Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

लकडाउन नमान्नेहरू मानव जातिकै विरोधी हुन्ः डा. गुणराज अवस्थी (अन्तर्वार्ता)

लकडाउन नमान्नेहरू मानव जातिकै विरोधी हुन्ः डा. गुणराज अवस्थी (अन्तर्वार्ता)

  • 1.6K
    SHARES

  • कोरोना संक्रमणको विश्वव्यापी प्रभावबीचनेपालमा पनि यसको फैलावट बढ्दै गएको देखिएको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा गरी एकैपटक  तीनजना नयाँ संक्रमित भेटिएपछि कोरोना संक्रमण भित्रभित्रै फैलिएको अनुमान गर्न थालिएको छ । योसँग प्रदेशमा अहिलेसम्म ४ जना संक्रमित भइसकेका छन् । सुदूरपश्चिममा एकैपटक देखिएका तीन संक्रमित मध्ये एकजनामा पहिलोपटक स्थानीय रूपमै कोरोना सरेको पाइएपछि यो चिन्ता बढेर गएको छ । स्थानीय रूपमै कोरोना सर्नु संक्रमणको दोस्रो चरण मानिन्छ । सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढ्दै गएको सन्दर्भमा प्रदेशको स्वास्थ्य चुनौती, तयारी तथा परिपेक्ष्यका अन्य विभिन्न आयामका विषयमा सुदूरपश्चिम प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीसँग गरिएको कुराकानी सारगर्भित अंशः
    १. गत शनिबार ३ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ पुगेको छ । यस तथ्यले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य चुनौती थपिएको हो ?
    हो, चुनौती थपिएकै हो । यसले नेपालका सातवटा प्रदेशहरू मध्ये सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा परेको देखाउँछ ।
    २. नेपालमा कोरोनाको दोस्रो चरण अर्थात एउटा संक्रमितबाट अर्को संक्रमितमा स्थानीय रूपमा फैलिएको पहिलो घटना सुदूरपश्चिम प्रदेशमा देखियो, यसबाट के–कस्तो पूर्वानुमान गर्न सकिन्छ ?
    मैले पहिले पनि भनिसकेको छु, सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । यहाँ कोरोना स्थानीय रूपमै पहिलो केसबाट दोस्रोमा फैलिएको देखिनु स्वास्थ्य क्षेत्रका लागि चुनौती हो । अब दोस्रोबाट तेस्रो व्यक्तिमा नसरोस् भन्नका लागि हामी सम्पूर्ण प्रयास गरिराखेका छौँ । छिटोभन्दा छिटो बाहिरबाट आएका र क्वारेन्टाइनमा बसिरहेका मानिसहरूमा समेत कोरोनाको कुनै लक्षण देखिन्छ भने जाँच गरेर मुलधारमा ल्याउने हाम्रो प्रयास जारी छ । त्यसको लागि आजैबाट केही नयाँ कार्यक्रमहरू हाम्रो प्रदेशमा ल्याउँदैछौँ ।
    ३. भारतका विभिन्न ठाउँबाट पछिल्लो एक महिनामा झन्डै डेढ लाख नागरिक सुदूरपश्चिम भित्रिएका छन्, धेरैजसो नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकेर यहाँको स्वास्थ्य क्षेत्रको अवस्था चिन्ताजनक देखिन्छ । प्रदेश सरकारबाट के(कस्ता कमीकमजोरीहरू भएको देख्नुहुन्छ ?
    मानव जातिको इतिहास हेर्नुहुन्छ भने, हरेक सय वर्षमा एउटा महामारी आएको देखिन्छ । जसले विश्वव्यापी रूपमा मानव जातिलाई त्रसित पारेको छ। अहिले कोरोना त्रास संसारभरि फैलिएको छ । अमेरिका, फ्रान्स, इटाली, चीन जस्ता देशहरूमा अहिले जुन अवस्था देखिएको छ, त्यस्ता शक्तिशाली, विकसित राष्ट्रहरूमा पनि त्यति पूर्व तयारी रहेनछ भने नेपालमा त त्यति धेरै तयारी हुनसक्ने अवस्था थिएन । साथै सुदूरपश्चिम प्रदेशमा पनि तयारी थिएन । यसलाई कमजोरी भन्नु भन्दा पनि सर्वप्रथम व्यक्तिले के बुझ्नुपर्यो भने भारतबाट आएका मानिसहरू भारतको कुन ठाउँबाट आए त ? संक्रमण नफैलिएको ठाउँबाट आएका हुन् भने उनीहरूमा संक्रमण हुने सम्भावना एकदम न्यून छ । तर, भारतका जुन शहरहरूमा संक्रमण भएको छ, त्यस ठाउँबाट आएका मानिसहरूमा संक्रमण हुनसक्ने सम्भावना बढी हुन्छ । प्लेनबाट आउनेहरूको सवालमा उनीहरूसित निश्चित परिचयपत्र हुन्छ । नेपाल भारत खुला सिमाना भएका कारण पनि यसमा सरकारलाई दोष दिनुभन्दा भारतबाट आएका मानिसहरूले सचेत हुनुपर्ने देखिन्छ । उनीहरू कुन मितिमा नेपाल प्रवेश गरेका छन् र त्यसै अनुसार आफ्नो रेकर्ड नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई उपलब्ध गराइदिनुपर्यो । जसबाट हामीलाई पनि खोज्न सजिलो हुन्छ ।
    ४. चीनको एउटा सहरबाट सुरू भएको कोरोना संक्रमण इटाली, अमेरिका लगायतका अन्य मुलुकमा फैलिएर महाव्याधिको रूप लिइसकेको अवस्थामा नेपालमा पनि यस्तो अवस्था सिर्जना हुनसक्छ भनेर किन पूर्व तयारी गर्न सकिएन ?
    – अमेरिका, बेलायत, चीन जस्ता मुलुकमा समेत पूर्व तयारी थिएन भने हाम्रो देशमा तयारी गर्ने प्रयास गरिएको हो । कोरोना नियन्त्रणका लागि हाम्रो देशले धेरै राम्रो प्रयास गरिरहेको छ । राजधानीमा उच्चस्तरीय समिति, प्रदेश स्तरीय समिति, स्थानीय तहका समिति र वडास्तरीय समिति बनेका छन् । मान्छेहरूलाई क्वारेन्टाइनमा राख्नुपर्यो वा आइसोलेसनमा राख्नुपर्यो भने त्यसको लागि निर्देशिका बनेको छ । मुख्य काम भनेको स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू जुटाउने प्रयास गर्दागर्दै नेपालमा संक्रमण देखियो । स्वास्थ्य सामग्रीहरूको खरिद प्रक्रिया लामो हुन्छ । नेपाल सरकारले खरिद छोटो प्रक्रियाको गर्दै गर्दा अनेक विवाद देखा परे । त्यसैले यसलाई तयारी पटक्कै नगरेको भन्न मिल्दैन । सञ्चार माध्यमहरूबाट पर्याप्त मात्रामा नागरिकहरूलाई लकडाउन, होम क्वारेन्टाइन लगायतका सतर्कताका कुराहरूको सन्देश दिइरहेको अवस्थामा अझै मानिसहरू डुलिरहेका छन्, यसलाई व्यक्तिले कतिको पालना गर्दैछ भन्ने कुरामा भर पर्छ । यति गर्दागर्दै पनि मानिसहरू सतर्क हुँदैनन् भने ती भनेका मानव जातिकै विरोधी हुन् । त्यसैले हरेक नागरिकले लकडाउनको पालना गर्नु जरुरी छ।
    ५. सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशकको हैसियतले आम नागरिक र स्वास्थ्यकर्मीहरूलाई के सन्देश दिनुहुन्छ ?
    – म यतिबेला समन्वयकर्ताको भूमिकामा काम गरिरहेको छु । सुदूरपश्चिम प्रदेशमा भयावह अवस्थाकाे छनक देखा परिसकेको छ । ४ जनामा संक्रमण देखिएको हुनाले अब छिटो भन्दा छिटो यसको न्यूनीकरणको प्रयास गर्नका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्पूर्ण दातृ निकायहरू र हाम्रा स्वास्थ्य अधिकारीहरूसँग परामर्श भइरहेको छ । त्यस्तै नौवटै जिल्लाका स्वास्थ्य प्रमुख एवं डाक्टरहरूसँग सम्बन्धित ठाउँको गतिविधिका बारेमा सल्लाह हुँदै आएको छ । शंकास्पद व्यक्तिहरूलाई जतिसक्दो चाँडो टिम पठाएर काम गरिरहेका छौँ । काठमाडौँबाट आएको विज्ञ टोली तथा स्थानीय तहहरूमा पनि स्वयंसेवकहरू काम गरिरहेका छ्न् । क्वारेन्टाइनमा बसिरहेका मानिसहरूको नमुना परीक्षण जतिसक्दो चाँडो गर्ने तयारीमा म लागिरहेको छु ।

    • सोमवार, चैत्र २४ २०७६०६:१५:४०
    सम्बन्धित समाचार
    विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट