Logo
बिहिवार, जेठ १५ गते २०७७

गजल संगह ‘पर्दा’ विमोचन तथा रोयल्टी वितरण कार्यक्रम सम्पन्न

गजल संगह ‘पर्दा’ विमोचन तथा रोयल्टी वितरण कार्यक्रम सम्पन्न

गजलकार अनन्त अनुरागको गजल संग्रह ‘पर्दा’ सार्वजनिक भएको छ । रचनावाचन समूहले प्रकाशन गरेको ‘पर्दा’ गजल संग्रह लेखन कुञ्जमा चैत १ गते शनिवार सार्वजनिक भएको हो । अनुरागको गजल संग्रह ‘पर्दा’ को अतिथिहरू तथा सर्जक स्वयंले एक साथ विमोचन गरेका थिए । अतिथि डा. घनश्याम परिश्रमीले पर्दा संग्रहबारे बोल्दै गजलकार अनन्त अनुरागले आफ्ना रचनाहरूको माध्यमबाट आफ्नै छुट्टै पहिचान बनाइसकेको बताए । संग्रहमा परिश्रमीको शुभकामना राखिएको छ । प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले गजलकार अनन्त अनुरागको साहित्यिक भविष्य उज्यालो रहेको बताए । अनुरागले हरेक पटक आफूलाई पहिलेभन्दा झन झन अब्बल गजलकार बनाउँदै लगेकोमा उनले खुसी जनाए । यसअघि गजलकार कमल संघर्षको गजल संग्रह ‘सडक’ र छन्द कवि मनोज भण्डारीको कविता संग्रह ‘ईश्वरलाई चिठ्ठी’ रचनावाचनले प्रकाशित गरिसकेको छ । रोयल्टी हस्तान्तरण अनन्त अनुरागको गजल संग्रह ‘पर्दा’ विमोचनसँगै आयोजक रचनावाचनले रोयल्टी वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ । रचनावाचन च्यानल वि. सं. २०६८ सालबाट सुरु भएको हो । यस च्यानलले विभिन्न स्थानमा हुने साहित्यिक कार्यक्रममा स्रष्टा स्वयंले वाचन गरेका गजल, कविता, मुक्तक तथा अन्य रचना सम्बन्धी भिडियो राख्दै आएको छ । सोही भिडियो हेरेको आधारमा तेस्राे पटक औपचारिक कार्यक्रम नै आयोजना गरेर रू ५०० भन्दा बढी रकम संकलन भएका भिडियोका स्रष्टालाई रोयल्टी वापतको रकम उपलब्ध गराउने प्रयास गरिएको सञ्चालक गोपी दवाडीले बताए । अस्ट्रेलियाबाट सञ्चालित यो च्यानलमा हालसम्म एक हजार पाँचसय अठासी वटा भिडियो राखिसकेको उनले बताए । यो च्यानल मुद्रीकरण )मोनिटाइजेसन) भएपछि संकलित रकम स्रष्टालाई दिने गरी नयाँ कार्यक्रम ल्याइएको उनको भनाइ छ । कार्यक्रममा रोयल्टी बुझ्दै कार्यक्रमका वक्ता डां देवी नेपालले पछिल्लो समय रचनावाचन मार्फत रचनाकारहरूले रोयल्टी पाउन थाल्नुले अब सर्जकहरू बाँच्न सक्ने आधार सुनिश्चित हुँदै गएको बताए । कार्यक्रममा देवी नेपाल, नवराज लम्साल, ज्ञानुवाकर पौडेल, शितल कादम्बेनी, कमल संघर्ष, कृष्णप्रसाद अर्याल, लक्ष्मण संगम, सुमन स्मारिका, राम अविरल विष्ट, ईश्वर दाहाल, यात्री प्रकाश पाण्डे, सुदेश सत्याल, नवराज पराजुली, हुकुम धड्कन, महेन्द्र चन्द महासगर, पहल असिम लगायत ३२ स्रष्टालाई युट्युबमा आफ्ना रचना वापतको रोयल्टी वितरण गरिएको थियो। अघिल्लो वर्षको कार्यक्रममा दुई वर्ष अगाडि प्रकाशित भएको कमल संघर्षको ‘सडक’ गजल संग्रहको रोयल्टी वाफतको ५० हजारको चेक हस्तारण गरिएको थियो । साथै थुप्रै स्रजकलाई रोयल्टी पर्दान गरिएको थियो । सबैका रचना सबै माझ पुर्‍याउने उद्देश्यका साथ रचनावाचन समूह लागि परेको रचनावाचनका अभियन्तामध्ये एक जय गौडेलले बताए ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology