर्खुट्टी लगाएर जिउ अष्टावक्र बनाएको छोरो जुरुक्क उठेर आँखा तर्दै फन्केर ढोका खोल्छ, यही बेला सूर्यनाथ पनि निस्किन्छन् ।) नरम बोलीमा नजिक जाँदै माया देखाउँछन्, ‘नसुत भनेको होइन त किन रिसाको ?’ यही मौकामा उनको मनको पर्खाइको तृष्णाको हद पार हुन्छ । ‘ल म बाहिर यसो फ्रेस भएर आउँछु है । रात पर्न लाग्यो दिनभरि भित्र भित्र तनावै भैसक्यो ।’ ड्याडी निस्केको देखेर छोरो फर्किन्छ । भित्रबाट कराएको आवाज सुन्निरहेको छ तर केही बुझिँदैन । ‘परे पर्ला गाली ।’ सूर्य भगवानको दर्शन पाएर रोगसँग लड्ने शक्ति बढ्ने विश्वासमा सूर्यनाथ शर्मा गेट खोलेर बाहिर निस्किन्छन् । हरेक घण्टा सूर्यभगवानको दर्शन गर्ने पुरानो बानी लकडाउनले गर्दा बिहानै ब्युँझिएदेखिको चाहना बल्ल साँझमा दर्शन पाउँछन् । (यो काल्पनिक हो अफेन्स महसुस नगर्नुहोला ।)  

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology